बनेपा (काभ्रे)। दुई दशकदेखि अलपत्र जग्गा विकासको एउटा आयोजना अघि बढाउने प्रक्रियामा सरोकारवालाले सक्रियता देखाएका छन्। धुलिखेल नगरपालिका–४ बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना पुनः कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको हो।
आयोजना क्षेत्रका निजी, सार्वजनिक तथा गुठीका गरी २७२.५ रोपनी जग्गा २२ वर्षदेखि रोक्का रहँदा ७२ भन्दा बढी परिवार प्रभावित छन्। आयोजना क्षेत्रका २ सय ७० भन्दा बढी कित्ता रोक्का रहेकाले जग्गाधनीले घर निर्माण, कित्ताकाट तथा बैंकमा धितो राखेर ऋण लिनेलगायत प्रयोजनमा आफ्नो जग्गा सहज रूपमा उपयोग गर्न पाएका छैनन्।
लामो समयदेखि रोक्का रहेको जग्गाको समस्या समाधान हुन नसक्दा प्रभावित परिवारले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालयअन्तर्गतको सहरी तथा वातावरणीय सुधार आयोजनामार्फत २०६१ मंसिरदेखि जग्गा विकासको उक्त आयोजना अघि बढाइएको थियो। व्यवस्थित सहरीकरणका लागि जग्गा एकीकरण गरी सडक, खानेपानी, ढल, विद्युत् लगायतका पूर्वाधार निर्माण गर्ने र विकसित घडेरीका रूपमा जग्गा व्यवस्थापन गर्ने उद्देश्यले आयोजना सुरु गरिएको थियो।
सरकारले २०६३ असोज ३० गते राजपत्रमा सूचना प्रकाशित गरी आयोजना कार्यान्वयनको प्रक्रिया अघि बढाएपछि आयोजना क्षेत्रको जग्गा रोक्का गरिएको थियो। तर, अघि बढाउने बेलामा स्थानीय जग्गाधनीबीच भएको मतमतान्तरले आयोजना कार्यान्वयन हुन सकेन। प्रभावित स्थानीयका अनुसार ७२ घरपरिवारमध्ये ४९ परिवारले आयोजनाप्रति असहमति जनाएका थिए। यस विषयमा स्थानीयस्तरमा राजनीतिक दलबीच मतभेद भएको थियो।
आयोजना अघि बढाउने र जग्गा फुकुवा गर्ने विषयमा विवाद बढ्दै गएपछि जग्गाधनीको तर्फबाट अदालतमा रिटसमेत परेको थियो। त्यसपछि आयोजना कार्यान्वयन प्रक्रिया थप लम्बिएको स्थानीयको भनाइ छ।
२०७२ सालको भूकम्पपछि घरबास प्रभावित भएका कतिपय परिवारले आफ्नै नाममा जग्गा भए पनि नयाँ घर बनाउन समस्या भएको बताएका छन्। धुलिखेल–४ बाँसघारीका विक्रम राणा, मैना थापा मगर र केशव खुलाल तथा छापगाउँकी सुष्मी कार्कीलगायतले लामो समयदेखि जग्गा रोक्का रहँदा व्यक्तिगत तथा पारिवारिक आवश्यकता पूरा गर्न कठिनाइ भएको बताएका छन्।
आयोजनालाई निकास दिन गठित १४ सदस्यीय उपभोक्ता समितिका उपाध्यक्ष केशव खुलालले लामो समयसम्म जग्गा रोक्का रहँदा स्थानीय समस्यामा परेको बताए। आयोजना सम्पन्न गरी विकसित घडेरी हस्तान्तरण गर्ने वा कानुनी प्रक्रिया पूरा गरी जग्गा फुकुवा गर्ने गरी स्पष्ट निर्णय हुनुपर्ने उनको भनाइ छ।
‘आफ्नै नाममा जग्गा भए पनि आवश्यक परेको समयमा त्यसको उपयोग गर्न सकिएको छैन। अब आयोजना सम्पन्न गर्ने वा जग्गा फुकुवा गर्ने विषयमा स्पष्ट निकास आउनुपर्छ,’ उनले भने। आयोजना लामो समय अलपत्र पर्नुमा प्रशासनिक, कानुनी तथा वित्तीय जटिलता पनि जोडिएका छन्।
