एनभिडियाका सीइओ जेन्सेन हुआङले एआईका कारण आगामी दशकमा मानव अस्तित्व नै समाप्त हुन सक्ने चेतावनीलाई ‘डूम्सडे न्यारेटिभ’ भनेका छन्।
उनले सन् २०३० संसारको अन्त्य हुने वर्ष नभएको दाबी गर्दै यस्ता भविष्यवाणीलाई विज्ञानमा आधारित नरहेको बताएका छन्।
सीबीएस न्युजसँगको अन्तर्वार्तामा हुआङले सन् २०३० मा संसार समाप्त हुने सम्भावना शून्य रहेको बताएका छन्। मानिसलाई डर देखाउनु अनावश्यक र गैरजिम्मेवार भएको उनको भनाइ छ।
पछिल्ला केही सातामा एआईका सम्भावित जोखिमबारे अनुसन्धानकर्ता र प्रविधि क्षेत्रका अधिकारीबीच बहस तीव्र बनेको छ। केही एआई कम्पनीका नेतृत्वकर्ताले एआई मोडलको विकासको गति केही समय घटाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
पूर्व एन्थ्रोपिक अनुसन्धानकर्ता ज्याकोब कोक्सनले सामाजिक सञ्जालमार्फत एआई विकासकर्ताहरूले दशकको अन्त्यसम्ममा यसले ठूलो मानवीय जोखिम निम्त्याउन सक्ने विश्वास गरेको दाबी गरेका थिए। उक्त दाबीपछि एआईको सुरक्षा, नियमन र विकासको गतिबारे प्रविधि क्षेत्रमा बहस थप चर्किएको हो।
एन्थ्रोपिकका प्रमुख डारियो अमोडेई र ओपनएआईका प्रमुख साम अल्टम्यानले पनि एआई विकासमा सावधानी र नियन्त्रण आवश्यक रहेको धारणा राखेका छन्। उनीहरूको भनाइलाई एआईसम्बन्धी दीर्घकालीन जोखिमबारे बढ्दो चिन्ताको हिस्साका रूपमा हेरिएको छ।
तर, हुआङले मानवता समाप्त हुने खालका भविष्यवाणीमा वैज्ञानिक आधार नभएको बताएका हुन्। उनले एआई कम्पनीहरूले आफ्ना उत्पादन सुरक्षित रूपमा प्रयोग हुने वातावरण बनाउनुपर्ने र एनभिडियाको व्यावसायिक सफलता पनि त्यसैसँग जोडिएको बताएका छन्।
हुआङका अनुसार एआई उत्पादनको सुरक्षित प्रयोग सुनिश्चित गर्न नसके एनभिडियाको व्यावसायिक मूल्यसमेत घट्न सक्छ। उनले उद्योगले जिम्मेवार ढंगले प्रविधि विकास र प्रयोगलाई अघि बढाउनुपर्ने बताएका छन्।
उनले एआई विकास सुस्त बनाउनुपर्ने माग गर्ने केही कम्पनीले आफ्ना उत्पादनबाट हुने सम्भावित क्षतिका लागि कानुनी दायित्वबाट राहत खोजिरहेको हुन सक्ने संकेत पनि गरेका छन्। उनीहरूले थप कानुन मागेको भन्दा विद्यमान कानुनी दायित्वबाट छुट खोजिरहेको हुन सक्ने हुआङको दाबी छ।
एनभिडिया एआई क्षेत्रको महत्त्वपूर्ण कम्पनी हो। यसले एआई मोडल विकासका लागि आवश्यक अत्याधुनिक कम्प्युटिङ चिप उत्पादन गर्छ। कम्पनीका चिप विश्वभर एआई प्रणालीको तालिम र सञ्चालनमा व्यापक रूपमा प्रयोग भइरहेका छन्।