BIZMANDU
www.bizmandu.com

अपर त्रिशूली-१ जलविद्युत् आयोजनाबाट थप ११ जनाको शव फेला, खोजी कार्य जारी

२०८३ असोज ३

अपर त्रिशूली-१ जलविद्युत् आयोजनाबाट थप ११ जनाको शव फेला, खोजी कार्य जारी
अपर त्रिशूली-१ जलविद्युत् आयोजनाबाट थप ११ जनाको शव फेला, खोजी कार्य जारी


काठमाडौं। अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा थप ११ जनाको शव भेटिएको छ। शनिबार नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त खोज तथा उद्धार टोलीले आयोजनाको अडिट–३ सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा शव फेला पारेको हो।

Vigo
GBIME
Tata

नेपाली सेनाको खोज तथा उद्धार अपडेटअनुसार फेला परेका सबै शव सुरुङबाट बाहिर निकालिएको छ। सुरुङभित्र अझै थप व्यक्ति फसेको वा बेपत्ता रहेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ।

यसअघि शुक्रबार मात्रै सोही सुरुङबाट १८ जनाको शव निकालिएको थियो। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी अशोक थापाका अनुसार गत बिहीबार पनि सोही क्षेत्रमा ६ जना शव भेटिएको थियो। लगातार तीन दिनको खोजीमा ६, १८ र ११ गरी ३५ जनाको शव फेला परिसकेको छ।

भदौ १० गते बाढी आएका बेला आयोजनाको सुरुङभित्र कामका लागि कति जना थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

अपर त्रिशूली–१ का सामाजिकविज्ञ हर्क तामाङका अनुसार शुक्रबार आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र शव फेला परेका हुन्। बाढी र त्यसपछि सुरुङभित्र थुप्रिएको हिलो तथा अन्य अवरोधका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए।

खोज तथा उद्धारमा नेपाली सेना र आयोजनाका कर्मचारी खटिएका छन्। सुरुङभित्र प्रवेश गरेर जाली, हिलो तथा अन्य संरचनामा फसेका व्यक्तिको खोजी भइरहेको छ। सुरुङभित्रको अवस्था जटिल रहेकाले एकैपटक सबै क्षेत्रमा पुगेर खोजी गर्न कठिन भइरहेको उद्धार टोलीले जनाएको छ।

शवको पहिचान तथा सनाखत गर्ने काम भने बाँकी छ। शव पहिचानमा समस्या आउनुको एउटा प्रमुख कारण बाढीका समयमा सुरुङभित्र कामका लागि प्रवेश गरेका मजदुरको यकिन विवरण उपलब्ध नहुनु रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निर्माण कम्पनीले कुन–कुन नामका कति जना कामदारलाई सुरुङभित्र पठाएको थियो भन्ने व्यवस्थित तथ्यांक उपलब्ध गराउन नसक्दा फेला परेका शवको पहिचान गर्न कठिन भएको हो।

खोज तथा उद्धार टोलीले सुरुङभित्र थप शव वा जीवित व्यक्ति फेला पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर खोजी जारी राखेको छ। फेला परेका शवलाई बाहिर निकालेर पहिचान तथा सनाखतको प्रक्रियामा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।