काठमाडौं। सरकारले न्याय सेवाका तीन र प्रशासन सेवाका एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ।
बुधबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवाका ठगिन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाल तथा प्रशासन सेवाका कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
न्याय सेवा आयोगले कट्टेल, भट्टराई र दाहाललाई सचिवमा बढुवा गर्न मंगलबार सिफारिस गरेको थियो। बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली र चक्रिय राहत कोष सञ्चालन कार्यविधि स्वीकृत गरेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यस्तै सेयर बजार सुधारका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेको निर्णय मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ। स्वर्णिमले सोमबार सेयर बजार सुधारका लागि पुँजीगत लाभकर ५० प्रतिशत घटाउने गरी २१ बुँदे कार्ययोजना ल्याएका थिए।