BIZMANDU
www.bizmandu.com

भृकुटीमण्डपमा जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी, प्रोपर्टी बिजनेसलाई गति दिने अपेक्षा

२०८३ असोज १

भृकुटीमण्डपमा जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी, प्रोपर्टी बिजनेसलाई गति दिने अपेक्षा
भृकुटीमण्डपमा जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी, प्रोपर्टी बिजनेसलाई गति दिने अपेक्षा


काठमाडौं। घर-घडेरी खरिदको योजना बनाइरहेका र घर निर्माण गर्न लागेकाहरुका लागि आज (बिहीबार)देखि काठमाडौंको भृकुटीमण्डपमा ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ सुरु हुँदैछ। चार दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले गर्दैछन्।

Vigo
GBIME
Tata

नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बरसँगको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेका हुन्। प्रदर्शनीमा १०० भन्दा बढी स्टल छन्। घर खरिदबिक्रीसँगै घरका लागि चाहिने निर्माण र सज्जाका सामाग्रीको प्रदर्शनीसँगै परामर्श लिन पाइने व्यवस्था मेलामा रहेको आयोजकले जनाएका छन्।

प्रदर्शनी संयोजक रोशन भोयद्योका अनुसार प्रदर्शनीमा हाउजिङ तथा अपार्टमेन्ट व्यवसायी, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, ग्लास, पेन्ट्स, सेनिटरी, पाइप तथा फिटिङ्स, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्वेस्टिङ, फोहोर व्यवस्थापन, सुरक्षा प्रणाली, स्वचालन प्रविधि, प्रिफ्याब तथा युपिभिसी ढोका–झ्याललगायतका कम्पनी तथा व्यवसायी सहभागी हुँदैछन्।

बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, इन्जिनियरिङ तथा वास्तुकला परामर्श र निर्माण व्यवसायसँग सम्बन्धित संस्थाको समेत सहभागिता रहनेछ। नेपालसँगै भारतका कम्पनी तथा व्यवसायी पनि सहभागी हुने आयोजकले जनाएका छन्।

प्रदर्शनीलाई घरजग्गा खरिद–बिक्रीमा मात्र सीमित नगरी सुरक्षित, व्यवस्थित र वातावरणमैत्री आवास निर्माणसम्बन्धी जानकारी तथा परामर्शको थलोका रूपमा विकास गर्न खोजिएको छ। भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञले अवलोकनकर्तालाई निःशुल्क परामर्श दिनेछन्।

प्रदर्शनीमा जलवायु परिवर्तन, विपद्–प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान र सार्वजनिक–निजी साझेदारीबारे प्यानल छलफलसमेत हुनेछ। नीति निर्माता, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट, निजी क्षेत्र तथा विज्ञबीच विपद्पछि आवास पुनर्निर्माण र सुरक्षित पूर्वाधार विकासमा सहकार्यका विषयमा छलफल गरिनेछ।

सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा पुनःप्रयोग, ऊर्जा बचत, फोहोर व्यवस्थापन र स्मार्ट प्रविधिसहितका समाधान पनि प्रदर्शनीमा प्रस्तुत गरिनेछन्। डिजिटल डिस्प्ले, विद्युतीय कियोस्क तथा भर्चुअल र अग्मेन्टेड रियालिटीको प्रयोगमार्फत प्रदर्शनीलाई कागजरहित बनाउने प्रयास गरिएको छ। ओम र ग्रान्डे अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा रसुवा बाढीपीडितका लागि स्वास्थ्य उपचार प्याकेजसमेत सञ्चालन गरिने भएको छ।

मेलामा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अनुमान आयोजकको छ।