काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुन एक महिना बाँकी छँदै विदेशी स्टार खेलाडी भित्र्याउने होडले तीव्रता पाएको छ। यसपटकको एनपीएलमा विश्व क्रिकेटका चर्चित नाम मात्र होइन, विभिन्न देशका वर्तमान तथा पूर्वकप्तानसमेत मैदानमा देखिने भएका छन्।
अस्ट्रेलियाका डेभिड वार्नर, श्रीलंकाका चरिथ असलंका, जिम्बाब्वेका सिकन्दर रजा, बंगलादेशका सकिब अल हसन र न्युजिल्याण्डका जिम्मी निशमको आगमनले तेस्रो संस्करणलाई सुरुवातमै चर्चामा ल्याएको छ।
पहिलो संस्करणमा शिखर धवन, जिम्मी निशमजस्ता ठूला नामले चर्चामा आएको एनपीएलको दोस्रो संस्करणमा फाफ डुप्लिसिस जस्ता खेलाडी नेपाल आएका थिए। यसपालाको सुरुवात नै निकै आक्रमक छ। हालसम्म घोषणा भएका खेलाडीमा चार जना त टेस्टमान्यता प्राप्त टोलीका वर्तमान कप्तानदेखि कार्यवाहक कप्तान र पूर्वकप्तानसम्म छन्। अस्ट्रेलिया, जिम्बाब्वे, श्रीलंका, न्युजिल्याण्ड र बंगलादेशका कप्तानदेखि पूर्वकप्तानसम्म छन्।
सिकन्दर रजा र चरित असलंकाले त भर्खरै आफ्नो टोलीको कप्तानी नै गरिरहेका छन्। सकिब अल हसन लामो समय बंगलादेशको कप्तानी गरेका खेलाडी हुन भने डेभिड वार्नरले पनि अस्ट्रेलियाको कार्यवाहक कप्तानको जिम्मेवारी उठाइसकेका छन्। त्यस्तै, जिम्मी निशमले पनि कप्तानको अनुपस्थितिमा एउटा सिरिजमा न्युजिल्याण्डको कप्तानी सम्हालिसकेका छन्।
चरिथ असालंका – टी- २० कप्तान (श्रीलंका)
विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ।
असलंकालाई श्रीलंकाली क्रिकेटका प्रभावशाली खेलाडीका रूपमा लिइन्छ। उनी सन् २०२१ देखि श्रीलंकाको अन्तर्राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन्।
असलंकाले सन् २०२१ मा इंग्ल्याण्डविरुद्ध ओडीआई तथा भारतविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। टी-२० अन्तर्राष्ट्रिय डेब्युमै उनले २६ बलमा ४४ रन बनाउँदै प्रभावशाली सुरुवात गरेका थिए।
आईसीसी पुरुष टी-२० विश्वकप २०२१ मा असलंकाले श्रीलंकाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगितामा ६ खेलबाट २३१ रन बनाउँदै उनी श्रीलंकाका सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए। उनले उक्त प्रतियोगितामा ४६.२० को औसत र १४७.१३ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए।

सन् २०२२ मा अस्ट्रेलियाविरुद्ध आफ्नो पहिलो ओडीआई शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दा तथा आक्रामक ब्याटरका रूपमा स्थापित हुँदै आएका छन्। बलिङतर्फ पनि योगदान दिन सक्ने उनी उपयोगी अलराउन्डरका रूपमा परिचित छन्।
टी-२० अन्तर्राष्ट्रियमा असलंकाले हालसम्म ७७ खेलमा १,४६६ रन बनाएका छन् भने ७ विकेट पनि लिएका छन्। समग्र टी-२० क्रिकेटमा उनले १८५ खेलबाट ३,७१५ रन र ३७ विकेट आफ्नो नाममा गरेका छन्।
असलंकाले जुलाई २०२४ मा श्रीलंकाको टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए। त्यसै महिनाको अन्त्यमा उनले एकदिवसीय टोलीको कप्तानीको जिम्मेवारीसमेत पाएका थिए। सन् २०२४ देखि २०२५ सम्म श्रीलंकाको सीमित ओभरको क्रिकेटको नेतृत्व गरेका असलंकाले आफ्नो अन्तर्राष्ट्रिय अनुभवसँगै नेतृत्व क्षमता पनि प्रदर्शन गरेका छन्।
