काठमाडौं। असोज १४ गते कृष्णभीरको सडक भासिएर पृथ्वी राजमार्ग बन्द भएपछि मौकामा चौका स्वरुप खाद्यान्नको भाउ जथाभावीरुपमा बढाएका व्यवसायी मूल्य घटाउन तयार भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले शुक्रबार दाल चामल उद्योगी तथा थोक र खुद्रा व्यापारीलाई बोलाएर पृथ्वी राजमार्ग सञ्चालनमा आइसकेकाले अब बहानाबाजी गर्ने ठाउँ नरहेको भनेपछि उनीहरु भाउ घटाउन तयार रहेका हुन्।
मन्त्री साहले सडकमा अवरोध नरहेको र भारतबाट पनि मूल्य बढेर नआएको अवस्थामा जथाभावी भाउ वृद्धि गर्नेलाई सरकारले कारबाहीको दायरामा ल्याउने चेतावनी दिएपछि आफूहरुले भाउ घटाउन सहमति जनाएको एक उद्योगीले जानकारी दिए।
‘अहिले आयातमा कुनै समस्या छैन। बाहिर भाउ बढेको पनि छैन। त्यसैले तपाइँहरुले खाद्यवस्तुको भाउ घटाएर सहयोग गर्नुस्। अन्यथा सरकारले महँगी रोक्नका लागि कारबाहीमा उत्रिनुपर्ने हुन्छ,’ मन्त्री साहलाई उद्धृत गर्दै ती उद्योगीले भने, ‘भाउ घटाएको अवस्थामा सरकार तपाइँं व्यवसायीहरुको साथमा रहनेछ।’
मन्त्री साहसामु व्यापारीले चामलको भाउ बोरामा २०० रुपैयाँसम्म घटाउने प्रतिबद्धता जनाएका छन्। उनीहरुले अन्य खाद्यान्नको भाउ पनि घटाउन सहमति जनाएका छन्।