BIZMANDU
www.bizmandu.com

होवल्दारले अडिट गरेका ठूला बैंक र नहेरेका साना बैंकको ब्यालेन्स सिटमा किन देखियो फरक?

२०८३ असोज २

होवल्दारले अडिट गरेका ठूला बैंक र नहेरेका साना बैंकको ब्यालेन्स सिटमा किन देखियो फरक?
होवल्दारले अडिट गरेका ठूला बैंक र नहेरेका साना बैंकको ब्यालेन्स सिटमा किन देखियो फरक?


काठमाडौं । अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत सम्पत्ति गुणस्तर परीक्षण गरिएका ठूला १० वाणिज्य बैंकको ब्यालेन्स सिट बिग्रिएपछि बाँकी बैंकको पनि विदेशी कम्पनीमार्फत अडिट गराउनुपर्ने आवाज उठेको छ।

Vigo
GBIME
Tata

बंगलादेशी कम्पनी होवल्दार युनुसले लेखापरीक्षण गरेका बैंकमा पर्याप्त प्रोभिजनिङ नगरिएको, धितोको अस्वाभाविक मूल्यांकन गरिएको, एभरग्रिनिङ गरिएको लगायत समस्या देखाएपछिको ब्यालेन्स सिटमा बिग्रिएर आएपछि बाँकी बैंकको पनि विदेशी लेखापरीक्षकमार्फत अडिट गराउनुपर्ने आवाज उठेको हो।

होवल्दार युनुसले सम्पत्ति गुणस्तर परीक्षण गरेका १० बैंक र बाँकी बैंकको वित्तीय अवस्थामा ठूलो अन्तर देखिएको छ। होवल्दारले लेखापरीक्षण गरेका बैंकहरुलाई थप प्रोभिजनिङ गर्न लगाउँदा नाफा प्रभावित भएको छ। ठूला बैंकको खराब कर्जा २३.०८ प्रतिशतले वृद्धि भइ ७.२१ प्रतिशत पुगेको छ।

तर, बाँकी बैंकले ब्यालेन्स सिट ठिक ठाक नै देखाएका छन्। उनीहरुको खराब कर्जा ९.६० प्रतिशतले वृद्धि हुँदा पनि ३.६६ प्रतिशतमा सीमित रहेको देखिन्छ। त्यसो त होवल्दार युनुसले लेखापरीक्षण गरेका बैंकको तुलनामा बाँकीको लोन पोर्टफोलियो भने सानो छ।

होवलदार युनुसले सम्पत्तिको गुणस्तर जाँच गरेका र नगरेका बैंकको ब्यालेन्स सिटमा धेरै अन्तर देखिएका कारण अब बाँकी बैंकको पनि विदेशी कम्पनीमार्फत अडिट गराउनुपर्ने आवाज उठेको हो।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ अन्तर्राष्ट्रिय अडिटरमार्फत लेखापरीक्षण गराउँदा बैंकहरुको यथार्थ वित्तीय अवस्था बाहिर आउने र त्यसले नीति निर्माणदेखि दीर्घकालीन स्थायित्वमा समेत सहयोग पुग्ने बताउँछन्।

‘अहिलेको भद्रगोल अवस्था हेर्दा नियामकको सुपरिवेक्षण डाइरेक्ट/इन्डाइरेक्ट इन्फ्लुयन्स हुने अवस्था पनि हुन्छ। त्यसकारण बाँकी बैंकको पनि विदेशी अडिटरबाट अडिट गराउँदा राम्रो हुन्छ,’ श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय कम्पनीबाट लेखापरीक्षण गराउँदा वित्तीय अवस्था सही आउँछ भन्ने १० ठूला बैंकबाट नै देखिसक्यो। यसले वित्तीय स्थायित्वका लागि पनि सहयोग पुग्छ।’

बंगलादेशी कम्पनी होवदार युनुसले ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया, कुमारी, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य, हिमालयन, प्रभु र एनएमबि बैंकको सम्पत्ति गुणस्तर जाँच गरेको थियो।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषकोको विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत प्राप्त हुने करिब ३९५ मिलियन डलर ऋण सहायता लिनका लागि विदेशी कम्पनीमार्फत ठूला १० बैंकको गुणस्तर परीक्षण गराएको हो।

होवल्दारले युनुसको परीक्षणका आधारमा राष्ट्र बैंकले संचालक समितिबाट नै निर्णय गरी बैंकहरुलाई सुधारका योजना अघि बढाउन लगाएको थियो।

‘होवल्दारको रिपोर्टमा कैफियत देखाइएका बैंकलाई प्रोभिजनिङ थप्न लगाउनेदेखि अन्य सुधारका काम गर्न भनेका थियौं। त्यसैले ती बैंकको ब्यालेन्स सिट यसपालि बिग्रिएको हो,’ राष्ट्र बैंकका एक अधिकृतले भने, ‘प्रोभिजिनिङ थपिँदा नाफा प्रभावित हुन्छ। जसको असर लगानी क्षमतामा समेत पर्छ।’

बैंक तथा वित्तीय संस्थाहरुको सुपरिवेक्षण राष्ट्र बैंकले स्थलगत र गैरस्थलगत दुवै गर्छ। सधैं एउटै ढंगले हेरिरहेका बैंक तथा वित्तीय संस्थालाई नयाँ ढंगबाट हेर्नका लागि समय समयमा विदेशी कम्पनीबाट अडिट गराउँदा कमजोरी केलाउन सहज हुनेमा राष्ट्र बैंकका कर्मचारीहरु पनि सहमत छन्।

‘हामीले बैंकहरुलाई इन्साइड र अफसाइड हेरिरहेका हुन्छौं। सबैं फाइल हेर्ने खोलेर हेर्न सम्भव हुँदैन,’ राष्ट्र बैंकका ती अधिकृतले भने,’ स्याम्पलिङका आधारमा २०/२५ प्रतिशत फाइल हेरिरहेका हुन्छौं। होवल्दारले ३०/४० प्रतिशत फाइल हेर्दा त्यसमा केही फरक देखिएको हो।’