विराटनगर किङ्सले असलंकाको आगमनले एनपीएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ।
विराटनगर किङ्समा आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै असलंकाले नेपालमा खेल्न आफू उत्साहित रहेको बताए।
‘नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किङ्सको प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु। नेपालमा क्रिकेटप्रतिको जुन उत्साह, माया र समर्थन छ, त्यसको बारेमा मैले धेरै सुनेको छु। अब आफैं नेपाल आएर नेपाली क्रिकेट समर्थकहरूसँग त्यो अनुभव साझा गर्न म आतुर छु,’ असलंकाले भनेका छन्।
उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) तथा यूएईको इन्टरनेशनल लिग टी-२० लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन्। हाल उनी इंग्ल्याण्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा श्रीलंकाको कप्तानी गरिरहेका छन्।
सिकन्दर रजा – कप्तान (जिम्बाब्वे)
अस्ट्रेलियन क्रिकेट टोली अहिले जिम्बाब्वेको टुरमा छ। ओडिआई सिरिजमा आज दोस्रो खेल सुरु भएको छ। घरेलु टोलीलाई कप्तानी गर्ने खेलाडी हुन् सिकन्दर रजा।
उनै सिकन्दर अर्को महिना नेपाल आउँदैछन्, चितवन राइनोजबाट खेल्न।
रजालाई अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटका सबैभन्दा अनुभवी अलराउन्डरहरूमध्ये एक मानिन्छ। उनले चितवन राइनोजको टोलीमा प्रशस्त अनुभव भित्र्याउनेछन्। ब्याट र बल दुवैबाट खेलमा प्रभाव पार्ने क्षमताका लागि परिचित राजाले जिम्बाब्वेको तर्फबाट उच्च स्तरमा प्रतिनिधित्व गरेका छन् र विश्वभरका प्रमुख टी-२० प्रतियोगिताहरू खेलेका छन्।
सकिब अल हसन (बंगलादेश)
सकिब अल हसन बंगलादेशको लामो समय कप्तानी सम्हालेका खेलाडी हुन्। उनले २००९ देखि २०२४ को बीचको तीनवटै फर्म्याटमा पटकपटक कप्तानी सम्हाले। यो बीचमा उनी लगातार बंगलादेशको कप्तान नरहे पनि बीच-बीचमा कप्तानको जिम्मेवारी उठाइरहे।
आईपीएल, पीएसएल, बीबीएललगायत संसारभरीका लगभग सबैजसो ठूला लिग खेलिसकेका हसन टी-२० क्रिकेटका चर्चित नाम हुन्। टी-२० अन्तर्राष्ट्रियमा १२९ खेलबाट २५५१ रन बनाएका छन्। टी-२० मा ४७८ खेलबाट ७८५३ रन बनाएका उनी बलिङमा पनि उत्तिकै अब्बल छन्। उनले टी-२० अन्तर्राष्ट्रियमा १४९ तथा टी-२० मा ५१५ रन बनाएका छन्।
अघिल्लो संस्करणमा जिम्मी निशम पोखराको हेवीवेट खेलाडीका रुपमा थिए। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले अक्सनबाट सन्नी विके, विवेक राना मगर, सुदीप अर्याल, अर्जुन जिसी, प्रतिक पोखरले र विपिन आचार्यलाई लिएको थियो। त्यस्तै, सागर ढकाल, अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द र किरण ठगुन्नालाई रिटन गरेको थियो।
डेभिड वार्नर (अस्ट्रेलिया)
एनपीएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा ठुला नाममध्येका एक हुन्। अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र २०२१ मा टी-२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए। २०२१ को टी-२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ मा चुनिएका थिए।
वार्नरले अस्ट्रेलियाबाट ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी–२० अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार अन्तर्राष्ट्रिय रन बनाएका छन्। वार्नरले १४२ माथिको स्ट्राइक रेटमा ३ हजार २ सय ७७ रन बनाएका थिए। उनको नाममा ८ हजार ७ सय ८६ टेस्ट र ६ हजार ९ सय ३२ एकदिवसी अन्तर्राष्ट्रिय रन रहेको छ। वार्नरले पछिल्लो पटक अस्ट्रेलियाबाट सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा खेलेका थिए।

उनले २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा आउट नभई ३३५ रन बनाएका थिए। अस्ट्रेलियाली खेलाडीहरुको टेस्ट क्रिकेटमा यो दोस्रो उच्च स्कोर हो। ३९ वर्षे वार्नरले आफूलाई विश्वको उत्कृष्ट ओपनरको रुपमा उभ्याएका थिए। वार्नरले सबै खाले टी–२० मा ४३९ खेल खेल्दै १४० माथिको स्ट्राइकर रेटमा १४ हजार भन्दा बढी रन बनाएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनलाई तत्कालीन दिल्ली डेयरडेभिल्सले सन् २००९ मा लिएको थियो र २०१३ मा उनी दिल्लीमै रहे। २०१४ मा उनी सनराइजर्स हैदराबाद लागे र २०१५ मा कप्तान बने। २०१६ सनराइजर्स हैदराबादलाई आईपिएल च्याम्यिन बनाएका थिए। उनले आईपीएलको ७ सिजनमा ५०० भन्दा बढि रन बनाए २०१५, २०१७ र २०१९ मा उनी आईपीएलको सर्वाधिक रनकर्ता थिए। उनले सनराइजर्स हैदराबादबाट आईपीएलमा २०२१ सम्म खेले। २०२२ मा वार्नरलाई पुनः दिल्ली क्यापिटल्सले लिएको थियो।
काठमाडौंले यसअघि नै भारतका केएस भरत र श्रीलंकाका सहान अराचचिगेलाई अनुबन्ध गरिसकेको छ। यो टोली राष्ट्रिय टोलीका प्रमुख पेस बलर करण केसीको कप्तानीमा रहनेछ।
जिम्मी निशम (न्युजिल्याण्ड)
विश्वभर टी-२० फ्रेन्चाइज खेलेर पनि पहिलो पटक ट्रफी जित्न नेपाल आइपुगेका खेलाडी हुन जिम्मी निशम। न्यूजिल्याण्डका यी अलराउण्डर तेस्रो संस्करणमा जनकपुर बोल्ट्स फर्किएका छन्। नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका निशमले दोस्रो संस्करण पोखरा एभेजन्जर्सबाट खेलेका थिए।
दोस्रो संस्करणमा उनको र पोखरा दुवैको प्रदर्शन राम्रो थिएन। प्रतियोगिता पछि पारिश्रमिक समयमा नपाएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका समेत थिए। त्यसपछि पोखराले उनलाई रकम दिएको जनाएको थियो।

उनले पनि यही वर्ष न्युजिल्याण्डको कार्यवाहक कप्तानको जिम्मेवारी सम्हालिसकेका छन्। दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा नियमित कप्तान घाइते भएपछि उनले कप्तानको जिम्मेवारी सम्हालेका थिए।
यसपटक उनी फेरि जनकपुर फर्किएका छन्। जनकपुरले घोषणा गरेको उनी दोस्रो विदेशी खेलाडी हुन्। यसअघि जनकपुरले अमेरिकी अलराउण्डर हरमीत सिंहलाई अनुबन्ध गरिसकेको जनाएको थियो।
हरमीतले यसपाला जनकपुरको कप्तानी गर्नेछन्।