काठमाडौं। कमला नदीमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको कामले गति लिएको बताएको छ।
नदीमा भाँचिएको दशौं नम्बरको पिलर उठाउने काम सम्पन्न हुनुका साथै सब स्ट्रक्चरको ढलान सकिएको छ। पुलको फाउन्डेसनसहित तीनवटा पिलर सबलीकरणको काम सम्पन्न भइसकेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालयले जनाएको छ।
अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ। नदीमा पानीको सतह घटेको अवस्थामा आगामी हप्ता यो काम सम्पन्न गर्ने तयारी छ।
धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ। नदीमा पानीको सतह घटेपछि पुन माटो भर्ने काम गरिनेछ। सिरहातर्फ भने पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ। पुलको लोड परीक्षणसमेत सम्पन्न भइसकेको छ।
अबको दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको लम्सालको सचिवालयले जनाएको छ।
हुलाकी राजमार्गमा १५ वर्षअघि पुल बनाउन सुरु गरिएको थियो। निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो।
२०६८ मा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएकामा २०७८ असारमा उद्घाटनको तयारी भइरहँदा पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो।
मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ। नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ।
डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा १९ कम्पनीले सहभागिता जनाएका छन्। आगामी हप्ता प्राविधिक मूल्यांकन गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने मन्त्रालयको तयारी छ।