काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङलाई राजीनामा दिन सिंहदरबारमा दबाब दिइएको छ। छलफलका लागि भन्दै बुधबार मन्त्रालयमा बोलाएर शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र उनका सल्लाहकार लगायतले राजीनामा दिन दबाब दिएको स्रोतले बताएको छ।
त्यहाँ मन्त्री पोखरलेलसँगै उनका सल्लाहकार सिद्धि ब्यन्जनकार, राजु सिंह लगायतको उपस्थिति थियो। राजीनामाका लागि ड्राफ्ट नै तयार गरेर ल्याइएको बताइएको छ। मन्त्रालयमा उनलाई यसअघि तहगत चुनाव गर्ने ‘कमिटमेन्ट’ लगायत स्मरण गराउँदै तत्काल राजीनामा गर्न भनिएको थियो।
२०७९ को असार ६ गते निर्वाचित भएका नेम्बाङको कार्यकाल भदौ ५ गते नै सकिइसकेको छ। कार्यकाल सकिन केही महिना बाँकी छँदा तहगत चुनाव नगरी ‘अर्ली इलेक्सन’को तयारी थालेपछि एन्फा र सरकारबीचको दूरी बढेको थियो। यसैबीचमा राखेपले एन्फा निलम्बन गर्यो। पछि फुकुवा पनि गर्यो। तर, विश्वकपमा जानबाट अध्यक्ष र महासचिवलाई रोकेपछि भने फिफाले तेस्रो पक्षको हस्तक्षेप भन्दै एन्फालाई निलम्बन गर्यो।
नेम्बाङले भने ‘आफ्नो कार्यकाल सकिएर कामचलाउ मात्रै रहेको र फिफाको निलम्बनले गर्दा अप्ठेरो परेको’ बताए। ‘मैले राजीनामा दिन मिल्दैन। फिफा, एएफसी सबैलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ,’ अधिकांश समय मौन रहेका नेम्बाङले मन्त्रालयमा भनेका थिए।
यता नेम्बाङलाई राजीनामा दिन लगाएर फुटबलको एक पूर्व कप्तानको संयोजकत्वमा ५ सदस्यीय समिति बनाउने योजना मन्त्रालयको छ।
मन्त्रालयमा चलेको तीन घण्टाको रस्साकस्सीले एन्फा पदाधिकारीबीच तरंग छ। एन्फा प्रवक्ता सुरेश साहले मन्त्रालयको प्रकरण अस्वीकार गरेनन्। पत्रकार सम्मेलनमा यसबारे प्रष्ट पारिने उनले बताए।
नेम्बाङले आजै दिउँसो पत्रकार सम्मेलन गर्दैछन्।