काठमाडौं। जग्गाको मूल्य अकासिएर काठमाडौंमा घर बनाउने योजना अधुरो रहेकाहरुलाई लक्षित गरी व्यवसायीले डेढ करोडमै आवासको योजना ल्याएका छन्।
घरजग्गा व्यवसायीले काठमाडौंको टोखामा दुई तले घर डेढ करोड रुपैयाँमा दिने योजना ल्याएका हुन्। ग्राहकले यो योजनाबारे बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने घरजग्गा मेलामा विस्तृतमा जानकारी पाउन सक्नेछन्। मेलामा बुक गर्ने ग्राहकले १० लाख रुपैयाँ छुट पाउनेछन्।
ग्रान्डी कोलोनीले टोखामा सस्तो मूल्यका ५० वटा घर बनाइसकेको छ। कोलोनीका प्रोपाइटर दीपक कुवँरले काठमाडौंमा जग्गाको मूल्य अकासिएर जग्गा जोड्न नसकेकाहरुलाई लक्षित गरी सस्तो मूल्यका आवास विकास गरेको बताए।
‘काठमाडौंमा जग्गाको मूल्य धेरै महँगिसकेको छ। घर बनाउने सामग्रीका लागि पनि धेरै पैसा लाग्छ। त्यसैले हामीले कम बजेटमै घर पाइने योजना ल्याएका हौं,’ कुँवरले भने, ‘हाम्रो कोलोनीमा डेढ करोडमै घर पाइन्छ। अझ भोलिदेखि हुने मेलामा आएर बुक गर्नेले १० लाख रुपैयाँ छुट पाउँछन्।’

उनका अनुसार घर साढे दुई आना जग्गामा बनाइएको छ। ३ बेडरुमको दुई तले घर लिन चाहने ग्राहकलाई लक्ष्मी सनराइज बैंकले ८० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ। बैंकले ब्याजदर ५.४९ प्रतिशत राखेको छ।
ग्रान्डी कोलोनीका घरबारे घरजग्गा मेलामा डी १ र डी २ स्टलमा जानकारी पाइनेछ।
व्यवसायीहरुले योभन्दा सस्तो मूल्यका घरका योजना पनि ल्याएका छन्। तर, ती घर भने काठमाडौंबाट केही टाढा पर्छन्। घरजग्गा मेलाका संयोजक रहेका रोशन भोयद्योको कम्पनीले ७७ लाख ५० हजार रुपैयाँमै घरको योजना ल्याएका हुन्।

उनले काभ्रेको धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा ४८ वटा घरसहितको धुलिखेल प्याराडाइज भिल्ला बनाउन लागेका हुन्।
‘हाम्रो प्रोजेक्ट काठमाडौंको कोटेश्वरबाट ३५ किलोमिटरको दूरीमा पर्छ। घर ५ आना जग्गामा डेढ तलाको हुनेछ। घरमा ४ वटा बेड रुम हुनेछन्,’ भोयद्योले भने, ‘काठमाडौंको कोलाहल नरुचाउने र सस्तो मूल्यमा घर खोज्नेहरुलाई लक्षित गरेर हामीले काभ्रेभञ्ज्याङमा आवास विकास गर्न लागेका हौं।’
धुलिखेल प्याराडाइज भिल्लामा घर लिन चाहनेलाई सिटिजन्स बैंकले कर्जा उपलब्ध गराउनेछ। यो आवासबारे ग्राहकले घरजग्गा मेलामा डी ३ स्टलमा जानकारी लिन सक्नेछन्।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले मेलामा घर र जग्गा दुवै सहुलियत दरमा उपलब्ध गराउने बताए। उनका अनुसार घरजग्गामा २५ प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ।

‘घरजग्गा बजार शिथिल भएको केही वर्ष भयो। त्यसैले हामीले सस्तो मूल्यका प्रोपर्टी ल्याएका छौं। त्यसमा पनि ग्राहकले २५ प्रतिशतसम्म छुट पाउनेछन्,’ उनले भने।