न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिकूल समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्। उनले आफूविरुद्ध ‘फेक न्युज’ प्रकाशित तथा प्रसारण गर्ने अन्य सञ्चारमाध्यमलाई समेत प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन्।
ट्रम्पले शुक्रबार आफ्नै सामाजिक सञ्जालमा तत्काल लागू हुने गरी ती तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाइएको बताएका हुन्। त्यसको केही मिनेटपछि ओभल अफिसमा आयोजित कार्यक्रममा पत्रकारले घोषणाबारे सोध्दा उनले ती सञ्चारमाध्यमले ‘फेक न्युज’ दिने भएकाले प्रतिबन्ध लगाइएको बताए।
‘उनीहरू फेक न्युज हुन्। फेक न्युज पढ्दा र देख्दा दिक्क लाग्छ,’ ट्रम्पले भने। सीएनएन, एमएस नाउ र पोलिटिकोका समाचारलाई लक्षित गर्दै उनले तिनका समाचार ‘फेक’ रहेको दाबी गरे। ‘हाम्रो देशमा इमानदार समाचार हुनुपर्छ,’ उनले भने।
यद्यपि, प्रतिबन्ध कसरी कार्यान्वयन गर्ने भन्नेबारे ट्रम्पले कुनै विवरण दिएका छैनन्। शुक्रबार अपराह्नसम्म सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकार ह्वाइट हाउस परिसरमै रहेका थिए र उनीहरूलाई हटाइएको कुनै संकेत देखिएको थिएन।
सीएनएनले ट्रम्पको घोषणाको विरोध गर्दै ह्वाइट हाउसमा आफ्नो टोलीले निष्पक्ष र तथ्यपूर्ण समाचार सम्प्रेषण गरिरहेको जनाएको छ। उसले सरकारको हस्तक्षेप वा अवरोधबिना समाचार सम्प्रेषण गर्ने अधिकार अमेरिकी संविधानले सुनिश्चित गरेको बताएको छ।
पोलिटिकोले पनि ह्वाइट हाउस र आगामी प्रशासनका गतिविधिलाई निष्पक्ष रूपमा समाचार बनाइरहने तथा आफ्नो संवैधानिक अधिकारमाथि हुने कुनै पनि प्रयासको प्रतिवाद गर्ने जनाएको छ।
ट्रम्पको पछिल्लो कदमले अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गत प्रेस स्वतन्त्रतासम्बन्धी प्रश्न उठाएको छ। राष्ट्रिय प्रेस क्लबका अध्यक्ष मार्क स्कोफले प्रशासनको समाचारप्रतिको असन्तुष्टिका आधारमा सञ्चारमाध्यमलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउनु राष्ट्रपतिको शक्ति प्रयोगको निगरानी र रिपोर्टिङ गर्ने आवाज नियन्त्रण गर्ने प्रयास भएको बताएका छन्।
प्रेससम्बन्धी अधिकारका विज्ञहरूले यस्तो कदमलाई ‘भ्यूपोइन्ट डिस्क्रिमिनेसन’ अर्थात् सञ्चारमाध्यमले प्रकाशित गरेको सामग्री वा विचारका आधारमा सरकारी पक्षबाट भेदभाव गर्ने कार्यका रूपमा व्याख्या गरेका छन्।
ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइट हाउस र सञ्चारमाध्यमबीच तनाव बढ्दै गएको छ। गत वर्ष एसोसिएटेड प्रेस (एपी) का पत्रकारलाई ओभल अफिस, एयर फोर्स वनलगायतका कार्यक्रममा प्रवेशमा रोक लगाइएको थियो। मेक्सिकोको खाडीलाई ‘गल्फ अफ अमेरिका’ नाम दिन ट्रम्पले गरेको निर्णयलाई एपीले आफ्नो शैलीअनुसार तत्काल स्वीकार नगरेपछि उक्त कदम चालिएको थियो। एपीले त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।
यसैगरी, ट्रम्प प्रशासनले न्युयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र बीबीसीलगायत सञ्चारमाध्यमसँग पनि कानुनी विवाद अघि बढाएको छ।
सीएनएनमाथि ह्वाइट हाउस प्रवेश रोक्ने प्रयास भने विशेष रूपमा महत्वपूर्ण मानिएको छ, किनभने राष्ट्रपतिसँगै नियमित रूपमा यात्रा गर्ने टेलिभिजन सञ्चारमाध्यमको परम्परागत समूहमा सीएनएन पनि पर्छ। ह्वाइट हाउसको सञ्चार पहुँचसम्बन्धी विवादमा १९७७ को ‘शेरिल भर्सेस नाइट’ मुद्दाको फैसला पनि चर्चामा आएको छ। उक्त फैसलाअनुसार ह्वाइट हाउसले सञ्चारमाध्यमलाई पहुँच दिनैपर्ने बाध्यता नभए पनि पत्रकारका लागि प्रेस सुविधा स्थापना गरिसकेपछि उनीहरूले प्रकाशित गर्ने सामग्रीका आधारमा पहुँच अस्वीकार गर्न नहुने व्यवस्था गरिएको थियो। (एपी)