BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईसमक्ष होटल व्यवसायी महासंघले बुझायो बाढीबाट पुगेको क्षतिको विवरण

२०८३ असोज ५

एफएनसीसीआईसमक्ष होटल व्यवसायी महासंघले बुझायो बाढीबाट पुगेको क्षतिको विवरण
एफएनसीसीआईसमक्ष होटल व्यवसायी महासंघले बुझायो बाढीबाट पुगेको क्षतिको विवरण


काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित होटल तथा रेस्टुरेन्टको पुनरुत्थान र दिगो पुनर्स्थापनाका लागि होटल व्यवसायी महासंघ नेपालले पहल तीव्र बनाएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल व्यवसायमा ठूलो क्षति पुगेपछि महासंघले पुनरुत्थानको पहल सुरु गरेको हो।

Vigo
GBIME
Tata

सोही क्रममा महासंघका अध्यक्ष टीआर भण्डारी ‘शंकर’ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन समितिका पदाधिकारीसँग भेटघाट गरेका छन्। भेटका क्रममा बाढी प्रभावित होटल, साना रेस्टुरेन्ट तथा खाजाघरको प्रारम्भिक क्षति विवरण र व्यवसायीको नामावली हस्तान्तरण गरिएको छ।

एफएनसीसीआईको पर्यटन समितिले आयोजना गरेको विशेष बैठकमा अध्यक्ष भण्डारीले तत्काल उद्धार र राहतको काम अघि बढे पनि प्रभावित व्यवसायीलाई सामान्य अवस्थामा फर्काउन दीर्घकालीन योजना आवश्यक रहेको बताए।

उनले बाढीबाट सबैभन्दा बढी साना तथा मझौला पर्यटन व्यवसायी प्रभावित भएको उल्लेख गरे। तत्कालीन राहतले दैनिक आवश्यकता पूरा गर्न सहयोग गरे पनि व्यवसाय पुनः संचालनका लागि थप आर्थिक तथा संस्थागत सहयोग आवश्यक रहेको उनको भनाइ छ।

महासंघले प्रभावित व्यवसायीका लागि विशेष आर्थिक पुनरुत्थान प्याकेज ल्याउन माग गरेको छ। क्षतिको आधारमा अनुदान उपलब्ध गराउनुपर्ने माग पनि महासंघले अघि सारेको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनःसंरचना गर्नुपर्ने माग गरिएको छ। ब्याज मिनाहा वा छुटका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने महासंघको भनाइ छ।

बीमा गरेका व्यवसायीलाई क्षतिपूर्ति रकम तत्काल उपलब्ध गराउन पनि महासंघले आग्रह गरेको छ। ग्रामीण क्षेत्रमा बीमा पहुँच कम भएकाले बीमा नगरेका साना होटल तथा खाजाघरलाई पनि राज्यले सहयोग गर्नुपर्ने माग गरिएको छ।

क्षतिको वास्तविक मूल्याङ्कन गरी त्यसका आधारमा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने महासंघको प्रस्ताव छ। यसले व्यवसायीलाई पुनः व्यवसायमा फर्किन सहज हुने महासंघको विश्वास छ।

महासंघका अध्यक्ष भण्डारीले प्रस्तुत गरेको विवरण र मागप्रति एफएनसीसीआई अध्यक्ष श्रेष्ठ तथा पर्यटन समितिले समर्थन जनाएको महासंघले जनाएको छ।

एफएनसीसीआईले प्रभावित पर्यटन व्यवसायीको पुनःस्थापना, बीमा दाबीको भुक्तानी र वित्तीय सहुलियतका लागि सरकार तथा नेपाल राष्ट्र बैंकसँग पहल गर्ने प्रतिबद्धता जनाएको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा पर्यटन व्यवसायको भविष्यलाई लिएर व्यवसायीहरू चिन्तित छन्। होटल तथा रेस्टुरेन्ट पुनः संचालन हुन सके स्थानीय रोजगारी र पर्यटन गतिविधि पनि क्रमशः पुरानै अवस्थामा फर्किने अपेक्षा गरिएको छ।

होटल व्यवसायी महासंघ नेपालले प्रभावित व्यवसायीको पुनःस्थापना नभएसम्म आफ्नो पहललाई निरन्तरता दिने जनाएको छ। महासंघले साना तथा मझौला पर्यटन व्यवसायीको व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाएको छ।