काठमाडौं। उच्च र न्यून भोल्टेजका इलेक्ट्रिकल उपकरणहरू निर्माण र बिक्री गर्नमा विशेषज्ञ मानिने एउटा प्रसिद्ध चिनियाँ कम्पनी नेपालमा कालोसूचीमा परेको छ। ग्वाङ्जी हौगन इलेक्ट्रिक पावर इक्विपमेन्ट कम्पनी लिमिटेडलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको हो।
हाई र लो-भोल्टेज डिस्ट्रिब्युसन क्याबिनेट, ड्राई-टाइप र आयल-इमर्स्ड ट्रान्सफर्मरहरू, कम्पोजिट सबस्टेसन र स्विचिङ स्टेसनहरू, डिस्ट्रिब्युसन बक्स तथा मिटर बक्सहरू, फोटोभोल्टिक (सोलार) कम्बाइनर बक्सहरू र ग्रिड क्याबिनेटहरू उत्पादन र बिक्री गर्दै आएको उक्त कम्पनीले लिएको ठेक्कामा सर्तअनुसार काम नगर्दा नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयले कार्बाही सिफारिस गरेको हो।
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा शनिबार प्रकाशित सूचना अनुसार कार्बाही अवधिभर उक्त कम्पनीले नेपालमा सार्वजनिक खरिदमा सहभागिता जनाउन पाउने छैन।
यस्तै काठमाडौंमा कार्यालय रहेको पालिका एडभर्टाइजिङ एण्ड सप्लायर्स एक वर्षका लागि कालोसूचीमा परेको छ। उक्त फर्मलाई कार्बाही गर्न गोरखाको गण्डकी गाउँपालिकाले सिफारिस गरेको हो।