BIZMANDU
www.bizmandu.com

परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना, नेतृत्व उपसचिवले गर्ने

२०८३ असोज ४

परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना, नेतृत्व उपसचिवले गर्ने
परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना, नेतृत्व उपसचिवले गर्ने


काठमाडौं। जलवायुजन्य हानि नोक्सानीको क्षतिपूर्तिका लागि राष्ट्रसंघमा नेपालले आफ्नो पैरवी गर्नुपर्ने बेला आएपछि परराष्ट्र मन्त्रालयले पहिलोपटक जलवायु कूटनीति शाखा स्थापना गरेको छ।

Vigo
GBIME
Tata

जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले गठित शाखाको नेतृत्व उपसचिवले गर्ने मन्त्रालयले जनाएको छ। पछिल्लो समय बढ्दाे जलवायु परिवर्तन र यसले पारिरहेकाे प्रभावलाई मध्यनजर राख्दै अहिलेकाे आवश्यकता अनुसार मन्त्रालयले याे शाखा स्थापना गर्ने निर्णय गरेकाे परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयले उल्लेख गरेको छ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा जलवायु कूटनीति शाखा’को संरचनाअन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको छ।

मन्त्रालयको जलवायु कूटनीति शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने जनाइएको छ।

परराष्ट्रमन्त्री खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रमहरूमा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएको सचिवालयले उल्लेख गरेको छ। ‘नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु कूटनीतिका बारेमा लगातार रूपमा काम गर्दै आएको छ। अब यसलाई थप संस्थागत रूपमा अघि बढाउन आवश्यक छ,’ उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलन (कोप) देखि कोपसम्म वा अन्य कार्यक्रमहरूमा सहभागिता जनाउनेमा मात्र केन्द्रित गरेर जलवायु कूटनीति अघि बढाएर पुग्दैन।’

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम बढ्दै गएको सन्दर्भमा मुलुकको दीर्घकालीन हितसँग जोडिएको जलवायु कूटनीतिलाई अझ संस्थागत, समन्वित र परिणाममुखी बनाउन आवश्यक भएकाले मन्त्रालयमा जलवायु शाखा स्थापना गरिएको जनाइएको छ।