काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले हदबन्दीको समस्या चाँडै समाधान हुने बताएका छन्। आजदेखि सुरु भएको घर जग्गा मेलामा उनले व्यवसायीको गुनासो सुनेपछि समस्याहरु समाधान गर्न आफूले पहल गर्ने बताएका हुन्।
उनले यस विषयमा भूमि व्यवस्था मन्त्रीसँग पनि कुराकानी गरेको भन्दै कानुन संधोधनको चरणमा रहेको बताए।
‘अहिले बनाएका कानुनहरु ५० वर्ष पछि फेरि हामीले संशोधन गर्न नपरोस् भनेर सरोकारवालाहरुसँग छलफल गरिरहेका छौं। यहाँहरुको सबैभन्दा जटिल समस्या हदबन्दी छ। यो हदबन्दीको विषय धेरै लामो समयदेखि उठिरहेको हो। यसमा सरकार गम्भीर छ भन्ने मेरो पनि बुझाइ छ। यसको समाधान पनि छिट्टै हुन्छ भन्ने मेरो बुझाइ छ।’
यसो भन्दै उनले व्यवसायीहरुले देशको राजनीति, राज्य प्रणाली र कानुनलाई पनि मान्नुपर्ने बताए।
‘हामीले गर्ने व्यवहारले सीमित व्यक्तिहरु मात्रै मोटाउने किसिमको उद्योग, व्यापार, व्यवसायी हुनु हुँदैन। हामीले दूरदराजमा बसेका नेपाली नागरिकहरू पनि यो देशमा छन् भनेर भुल्नु हुँदैन,’ उनले भने।
उनले देश समृद्ध बनाउनको लागि नै व्यवसायीहरुले लगानी गरिरहेको भन्दै त्यसमा सरकारले पनि सघाउनेमा आफू विश्वस्त रहेको सुनाए।