BIZMANDU
www.bizmandu.com

चलचित्र विकास बोर्ड अध्यक्ष पदमा सरकारले माग्यो दरखास्त, के छन् योग्यता मापदण्ड?

२०८३ असोज १

चलचित्र विकास बोर्ड अध्यक्ष पदमा सरकारले माग्यो दरखास्त, के छन् योग्यता मापदण्ड?
चलचित्र विकास बोर्ड अध्यक्ष पदमा सरकारले माग्यो दरखास्त, के छन् योग्यता मापदण्ड?


काठमाडौं। चलचित्र विकास बोर्डको नेतृत्वका लागि सूचना तथा सञ्चार मन्त्रालयले दरखास्त आह्वान गरेको छ।

Vigo
GBIME
Tata

बोर्डको अध्यक्ष पदमा आवेदन दिन नेपाली नागरिक हुनुपर्छ। ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ। शैक्षिक योग्यताको हकमा कुनै पनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष कार्य गरेको अनुभव हासिल गरेको हुनुपर्छ।

साथै, सूचना तथा सञ्चार मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी दिग्दर्शन, २०८३ को दफा १२ बमोजिम नियुक्तिका लागि अयोग्य नभएको हुनुपर्छ।

सूचना अनुसार आवेदकले तोकिएको ढाँचाको आवेदन, दरखास्त फाराम र स्वघोषणापत्र भर्नुपर्नेछ। यसका साथै नेपाली नागरिकता र राष्ट्रिय परिचयपत्रको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता खुल्ने व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि र अनुभव खुल्ने आधिकारिक कागजातको प्रतिलिपि पेस गर्नुपर्छ। सबै शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रमा आवेदक स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्छ।

आवेदकले कम्तीमा ३ हजार शब्दको व्यावसायिक कार्ययोजना र सोही कार्ययोजनाको प्रस्तुतीकरण पनि पेस गर्नुपर्ने सूचनामा छ। दरखास्त बुझाउन एक साताको समयावधि छ।

विगतमा सरकारले बोर्ड अध्यक्ष सत्तारुढ दलका नेतासँगको निकटताका आधारमा आफूखुसी नियुक्त गर्दै आएको थियो। पछिल्ला अध्यक्ष दीनेश डीसीको कार्यकाल भदौ १७ मा सकिएयता बोर्डमा सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई कार्यवाहक तोकेको छ।