काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरुलाई संसद्मा युवाका एजेण्डा उठाउनतर्फ केन्द्रित हुन आग्रह गरेका छन्।
उनले युवा सांसदलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर दुई घण्टा छलफल गरी परम्परागत तरिकाले मात्रै संसद्मा प्रस्तुत नहुन आग्रह गरेका हुन्।
उनले युवामा निराशा नफैलाउन तथा संसद्मा विरोध मात्रै गर्ने भन्दा पनि रचनात्मक रुपमा सहयोग पुग्ने विषय उठाउन आग्रह गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले जानकारी दिए। उनका अनुसार बालेनले संसद्लाई समाधानमुखी बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिए।
‘सदनको प्रभावकारिता कसरी बढाउन सकिन्छ? यसबारेमा तपाइँहरुको आइडिया के छ? अहिले संसद् समस्यामा मात्रै केन्द्रित छ यसलाई समाधानमुखी बनाउनुपर्ने भयो। यसमा के गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले सोध्नुभयो। विधेयकका थप ड्राफ्टहरूमा सांसदहरूले मिलेर काम गर्न कसरी सकिन्छ भनेर प्रधानमन्त्रीले सुझाव पनि माग्नु भयो। आफ्नो धारणा पनि राख्नु भएको छ,’ सांसद् उप्रेतीले बिजमाण्डूसँग भने।

बालेनले जेनजी उमेरका सांसदहरुलाई संसद्मा खासगरी २० देखि २५ वर्षका युवाले के सोचिरहेका छन् भन्ने बुझेर बोल्न आग्रह गरे। उनले सरकारको विरोधमात्रै गरेको जनताले नरुचाउने भएकाले युवाका मुद्दालाई रचनात्मक रुपमा प्रस्तुत गर्न भनेका छन्।
‘अरु मुद्दा त अहिले सांसदहरुले उठाइरहनुभएको छ। तपाइँहरुले भर्खरका युवा उमेरका हिसाबले २०/२५ वर्षकाले के सोचिरहेका छन्? उनीहरुले के चाहेका छन्? सबैले सरकारले केही गरेन भनेर मात्रै भनिरहेका हुँदैनन्। कतिपय युवाहरु इनोभेसन चाहन्छन्। त्यो एजेण्डामा तपाइँहरु केन्द्रित हुनुस् भन्नुभएको छ,’ उप्रेतीले भने।
सांसदहरुले आफ्नै पार्टीभित्रबाट सरकारविरुद्ध बोल्न थालिएको भन्दै असन्तुष्टि सम्बोधन गर्न पनि बालेनलाई सुझाव दिए। बालेनले भने संसद्मा सरकारको विरोध हुनु स्वाभाविक प्रक्रिया भएको जवाफ दिए। उनले सरकारले कन्फिडेन्सका साथ काम गरिरहेकाले कमजोर भयो भन्ने नसोच्न आग्रह गरे।
छलफलमा सहभागी सांसदहरुले युवाका मुद्दाहरुमा सरकारले काम गरिरहे पनि प्रभावकारी रुपमा बुझाउन नसकिएको बताएका थिए। सांसदहरुले आइटी सेक्टरमा रुचि भए पनि सरकारी प्रक्रियागत झन्झटका कारण युवाहरु निराश भएको भन्दै सहजीकरण गर्न बालेनलाई सुझाव दिए।

सांसदहरुले दैनिक उपभोग्य वस्तुमा महँगी नियन्त्रण गर्न पनि बालेनको ध्यानाकर्षण गराए। बालेनले कृष्णभीरको पहिरोका कारण पर्याप्त सामान आयात नभएकाले ग्यास, खाद्यान्न लगायतको मूल्य बढ्नुका साथै अभाव सिर्जना भए पनि सडक निर्माण भइसकेकाले अब त्यो स्थिति हट्ने बताए।
प्रधानमन्त्रीले सडकका कारण काठमाडौं उपत्यकामा बेलाबखत अप्ठेरो पर्ने गरेको बताएपछि सांसदहरुले वैकल्पिक सडकबारे सोच्न पनि सुझाव दिएका छन्।
‘काठमाडौंको लाइफलाइनका रूपमा प्रयोग भइरहेको सडक बिग्रिँदाखेरि वैकल्पिक मार्गका कुलेखानी-काठमाडौं सडक मार्ग प्रयोग भइराखेको छ। त्यसलाई अब थप व्यवस्थित गर्न सरकारले काम गरे हुन्थ्यो भन्ने हाम्रो साथीहरुको धारणा छ’, उप्रेतीले भने, ‘भीमफेदीदेखि कुलेखानीसम्मको बाटोमा सुरुङको कुनै त्यस्तो सम्भावना भए त्यसको लागि के गर्न सकिन्छ भन्ने छलफल पनि भएको छ।’

सांसदहरुले जेनजी आन्दोलनका बेलामा पक्राउ परेकाहरुमाथि लगाइएका विभिन्न मुद्दा फिर्ता लिन माग समेत गरे। बालेनले यस विषयमा गृह मन्त्रालयले समिति नै बनाएर काम गरिरहेकाले केही समय पर्खन आग्रह गरे।
‘केहि समय पर्खनुस्। अहिले गृह मन्त्रालयले काम गरिरहेको छ। अनावश्यकरुपमा कसैलाई जेलमा राख्न हुँदैन। तर आन्दोलनमा गएर फाइदा जथाभावी गरेका र सीसी क्यामेराबाट दोषी देखिएका व्यक्ति छुट्दैनन् भन्नुभयो,’ रास्वपाका अर्का सांसद मनिष खनालले भने।