BIZMANDU
www.bizmandu.com

‘हदबन्दीले घरजग्गा व्यवसायी हत्तु भइसके, बालेन सरकारले न्याय दिनेमा आशावादी छौं’

२०८३ असोज २

‘हदबन्दीले घरजग्गा व्यवसायी हत्तु भइसके, बालेन सरकारले न्याय दिनेमा आशावादी छौं’
‘हदबन्दीले घरजग्गा व्यवसायी हत्तु भइसके, बालेन सरकारले न्याय दिनेमा आशावादी छौं’


चार वर्षदेखि घरजग्गा कारोबारमा ठूलो मन्दी छाएको छ। कारोबारसँगै मूल्यमा समेत प्रभाव पर्दा धेरै व्यवसायी टाट समेत उल्टिएका छन्। हदबन्दी, कित्ताकाटले समेत धेरै व्यवसायी ट्र्यापमा परेका छन्। उनीहरुले हदबन्दी र कित्ताकाटको समस्या समाधानका लागि सरकारलाई आग्रह गर्दै आएका छन्। तर, सम्बोधन भने भएको छैन। यही मन्दीका बीचमा नेपाल जग्गा तथा आवास विकास महासंघले भृकृटीमण्डपमा घरजग्गा मेला समेत गरेको छ। यही सन्दर्भमा बिजमाण्डूका नेत्र तामाङले महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेलाई सोधे- घरजगा मेलाको उद्घाटनमा तपाइँले सभामुखकै सामु जग्गा व्यवसायीलाई गिरफ्तार गर भन्नुभयो, यसो भन्नुको कारण के हो?

Vigo
GBIME
Tata

घरजग्गा व्यवसायीले कानुनसम्मत काम गरेका छौं। अहिले सरकारले ग्यास व्यवसायीलाई ग्यास बेचेन भनेर कारबाही गरिरहेको छ। हामीले किनेका जग्गा हदबन्दीका कारण स्टक भएर बसेका छन्। मालपोतबाट पास भएका, नापीबाट कित्ताकाट भएका अनि नगरपालिकाबाट इजाजत प्राप्त, भवन विभागबाट इजाजत प्राप्त भएका अपार्टमेन्ट सरकारले रोकिदिएको छ।

यहाँ त उल्टो भयो नि त। बरु हामी त्यो ग्यास व्यवसायीले भोग्नु पर्ने जुन सजाय छ। त्यो हामी भोग्न तयार छौ भनेका हौं। घरजग्गा थुपारेर किन बेचेन भनेर हामीलाई कारबाही गर्न भनेका हौं।

नीति नियमबिना त हदबन्दी लगाएको होइन होला नि?

२०७४ सालसम्म रियल इस्टेट कारोबार अथवा कम्पनीहरुले जति पनि किनबेच गर्न सकिन्थ्यो। जब २०७६ सालमा अनलाइन सिस्टम भयो, त्यसपछि सबैतिर लक भयो। किन्न दिने अनि बेच्न नदिने? यो कस्तो खालको नीति हो? सरकारलाई दस्तुर पनि तिरिसकेको हो। व्यवसायी एकदमै धेरै ठूलो अन्याय परेका छन् यसमा सम्बोधन हुनुपर्छ भनेको हो। सभामुखज्यूले यो विषय सम्बोधन हुन्छ भन्नुभएको छ। हामी एकदम ढुक्क भएका छौं।

सभामुखले त पुराना दलका नेताहरुलाई घरजग्गा व्यवसायीले ‘इन्फ्लुएन्स’मा पार्थे भन्ने कुरा गर्नुभयो। अनि गिरिबन्धु टि इस्टेट, पतन्जली जग्गा प्रकरणले पनि त हदबन्दीको विषय गिजोलियो नि होइन?

गिरिबन्धु र पतन्जली हाम्रो यो रियल इस्टेटमा पर्दैन। हामीले किन जग्गा किन्छौं भन्दा त्यसलाई आवासमा परिवर्तन गरेर बेच्नका लागि हो। चिया बगान र जडीबुटी खेती गर्न होइन।

पुराना राजनीतिक दलले पनि रियल इस्टेट व्यवसायी अन्यायमा छन् भनेर विधेयक ल्याएका हुन्। राष्ट्रिय सभाबाट एकचोटी फिर्ता भयो। त्यसपछि प्रतिनिधि सभाबाट पास भइसकेको थियो। त्यहीबेला जेनजी आन्दोलनका कारण रोकियो। सुशीला कार्की नेतृत्वको चुनावी सरकारले अध्यादेश ल्याउन खोजेको थियो तर राष्ट्रपतिकहाँ गएर रोकियो। अहिलेको सरकारले बुझ्छ न्याय दिन्छ भन्ने कुरा विश्वस्त छौं।

घरजग्गा व्यवसाय केही वर्षयता संकटमा छ। एक खर्बभन्दा बढी ऋण छ। हामी एकदमै अप्ठ्यारो अवस्था छौं भन्दा ग्राहक भड्किन्छन् जस्तो लागेन तपाइँहरुलाई?

