BIZMANDU
www.bizmandu.com

अप्ठेरोमा परेपछि ओली रक्षात्मक : अहिले युवाले हामीलाई सुन्नुअघि नै धारणा बनाइसके

२०८३ असोज ५

अप्ठेरोमा परेपछि ओली रक्षात्मक : अहिले युवाले हामीलाई सुन्नुअघि नै धारणा बनाइसके
अप्ठेरोमा परेपछि ओली रक्षात्मक : अहिले युवाले हामीलाई सुन्नुअघि नै धारणा बनाइसके


काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरुले एमालेबारे नकारात्मक धारणा बनाएको बताएका छन्। उनले केन्द्रीय कमिटीको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा युवापुस्ताले आफ्नो कुरा नै सुन्न नचाहेको उल्लेख गरेका छन्।

Vigo
GBIME
Tata

अरुबेला आक्रामक रुपमा प्रस्तुत हुने गरेका ओलीले सचिवालयमा अल्पमतमा परेसँगै रक्षामत्मक भएर प्रतिवेदन प्रस्तुत गरेका छन्। ‘निर्वाचनको परिणामले हामीलाई चोट पुर्‍याएको छ। त्यो चोट सिट सङ्ख्यामा मात्र छैन। गाउँ-गाउँका कार्यकर्ताको मनमा छ। जनतासँग हाम्रो सम्बन्धबारे उठेका प्रश्नमा छ। युवाले हामीलाई सुन्नुअघि नै धारणा बनाइसकेको अवस्थामा छ,’ प्रतिवेदनमा भनिएको छ।ओली कतिसम्म रक्षात्मक बनेका छन् भने अरुबेला सामान्य विरोध सुन्न नसक्ने ओलीले यसपटक प्रतिवेदनमा आफू कठोर आलोचना सुन्न तयार रहेको बताएका छन्।

चुनावी हारको जिम्मेवारी लिएर अध्यक्षबाट राजीनामा गर्न अस्वीकार गरिरहेका ओलीले पराजयको नैतिक जिम्मेवारी लिने बताएका छन्। डाक्टरले बिरामी देखेर अस्पताल नछोडेजस्तै आफूले अध्यक्ष नछोड्ने उनको अडान छ। ‘रोग देखेर किसानले खेत छोड्दैन। त्यसरी नै संकटका बेला नेतृत्वले संगठनलाई अनिश्चिततामा छोड्नु हुँदैन,’ उनको भनाइ छ।

चुनावी हारका बारेमा अरुलाई दोष लगाउन केन्द्रित ओलीको प्रतिवेदनमा युवाको मन बुझ्न नसक्नुलाई पनि पराजयको कारण ठानिएको छ। ‘युवाको मन बुझ्न हामी ढिलो भयौँ । आजको युवा रोजगारी, अवसर, उद्यम, प्रविधि, स्वतन्त्रता, सम्मान र छिटो परिणाम चाहन्छ। उसलाई केवल इतिहास सुनाएर पुग्दैन। इतिहाससँग भविष्यको योजना पनि दिनुपर्छ,’ ओलीले भनेका छन्। ओलीले नेताहरुलाई फकाउन विभिन्न प्रस्तावहरुसमेत अघि सारेका छन्।

उनको प्रतिवेदनमा आफ्ना कमजोरी सुधार्न तयार रहेको उल्लेख छ। ‘मेरो कार्यशैलीमा कमजोरी छ भने आलोचना हुन सक्छ । निर्णयमा त्रुटि हुन सक्छ । गल्ती देखेर पनि नदेखेजस्तो गर्ने नेतृत्व कमजोर हुन्छ। गल्ती स्वीकार गरेर सुधार गर्ने नेतृत्वले नै संगठनलाई अगाडि लैजान सक्छ,’ उनले भनेका छन्। उनले आफूलाई हटाएर एमाले पुनर्गठन गर्ने विषय बेमौसमी बाजा भएको उल्लेख गरेका छन्।