काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इभेन्ट सोलुशन प्रालिको संयुक्त आयोजनामा २०८३ माघ ३ देखि ५ गतेसम्म ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ।
‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नाराका साथ काठमाडौंमा आयोजना हुन लागेको यो एक्स्पो यस शृंखलाको पाँचौँ संस्करण भएको आयोजकले जनाएको छ।
सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य राखेको सन्दर्भमा उक्त लक्ष्य हासिल गर्न आवश्यक लगानी, प्रविधि, बजार र नीतिगत साझेदारी निर्माणका लागि एक्स्पो आयोजना गर्न लागिएको इप्पानले जनाएको छ।
आज आयोजित कार्यक्रममा इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले एक्स्पोले ऊर्जा उत्पादनदेखि लगानी, प्रविधि, उपकरण र नीतिगत बहससम्मका सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने बताए। एक्स्पोका लागि स्टल बुकिङ खुला भइसकेको आयोजकले जानकारी दिएको छ।
यसपटकको एक्स्पो परम्परागत जलविद्युतमा मात्र सीमित नभई सौर्य, वायु, बायोग्यास, फोहोरबाट ऊर्जा, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी (इभी), स्मार्ट ग्रिडका साथै डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिंग्स र ड्रोन जस्ता अत्याधुनिक प्रविधिमा समेत केन्द्रित हुने बताइएको छ।
बाढी, पहिरो तथा गेग्रान बहावले जलविद्युत् आयोजनाहरुमा पुऱ्याएको क्षतिलाई ध्यानमा राख्दै एक्स्पोमा जलवायु-उत्थानशील ऊर्जा पूर्वाधार निर्माण, जोखिम न्यूनीकरण र हरित प्रविधिबारे बहस तथा अनुभव आदानप्रदान गरिने कार्यसूची समेत छ।
एक्स्पोमा भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, बेलायत, इटली, स्वीडेन, ब्राजिललगायत दर्जनभन्दा बढी देशका कम्पनी, लगानीकर्ता, प्रविधि उत्पादक, सरकारी तथा नियामक निकाय र ऊर्जा विज्ञहरुको सहभागिता रहने इप्पानले जनाएको छ।
एक्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टलहरू रहनेछन्। ३० हजारभन्दा बढी अवलोकनकर्ताले एक्स्पोमा भ्रमण गर्ने अनुमान गरिएको छ।
बीटुबी, बिजनेस मिटिङ, ग्रीन इनर्जी कन्फरेन्स, ईभी ऱ्याली, हाइड्रो-कन शो, स्टार्टअप हब र गाला नेटवर्किङ डिनर जस्ता कार्यक्रमहरू पनि कार्यक्रमबीच आयोजना गरिने जनाइएको छ।
एक्स्पोमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्रि तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट समाधानलगायतका उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ।