काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी)ले बेलायतमा ‘नेपाल टेक रोडशो यूके २०२६’ आयोजना गरेको छ।
लन्डनको र्याडिसन ब्लु होटल, लन्डन हिथ्रोमा आयोजित कार्यक्रममा नेपालको प्रविधि क्षमता र दक्ष जनशक्तिबारे जानकारी दिइएको थियो।
नेपालको प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले रोडशो आयोजना गरिएको नास आईटीले जनाएको छ। कार्यक्रममा नेपाली प्रविधि कम्पनीहरूले आफ्ना सेवा, उत्पादन र अन्तर्राष्ट्रिय अनुभव प्रस्तुत गरेका थिए।
नेपाली कम्पनीहरूले साइबर सुरक्षा, आईटी सेवा तथा बीपीओ, वेब तथा एप्लिकेसन विकास, क्लाउड, डेटा इन्जिनियरिङ र प्रविधि विकासका क्षेत्रमा काम गरिरहेको जानकारी दिएका थिए। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा भइरहेको कामबारे पनि प्रस्तुति दिइएको थियो।
कार्यक्रममा नास आईटीका उपाध्यक्ष विभूषण बिष्टले नेपालको आईसीटी इकोसिस्टमबारे प्रस्तुति दिएका थिए। उनले नेपालको दक्ष जनशक्ति र नेपाली प्रविधि कम्पनीहरूको क्षमताबारे जानकारी गराए।
नेपाल र बेलायतबीच प्रविधि, व्यापार र लगानीमा सहकार्य विस्तारका विषयमा पनि छलफल भएको थियो। बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले यस विषयमा धारणा राखेका थिए।
बेलायती दूतावास काठमाडौंका व्यापार तथा लगानी प्रमुख अनुप श्रेष्ठ र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष विराज भट्टले पनि सहकार्यका सम्भावनाबारे बोलेका थिए।
कार्यक्रममा नेपाली प्रविधि कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा हासिल गरेको अनुभवसमेत सेयर गरेका थिए। बेलायतमा मुख्य कार्यालय रहेको जेनेस सोलुसनका सीईओ अञ्जनी कुमार फुयाँलले क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, एआई र डिजिटल रूपान्तरणका क्षेत्रमा कम्पनीको अनुभव प्रस्तुत गरेका थिए।
सिम्प्लिफाइड सोलुसनका सीटीओ सुरज ज्ञवालीले पेमेन्ट, फिनटेक, साइबर सुरक्षा र क्लाउड आधुनिकीकरणबारे प्रस्तुति दिएका थिए। उनले डिजिटल रूपान्तरणका क्षेत्रमा अन्तर्राष्ट्रिय बजारमा काम गर्दाको अनुभव पनि साटेका गरेका थिए।