काठमाडौं। नेपाली महिला भलिबल टोलीले बुधबार जापानसँग प्रतिस्पर्धा गर्दैछ। जापानको आइची नागोयामा जारी एसियन गेम्समा नेपाली भलिबल टोलीले घरेलु टोलीलाई चुनौती दिन लागेको हो।
एसियन गेम्सको औपचारिक उद्घाटन नहुँदै नेपाली भलिबल टोलीले आफ्नो खेल खेल्नेछ। उद्घाटन भने सेप्टेम्बर १९ मा हुनेछ।
कोमाकीस्थित पार्क एरेनामा नेपाली समय अनुसार अपराह्न ४:०५ (जापान समय ७:२०) मा यो खेल सुरु हुनेछ। जापान महिला भलिबलको विश्ववरीयतामा नवौँ स्थानको टोली हो। यो वरीयतामा नेपाल ६९ औँ स्थानमा छ।
नेपाल आफूभन्दा ६० स्थानमाथिको टोलीसँग भिड्नेछ। एसियामा त जापान शीर्षस्थानको टोली हो।
नेपालले दोस्रो खेलमा इन्डोनेसियासँग खेल्नेछ। इन्डोनेसिया विश्ववरीयतामा ५३ औँ स्थानको टोली हो।