सहरी विकास तथा भवन निर्माण विभागले २०८२ जेठ २० गते धुलिखेल नगरपालिकालाई पत्राचार गर्दै २०६५ कात्तिक ११ गतेको सम्झौताअनुसार उपलब्ध गराइएको ५० लाख रुपैयाँ साँवा र १८ लाख ९६ हजार ८ सय १० रुपैयाँ ब्याजसहितको रकम फिर्ता गर्न माग गरेको थियो।
आयोजनासम्बन्धी अभिलेखअनुसार जग्गा धुलिखेल एकीकृत जग्गा विकास आयोजनाका नाममा रोक्का छ। नगरपालिकाको पहलमा श्रेस्ता एकीकरणको काम अघि बढे पनि कित्ता एकीकरण पूर्णरूपमा सम्पन्न हुन सकेको छैन। बैंक तथा अदालतबाट रोक्का रहेका केही कित्ताका कारण कानुनी जटिलता पनि कायम रहेको नगरपालिकासँग सम्बन्धित अभिलेखमा उल्लेख छ।
आयोजनालाई अघि बढाउने प्रयासस्वरूप धुलिखेल नगरपालिकाको २०८० भदौ २६ को कार्यपालिका बैठकले बैंक, वित्तीय संस्था तथा अदालतबाट रोक्का रहेका जग्गासमेत फुकुवा गराई आयोजनाका नाममा एकमुष्ट श्रेस्ता कायम गरी पठाउन मालपोत कार्यालय काभ्रेलाई पत्राचार गर्ने निर्णय गरेको थियो। तर आयोजना संघ सरकारको सहरी विकास मन्त्रालय तथा मातहतका निकायसँग समेत सम्बन्धित रहेकाले स्थानीय तहबाट मात्र सम्पूर्ण प्रक्रिया टुङ्ग्याउन कठिनाइ भएको थियो।
लामो समयदेखि रोकिएको आयोजनालाई अघि बढाउन गत वैशाख २२ गते धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमको अध्यक्षतामा नगर विकास समिति पुनर्गठन गरिएको थियो। त्यसपछि स्थानीय जग्गाधनी, वडा कार्यालय, मालपोत कार्यालय तथा संघ सरकारका सम्बन्धित निकायसँग समन्वय गरी आयोजना टुंगोमा पुर्याउने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ।
कावा नगर प्रमुख जंगमले आयोजना कार्यान्वयन गरी प्रभावित नागरिकको समस्या समाधान गर्नु नगरपालिकाको प्राथमिकतामा रहेको बताए। उनका अनुसार विगतका प्रशासनिक तथा कानुनी जटिलता फुकाएर आयोजनास्थलमै पूर्वाधार निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ।
आयोजनालाई कार्यान्वयनको चरणमा लैजान भदौ २६ गते नगरपालिकामा कावा नगर प्रमुख जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी तथा नवगठित उपभोक्ता समितिका पदाधिकारीबीच बैठक भएको थियो। बैठकले स्थानीयस्तरबाट आयोजना कार्यान्वयनमा सहजीकरण गर्न रत्नबहादुर कार्कीको संयोजकत्व र केशव खुलालको उपाध्यक्षतामा १४ सदस्यीय उपभोक्ता समिति गठन गरेको थियो।
प्रमुख प्रशासकीय अधिकृत मरासिनीका अनुसार आयोजनाका कानुनी तथा प्रशासनिक पक्ष टुंगो लगाएर अब भौतिक पूर्वाधार निर्माणको काम अघि बढाउने तयारी छ। सडक सञ्जाल, विद्युत् विस्तार, ढल निकास तथा खानेपानीलगायतका पूर्वाधार निर्माणपछि नापी तथा मालपोतसम्बन्धी प्रक्रिया पूरा गरी विकसित घडेरी सम्बन्धित जग्गाधनीलाई हस्तान्तरण गर्ने योजना छ।
‘आयोजनाका धेरै प्रशासनिक र कानुनी पक्ष अघि बढिसकेका छन्। अब भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भएर काम अघि बढाउनुपर्ने अवस्था छ,’ उनले भने। रासस