धादिङ। पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन खण्डमा पर्ने कृष्णभीरमा १३ दिन लगाएर बनाइएको नयाँ बाटो बिहीबारबाट पूर्णरुपमा सञ्चालनमा आउने भएको छ।
भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कटान गरेका कारण कृष्णभीरको सडक भासिएपछि सडक विभागले माथिपट्टि नयाँ बाटो बनाएको हो।

विज्ञहरुले दिएको सुझाव अनुसार कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्र्याक बनाइएको हो। सडक विभाग र नेपाल जियोटेक्लिकल सोसाइटीका प्राविधिकले चार दिनसम्म अध्ययन गरी पहिरो गएको स्थान माथि नयाँ बाटो बनाउन सुझाव दिएका थिए।

त्यही सुझावका आधारमा विभागले भदौ १९ गतेदेखि नयाँ ट्र्याक बनाउने काम अगाडि बढाएको थियो। प्राविधिकसहित दैनिक ५० जनाले निरन्तर १२ देखि १६ घण्टासम्म काम गरेर सडक तयार पारेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

सडकमा भदौ २८ गते परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारी साधन सञ्चालन गरिएकामा त्यसयता बिहान र बेलुका अत्यावश्यक यातायातका साधनको आवतजावत भइरहेको छ।

ग्राभेल गर्नुका साथै नाली निर्माण गरेर सडकलाई मजबुत बनाइएको मन्त्रालयको भनाइ छ। तर, कतिपय विज्ञहरुले नयाँ बाटो जोखिमपूर्ण रहेको बताएका छन्।

यसअघि पहिरो रोक्नका लागि पर्खाल लगाइएको ठाउँ माथिबाट बनाइएको सडक धेरै भार भएका गाडी चलाउन जोखिम हुने उनीहरुको भनाइ छ।

कृष्णभीरको बाटो बन्द हुँदा काठमाडौं उपत्यकामा आपूर्ति व्यवस्था नै खल्बलिएको थियो। खासगरी खाना पकाउने ग्यासको हाहाकार भएको थियो भने दैनिक उपभोग्य वस्तुको मूल्य पनि अकासिएको छ।