BIZMANDU
www.bizmandu.com

सौर्य ऊर्जाको लागत ४३ प्रतिशतसम्म महँगियो, भोटेकोशी बाढीले ढुवानी भाडाले बढेपछि थप संकट


सौर्य ऊर्जाको लागत ४३ प्रतिशतसम्म महँगियो, भोटेकोशी बाढीले ढुवानी भाडाले बढेपछि थप संकट
सौर्य ऊर्जाको लागत ४३ प्रतिशतसम्म महँगियो, भोटेकोशी बाढीले ढुवानी भाडाले बढेपछि थप संकट


विराटनगर। जलविद्युतको मुख्य विकल्प मानिएको सौर्य ऊर्जा आयोजनाको लागत एक वर्षमै ४३ प्रतिशतसम्म बढेको छ।

Vigo
GBIME
Tata

विश्वमै सोलार प्यानलको मुख्य उत्पादक चीनले निर्यातमा दिँदै आएको भ्याट छुट हटाउनु, चीनका मुख्य बन्दरगाहदेखि कोलकाता बन्दरगाहसम्मको ढुवानी खर्च वृद्धि हुनु, डलरको मूल्य अकासिनुलगायत कारणले सौर्य आयोजनाको लागत एक वर्षमै ४० प्रतिशतभन्दा धेरै वृद्धि भएको हो।

देशभरि सौर्य आयोजना निर्माण गरिरेहको घाम पावरका इन्जिनियरिङ निर्देशक प्रदीप हुमागाईंले एक वर्षमै सोलार प्लान्टको लागत ४३ प्रतिशतले वृद्धि भएको बताए।

चीनले सोलार प्यानलमा लाग्ने १३ प्रतिशत भ्याट निर्यातमा छुट दिँदै आएको थियो।

२०२४ डिसेम्बरदेखि निर्यातमा ९ प्रतिशत मात्र छुट दिएर बाँकी ४ प्रतिशत लिइरहेको थियो। तर, २०२६ को अप्रिलदेखि बाँकी ४ प्रतिशत छुट पनि हटाएर निर्यातमा पाइने सुविधा कटौती गरेपछि आयात स्वतः महँगो भएको हो।

नेपाली व्यवसायीले चीनले सोलार प्यानलको निर्यातमा दिँदै आएको भ्याट छुट सम्पूर्ण रूपमा खारेज गरेका कारण मात्र आयोजना १५ प्रतिशतसम्म महँगो भएको बताएका छन्।

घामपावरका हुमागाईंका अनुसार भ्याट छुट नदिने चीनको निर्णयले नेपालका सौर्य आयोजनाको लागतमा ठूलो धक्का लागेको छ।

चीनले प्राइस वारका कारण निर्यात मूल्यमा आएको गिरावटलाई रोक्न सोलार आयोजनाका सोलार वेफर्स, सोलार सेल्स, सोलार मोडुल्स लगायत सामाग्रीको निर्यातमा दिँदै आएको भ्याट छुट हटाएको हो। तर, यति गर्दा पनि अन्य मुलुकबाट भन्दा चीनबाटै आयात गर्दा सस्तो पर्ने व्यवसायीको भनाइ छ।

चीनले सोलार प्यानलको निर्यातमा दिएको भ्याट छुट हटाएपछि करिब दुई महिना निर्यातमा असर परे पनि दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकातर्फ निर्यात बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सौर्य आयोजनाको अर्को कम्पनी रिन्यु होल्डिङ्सका चिफ बिजनेस अफिसर मधुकर दाहालले निर्यातमा भ्याट छुट खारेज मात्र नभई चीनमा सोलार प्यानलको मूल्य पनि एक वर्षमा ८० प्रतिशतभन्दा धेरै वृद्धि भएको बताए।

उनका अनुसार गत वर्ष यति बेला सोलार प्यानलको प्रति वाट दर ७ देखि ८ सेन्ट थियो। अहिले यो मूल्य वृद्धि भएर १३ सेन्ट पुगेको छ। यो कारखाना मूल्य हो।

विश्वव्यापी रूपमा अल्मुनियम लगायत धातुमा भएको मूल्यवृद्धिले सोलार प्यानल मात्र नभई आयोजनाको माउन्टिङ स्ट्रक्चरको मूल्य पनि वृद्धि भएको छ।