संकटमा भन्नाले सबै घरजग्गा व्यवसायी संकटमा होइन। हदबन्दीका कारण केही व्यवसायी धेरै संकटमै परिसक्नु भएको छ। तर, घरजग्गा त जोकोहीको सपना हो। काठमाडौंमा एउटा घर जोडौं भन्ने सबैलाई लाग्छ। काठमाडौंमा नसके पनि आफ्नो थलोमा एउटा घर बनाऔं भन्ने पनि हुन्छ। त्यसैले मन्दी लाग्यो समस्या भयो भनेर हामीले भन्दा ग्राहक भड्किन्छन् जस्तो लाग्दैन। अलिकति धन सम्पत्ति हुनेले राम्रै घर बंगलोमा अपग्रेड गरौं भन्ने हुन्छ। नहुनेले झुप्रोबाट केही अपग्रेड गरौं भन्ने हुन्छ।

सरकारले मापदण्डमा पनि कसेको छ, कित्ताकाटमा उस्तै कडा छ भन्नुहुन्छ, कसरी फस्टाउला यो व्यापार?

अहिले दसैंतिहार आइरहेको छ। अब देशमा यस्तो संकट पर्‍यो। यसपाली दसैंतिहार नमनाउँ भन्न त मिल्दैन होला। दु:खले मनाइएला। अहिले उत्साहले हामी मेला गरिराखेका छैनौं। अब पीडा हो यो त हाम्रो रियल इस्टेट व्यवसायीको। तैपनि यो दसैंतिहार जस्तै हो हाम्रा लागि।

घरजग्गा लिने ग्राहक पाइलैपिच्छे ठगिन्छन् भन्ने गुनासो छ। यो एक्स्पोले यो विषयमा केही सम्बोधन गर्छ कि?

घरजग्गा किन्दा बिचौलिया नभई सिधै किन्न सक्ने अवस्था हुनुपर्‍यो। अब सरकारले नै बिचमा ब्रोकरहरु चाहिन्छ भनेर ब्रोकर लाइसेन्स पनि लिएर आएको छ।

यसमा ग्राहक आफैं सचेत हुनु जरुरी छ। आफैं जानी जानी कसैको जग्गा अर्कैको नाममा छ, बैना गरेर अरुसँग लिनुहुन्छ भने फस्नुहुन्छ। तपाइँ मसँग जग्गा किन्न आउनुभयो भने मेरो नाममा मेरो कम्पनीमा त्यो पुर्जा छ कि छैन मेरो हो कि होइन हेर्नु पर्‍यो। किन्दा वास्तविक मान्छे वास्तविक संस्था वास्तविक कम्पनीसँग बसेर कुरा गरेर किन्नु भयो भने कहिले पनि बदमासी हुँदैन।

अहिले एक्स्पोमा आएकाहरुसँग जग्गाको कारोबार निर्धक्कसँग गर्न सकिन्छ?

मज्जाले गर्न सकिन्छ। अहिले स्टल राख्ने सबै व्यवसायी हुनुहुन्छ। आफ्ना आफ्ना कम्पनीहरु राखेर बस्नुभएको छ। आफ्नो व्यवसाय त्यहाँ राखेर बस्नुभएको छ। उहाँहरुसँग गएर किन्दा खेरि त्यसको जिम्मा मै लिन्छु।

तपाइँहरुले रसुवा-त्रिशुली बाढी प्रभावितका लागि पनि छुट अफर ल्याउनुभएको हो?

हामीले बाढी पीडितहरुको लागि २५% छुट अफर राखेका छौं। उहाँहरुले बाढीपीडित हो भन्ने प्रमाण भए यो अफर सहजै पाइन्छ।

एक्स्पोप्रति कतिको आशावादी हुनुहुन्छ?

गत वर्ष राम्रो कारोबार भएको थियो। एक वर्षमा सात खर्ब २० अर्बको कारोबार भएको छ। यसले पनि अब घरजग्गा कारोबार बढ्न थालेको छ भन्ने देखाउँछ। एक्स्पोले पनि पक्कै राम्रो गर्छ।

बैंकिङ कारोबार मिलाउन फेक कारोबार बढेको भन्ने पनि छ नि?

त्यो फेक भनिंदैन। त्यसलाई व्यवहार मिलाउन भनिन्छ। व्यवहार मिलाउन गरेको होला। होइन ब्याज तिर्न नसकेको कारणले रोक्का गरेर त्यसलाई थप गरेर ऋण लिएको हुन सक्छ। तर, त्यो कारोबार गर्दा मालपोतले तै राजस्व त लिन्छ नि होइन।

अब सरकारलाई त राजस्व आउने हो नि त जति चोटी कारोबार गर्‍यो त्यति राजस्व आउँछ। भनेपछि सरकारले यो फेक भयो भन्न मिल्दैन। सरकारले फेक भयो भन्यो भने सरकारले फेक कामबाट पनि आफूले पनि पैसा लिन्छ। त्यो फेक भन्यो भने फेकको राजस्व किन लियो त सरकारले?

त्यसकारणले त्यसलाई त फेक भन्न मिल्दैन व्यवहार मिलाउन भनिन्छ। भोलि कालोसूचीमा पर्नुभन्दा त भएको जग्गाहरु जमिन राखेर अरु अरु चाहिँ ऋण थपेर त्यो ब्याज तिर्नु अथवा व्यवहार मिलाउनु त पर्‍यो नि।