काठमाडौं । नेपाल ल्यान्ड एन्ड हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०२६ मा विदेशमा रोजगारी गरिरहेका नेपालीको घर खरिदमा उल्लेख्य चासो देखिएको डेभलपरहरूले बताएका छन्।
उनीहरूका अनुसार विदेशमा रहेका नेपालीले आफ्ना आमाबुवा र परिवारका लागि घर किन्नुका साथै भविष्यको बसोबास र लगानीलाई पनि खरिदको कारण बनाउने गरेका छन्।
गृहकुञ्ज बाइ स्किल सेवाका सेल्स हेड रोज महर्जनका अनुसार परियोजनाका करिब ९५ प्रतिशत खरिदकर्ता विदेशमा रोजगारी गरिरहेका नेपाली हुन्। विदेशमा जस्तै आवासीय शैली, डिजाइन र सुविधासँग मिल्ने घर उपलब्ध गराउने उद्देश्यले परियोजना विकास गरिएको उनको भनाइ छ।
महर्जनका अनुसार विदेशमा रहेका नेपालीको आर्थिक क्षमता र घरसम्बन्धी अपेक्षा फरक हुने भएकाले उनीहरूको आवश्यकता बुझेर डिजाइन छनोट गरिएको छ। स्थान, प्लटको अवस्था, समुदाय, घरको डिजाइन र परिवारको आवश्यकतालाई परियोजना विकासको आधार बनाइएको उनले बताए।
गृहकुञ्ज ललितपुरको किटिनीमा रहेको १६ घरको योजनाबद्ध आवासीय परियोजना हो। कम्पनीका अनुसार घर खरिदकर्ताले घरसँगै घर बनेको जग्गाको पूर्ण स्वामित्व पाउनेछन् र निर्माणअघि नै सम्भावित छिमेकीसँग परिचित हुने व्यवस्था गरिएको छ।
करिब ३.५ आना जग्गासहित साढे दुईतले घरको मूल्य ९५ लाखदेखि एक करोड २० लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ। ४ आना वा सोभन्दा बढी क्षेत्रफलका घरको मूल्य भने एक करोड ३० लाख रुपैयाँभन्दा माथि पुग्ने बताइएको छ।
घर खरिदका लागि ७० प्रतिशतसम्म ईएमआई सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ। यसले विदेशमा नियमित आम्दानी गरिरहेका नेपालीलाई तत्काल ठूलो रकम जुटाउन नसक्दा पनि घर खरिदको विकल्प खोज्न सहज बनाउन सक्छ।

डाउनटाउन हाउजिङका मार्केटिङ प्रमुख रोजन्स प्रधानका अनुसार विदेशमा रोजगारी गरिरहेका नेपालीले करिब डेढ करोड रुपैयाँ मूल्य आसपासका घरमा चासो देखाउने गरेका छन्। उनका अनुसार एनआरएन नेपालीले आफ्ना अभिभावकका लागि घर किन्ने गरेका छन् भने ३ करोड रुपैयाँभन्दा बढी मूल्यका बंगला तथा भिल्लामा उनीहरूको चासो छ।
प्रधानका अनुसार विदेशमा रहेका नेपालीको घर खरिदमा पारिवारिक आवश्यकता महत्त्वपूर्ण कारण बनेको छ। विशेषगरी आफ्ना आमाबुवा नेपालमै बस्ने अवस्थामा उनीहरूले सुविधायुक्त घर खरिद गर्ने गरेको कम्पनीको अनुभव रहेको उनले बताए।
धापाखेलको प्रिमियम रेसिडेन्सीका प्रबन्ध निर्देशक अशोक शाहका अनुसार परियोजनाका करिब १५ देखि २० प्रतिशत खरिदकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली छन्। अमेरिका र अस्ट्रेलियामा रहेका नेपालीबाट बढी चासो आउने गरेको भएपनि खाडी मुलुकमा राम्रो आम्दानी गर्ने नेपालीले पनि घर खरिद गर्ने गरेको उनको भनाइ छ।
शाहका अनुसार विदेशमा रहेका केही नेपालीले आफ्ना आमाबुवा र परिवारका लागि घर खरिद गर्छन्। उनीहरूले भविष्यमा नेपाल फर्किएर बस्ने उद्देश्यले समेत अहिले नै घर किन्न सक्ने भएकाले यस्तो खरिदलाई केवल तत्कालको आवासीय आवश्यकतासँग मात्र जोड्न नसकिने उनको भनाइ छ।
नागीडाँडा ग्रिन हिल्सका महाप्रबन्धक निरज खड्काका अनुसार परियोजनामा विदेशमा रोजगारी गरिरहेका केही नेपाली पनि खरिदकर्ता छन्। उनका अनुसार उनीहरूले आफ्ना परिवारका लागि घर खरिद गर्नुका साथै आफन्तलाई समेत परियोजनाबारे जानकारी गराउने गरेका छन्।
विदेशमा रहेका नेपालीले घर किन्दा खरिदको उद्देश्य भने एउटै हुँदैन। केहीले परिवारका लागि घर किन्न सक्छन् भने केहीले भविष्यको बसाइ, भाडा आम्दानी वा सम्पत्ति सञ्चयका लागि खरिद गर्न सक्छन्।
विदेशमा बसेर घर खरिद गर्नेका लागि खरिदपछिको व्यवस्थापन पनि अर्को चुनौती हो। घर मर्मत, पानी र बिजुलीको बिल, स्थानीय कर, सुरक्षा, भाडामा लगाउने काम र आकस्मिक समस्या समाधानका लागि नेपालमा विश्वासिलो व्यवस्थापन आवश्यक पर्ने उनको भनाइ छ।

स्किल सेवाका अनुसार गृहकुञ्जका केही खरिदकर्ताले घरलाई भाडा तथा एयरबीएनबीजस्ता माध्यमबाट आम्दानी गर्ने सम्भावनासमेत हेरिरहेका छन्। यसले विदेशमा रहेका खरिदकर्ताका लागि घरलाई परिवारको आवाससँगै सम्भावित आम्दानीको स्रोतका रूपमा हेर्ने प्रवृत्ति देखाउँछ।
तर, घरबाट कति आम्दानी हुन्छ भन्ने विषयमा बिक्रीकर्ताको अनुमान मात्र पर्याप्त हुँदैन। वास्तविक भाडा दर, सम्भावित खाली अवधि, व्यवस्थापन खर्च, मर्मत लागत र अन्य सञ्चालन खर्च घटाएपछि मात्रै घरबाट प्राप्त हुने वास्तविक आम्दानी बुझ्न सकिने महर्जनको भनाइ छ।
एक्स्पोमा सहभागी डेभलपरहरूले विदेशमा रहेका नेपालीलाई महत्त्वपूर्ण ग्राहक समूहका रूपमा प्रस्तुत गरेका छन्। उनीहरूका भनाइमा यो समूहको माग परिवारको सुरक्षा, नेपाल फर्किएपछिको बसाइ र दीर्घकालीन सम्पत्ति सञ्चयसँग जोडिएको छ।