काठमाडौं। नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवर्धन गर्ने उद्देश्यले श्रीलंकाका करिब १५० जना पर्यटन व्यवसायी नेपाल आएका छन्।
रुप्से होलिडेजको पहल, समन्वय र व्यवस्थापनमा श्रीलंकाका ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी नेपाल आएका हुन्। उनीहरू श्रीलंकाका दुई प्रमुख पर्यटन संस्था ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंका (टीएएएसएल) र आइएटीए एजेन्ट्स एसोसिएसन अफ श्रीलंका (आइएएएसएल) का प्रतिनिधि हुन्।
यी दुवै संस्थाको वार्षिक साधारणसभा (एजीएम) काठमाडौंमा आयोजना गरिएको छ। काठमाडौंको दुसित प्रिन्सेसमा २० सेप्टेम्बरसम्म उक्त कार्यक्रम हुनेछ। टीएएएसएलको ५१औँ र आइएएएसएलको ३८औँ एजीएम सम्पन्न भएको छ।
श्रीलंकाका यी संस्थाले हरेक वर्ष फरक-फरक अन्तर्राष्ट्रिय गन्तव्यमा एजीएम आयोजना गर्दै आएका छन्। सन् २०२५ मा उनीहरूको ५०औँ र ३७औँ एजीएम सिंगापुर-मलेसिया क्षेत्रमा आयोजना भएको थियो। उक्त कार्यक्रममा पनि करिब १५० जना सहभागी थिए।
यसअघि बेइजिङ, टोकियो, इस्तानबुल, बैंकक, जकर्ता, बाकु र मेलबर्न लगायतका गन्तव्यमा पनि उनीहरूले एजीएम आयोजना गरिसकेका छन्।
यसपटक काठमाडौंलाई एजीएम गन्तव्य बनाइनुले नेपालको पर्यटनका लागि महत्त्वपूर्ण प्रवर्धनात्मक अवसर सिर्जना गरेको छ। विशेषगरी ठूलो संख्यामा श्रीलंकाका प्रभावशाली पर्यटन व्यवसायीलाई एकैपटक नेपाल ल्याउनुलाई निजी क्षेत्रको प्रभावकारी पहलका रूपमा हेरिएको छ।
रुप्से होलिडेजले कार्यक्रमलाई केवल एजीएममा सीमित गरेको छैन। कम्पनीले यसलाई नेपालको पर्यटनमा विश्वास बढाउने अभियानका रूपमा अघि बढाएको छ।

कार्यक्रममा एउटा सन्देश निरन्तर जोड दिइएको छ- ‘नेपाल इज सेफ, नेपाल इज कलिङ।’ अर्थात् नेपाल सुरक्षित छ, नेपालले बोलाइरहेको छ।
नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुर्याउनु अभियानको मुख्य उद्देश्य हो। नेपाल विदेशी पर्यटकलाई स्वागत गर्न तयार रहेको जानकारी पनि सहभागी व्यवसायीमार्फत श्रीलंकाली बजारमा पुर्याउने प्रयास गरिएको छ।
एजीएम सम्पन्न भएपछि आयोजित विशेष गाला डिनरमा नेपाल र श्रीलंकाका पर्यटन तथा उड्डयन क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत, श्रीलंकन एयरलाइन्सका कमर्सियल डिरेक्टर, नाट्टा अध्यक्ष भरत जंग पाण्डे, महासचिव राजकुमार देवकोटा, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, श्रीलंकन एयरलाइन्सका जीएसए सञ्चालक जय देवान लगायतको सहभागिता थियो।
नेपाल र श्रीलंकाका अन्य पर्यटन व्यवसायी पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा नेपालको पर्यटनबारे सकारात्मक र यथार्थ सूचना अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्नेमा जोड दिइयो। पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न निजी क्षेत्र पनि सक्रिय रूपमा अघि बढ्नुपर्ने धारणा सहभागीहरूले राखेका थिए।