काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ हजार रुपैयाँ सहयोग गर्दा करदाता प्रोत्साहन कार्यक्रमको विजेतामा एक जनाको नाम परेको छ।
तर, राहत कोषमा सहयोग गरेकाले उपहार रकम जित्ने व्यवस्था नरहेको आन्तरिक राजस्व विभागले जनाएको छ।
विभागका अनुसार राहत कोषमा अनलाइनमार्फत भुक्तानी गरेका कारण सिस्टमले स्वत: कुपन ‘जेनेरेट’ गरेको थियो। सोही आधारमा ०४२६१८४७७६२० कुपन बनेको थियो।
तर, राहत कोषमा सहयोग गर्दा कुनै पनि प्रकारको कर दायित्व नहुने र कुनै पनि तरिकाले सरकारी कोषमा जम्मा गर्दा उपहार नपाउने व्यवस्था कार्यविधिमा उल्लेख छ।
त्यसैले विजेतामा नाम स्वत: आए पनि उक्त कुपन नम्बर भएका व्यक्तिलाई १ लाख उपहार रकम नदिइने विभागले जनाएको छ।
कारदाता प्रोत्साहत कार्यविधिअनुसार टेलिफोन, विद्युत्, इन्टरनेट, सवारीसाधन, हवाई टिकट, व्यवसायिक खरिद, सरकारी निकायबाट जारी भएका बिजकलगायत उपहार कार्यक्रममा सहभागी हुन नपाउने व्यवस्था छ।
विभागले भदौ १ देखि ३१ गतेसम्म कारोबार गरेका उपभोक्तालाई समेटेर आज उपहार घोषणा गरेको थियो। जसअनुसार २ जनाले १०/१० लाख र हरेक दिन गरेर ३१ जनाले १ लाख रकम उपहार पाएका छन्।