काठमाडौं। भदौ महिनाको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय बाँके सर्वोत्कृष्ट भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको मूल्यांकन रिपोर्ट अनुसार भदौमा ९०.४३ अंक प्राप्त गर्दै प्रथम भएको हो।
नेपाल प्रहरीका बाँके, काठमाडौं, पर्सा, झापा, कैलाली, मोरङ लगायत १२ जिल्ला प्रहरी कार्यालयहरू ‘क’ श्रेणीमा छ। उनीहरूसँगको मूल्यांकन गर्दा बाँके पहिलो भएको हो। जिप्रका बाँके यसअघि असार र साउनमा पनि पहिलो भएको थियो।
गत पुसदेखि मूल्यांकन समिति बनाएर प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरुको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ। पुसदेखि भदौसम्म बाँके पाँच पटक प्रथम भएको छ। चैत र वैशाख महिनामा प्रथम भएको थियो। त्यस्तै जेठमा दोस्रो भएको छ।
बाँकेले सीमा क्षेत्रबाट हुने चोरी पैठारी, अपराध अनुसन्धान, शान्ति सुरक्षा लगायत विषयमा परिणाम निकालेकाले प्रथम भएको समितिका एक सदस्यले बताए। त्यस्तै सुनसरीको कप्तानगन्जबाट सुरु भएको झडप अन्य जिल्लामा सल्किएको थियो। सबैभन्दा चुनौतीपूर्ण जिल्ला बाँके थियो। तर प्रहरीको सक्रियताले गर्दा त्यहाँ अप्रिय घटना हुन रोकिएको मानिएको छ।
‘त्यो घटनामा पनि लिडरसिप प्रभावकारी देखियो। अपराध अनुसन्धानमा पनि राम्रो देखिएको छ,’ समिति सदस्यले भने।
गत असोज महिनादेखि बाँके जिल्लामा प्रहरी प्रमुख एसपी अंगुर जीसी छन्। त्यस्तै गत असारमा लुम्बिनी प्रदेशभित्रका प्रहरीमध्येबाट उत्कृष्ट अनुसन्धान गरेको भन्दै एसपी जीसी पुरस्कृत समेत भएका थिए। अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन, व्यावसायिकता, समर्पण र कर्तव्यनिष्ठ भएबापत जिसीलाई पुरस्कृत गरेको नेपाल प्रहरीको लुम्बिनी प्रदेश कार्यालयले जनाएको छ।
त्यस्तै भदौ महिनामा ‘क’ वर्गमा जिल्ला प्रहरी परिसर काठमाडौं दोस्रो र जिल्ला प्रहरी कार्यालय रुपन्देही तेस्रो भएको छ। त्यस्तै प्रदेश अन्तर्गत भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पहिलो भएको छ।