व्यवसायीले एक वर्षमा माउन्टिङ स्ट्रक्चर १० प्रतिशतभन्दा बढीले महँगो भएको दाबी गरेका छन्। सोलार प्यानललाई घामका किरण देखिने गरी बलियोसँग अड्याएर राख्न बनाइएको संरचनालाई माउन्टिङ स्ट्रक्चर भनिन्छ।

‘त्यसो त सोलार प्यानलको मूल्य उद्योग, ब्रान्ड र क्वालिटी अनुसार फरकफरक हुन्छ। तर वृद्धिको अनुपात सबै भेराइटीमा लगभग एकै दरको छ। यसले गर्दा नेपालमा सोलार आयोजनाको लागत बढिरहेको छ,’ दाहालले भने।

उनका अनुसार गत वर्षसम्म घरका छानामा लगाइने सोलार आयोजनाको लागत प्रति मेगावाट ४ देखि साढे ४ करोडसम्म थियो। अहिले ५ करोडभन्दा बढी भइसकेको छ। खाली जमिनमा बनाइने आयोजनाको लागत भने ठाउँअनुसार फरक हुन्छ। यसमा जमिनको उचाइ, दिशा, भिरालोपन, फैलावट आदिले फरक पार्छ।

दाहालले एक वर्षमा आयोजनामा लाग्ने वायरको मूल्य १६ प्रतिशत, एलटी प्यानलको ३० र इन्भर्टरको १२ प्रतिशतले वृद्धि भइसकेको उल्लेख गरे। त्यसैगरी चीन सरकारले सोलार आयोजनाका सामग्रीको न्यूनतम निर्यात मूल्य पनि तोकेर सहुलियतको बजारमाथि अंकुश लगाउन थालेको व्यवसायीको भनाइ छ।

चीनका निर्यातकर्ताले यो मूल्यभन्दा बढीमा आपूर्ति गर्न नसकिने र गरेमा कारबाही भोग्नुपर्ने बताउन थालेका छन्। चीनले त्यहाँका निर्यातकर्ताले अन्य मुलुकका निर्यातकर्तासँग गरिरहेको प्राइस वार रोकेर विदेशी मुद्राको भण्डार बढाउन निर्यात मूल्यमा पनि सिलिङ लगाएको हो। जसअनुसार चीनले लागत मूल्यभन्दा कममा निर्यात गर्न नपाइने कार्यविधि बनाएको छ।

पछिल्लो चोट महँगो ढुवानी खर्च

सोलार आयोजनाको लागतमा अझ वृद्धि हुनुको पछिल्लो मुख्य कारण सामुद्रिक ढुवानी खर्चमा भएको ६० प्रतिशतभन्दा बढीको बढोत्तरी पनि हो।

इन्जिनियरिङ डाइरेक्टर हुमागाइँका अनुसार अमेरिका-इरान युद्ध सुरु भएदेखि नै सामुद्रिक ढुवानी खर्च वृद्धि हुन थालेको थियो। भोटेकोशी बाढीले खर्च झन् अकासिएको छ।

दाहालले गत वर्ष चीनको सांघाईबाट कोलकाता बन्दरगाह सम्मको ४० फिटे कन्टेनरको ढुवानी खर्च ३५ सयदेखि ४ हजार डलर भएकोमा अहिले ६३ सय डलर तिर्दा पनि नपाइने अवस्था बताए।

‘कन्टेनर भेसल (पानीजहाज) पाइनै मुस्किल भएको छ। जहाज कम्पनीले जति भन्यो त्यति तिर्नुपर्ने अवस्था छ। रसुवा नाका कोल्याप्स भएपछि चीनबाट हुने आयातमा सामुद्रिक मार्गको प्रयोग बढेको छ। यसका कारण जहाज र कन्टेनर दुबैको अभावसँगै मूल्यवृद्धि पनि चुलिएको छ,’ दाहालले भने।

एउटा ४० फिटको कन्टेनरमा सोलार प्यानलका २० वटा प्यालेट अट्छन्। ३५ वटा प्यानलको बन्डललाई प्यालेट भनिन्छ। जसअनुसार एक कन्टेनरमा ७ सय थान सोलार प्यानल राखेर ढुवानी गर्न सकिन्छ।