BIZMANDU
www.bizmandu.com

बैंकिङ प्रणालीमा १६ खर्ब तरलता तैपनि ब्याजदर अब नघट्ने, बैंकर भन्छन्- ‘स्पेस नै छैन’

२०८३ भदौ ३१

बैंकिङ प्रणालीमा १६ खर्ब तरलता तैपनि ब्याजदर अब नघट्ने, बैंकर भन्छन्- ‘स्पेस नै छैन’
बैंकिङ प्रणालीमा १६ खर्ब तरलता तैपनि ब्याजदर अब नघट्ने, बैंकर भन्छन्- ‘स्पेस नै छैन’


काठमाडौं। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढिरहे पनि ब्याजदर अब नघट्ने भएको छ। निक्षेपको ब्याजदर तीन वर्षयता घटाउँदै आएका कारण लागत कम गर्ने स्पेस नरहेको भन्दै बैंकरहरुले अब घटाउने ठाउँ नरहेको बताएका छन्।

Vigo
GBIME
Tata

उनीहरुका अनुसार निक्षेपको औसत दर नै करिडोरको तल्लो सीमा नजिक झरेकाले ब्याजदर घटाउन सक्ने स्थिति छैन। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनाल लागत थप घटाउने ठाँउ नभएकाले कर्जा अझै सस्तिने अवस्था नरहेको बताउँछन्।

‘हामी थप लागत घटाउन सक्ने स्थितिमा छैनौं। निक्षेपको औसत दर नै ब्याजदर करिडोरको तल्लो सीमा नजिक झरेको छ,’ उनले भने, ‘त्यसकारण निक्षेपको ब्याजदर घटाएर लागत कम हुने अवस्था छैन। जसले गर्दा बेसरेट घट्दैन। बेसरेट कम नहुनु भनेको कर्जाको ब्याजदर अब तल आउँदैन भन्ने हो।’

राष्ट्र बैंकले फ्लोर रेट थपघट नगरेसम्म निक्षेप र कर्जा दुवैको ब्याजदर थप घट्ने अवस्था नरहेको खनालको भनाई छ।

हाल कर्जाको औसत ब्याजदर ६.५५ प्रतिशत छ। बैंकहरुको औसत बेसरेट साढे ४ प्रतिशत छ। बैंकहरुले बेसरेटमा न्यूनतम ०.२५ प्रतिशत प्रिमियम जोडेर कर्जा दिइरहेका छन्। बैंकहरुले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र गाडी कर्जाका स्किम चलाइरहेका छन्।

न्यून ब्याजदरका स्किमले घर र गाडी कर्जा बढिरहे पनि अन्य क्षेत्रमा माग अझै कमजोर छ। कर्जाको माग बढ्न नसकेका कारण बैंकहरुले निरन्तर घटाएका कारण बचतको औसत ब्याजदर २.८२ प्रतिशतमा झरिसकेको छ।

२०७९ माघमा बचतको औसत ब्याजदर ६.९२ प्रतिशत थियो। त्यतिबेला कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत थियो।

राष्ट्र बैंकले पनि अब ब्याजदर घटाउने ठाउँ देखेको छैन। ‘कर्जा प्रवाह सुस्त भएपछि बैंकहरुले केही वर्षयता निरन्तर घटाउँदै आएको ब्याजदरका कारण लागत कम भई कर्जा सस्तिरहेको थियो। अब लागत घटाउने ठाउँ छैन,’ राष्ट्र बैंकका एक अधिकृतले भने, ‘लागत घटाउने स्थिति नभएपछि कर्जाको ब्याजदर अब तल आउँदैन। बचत र मुद्दतीमा निक्षेपकर्तालाई २.७५ प्रतिशत भन्दा कम ब्याज दिँदा त्यो बैंकले आफूसँग बढी भएको पैसा राष्ट्र बैंकमा राखेर ब्याज आम्दानी गर्ने अवसर गुम्ने हुन्छ।’

करिडोरको सिलिङ रेट ५.७५ प्रतिशत छ भने तल्लो विन्दु अर्थात फ्लोर रेट २.७५ प्रतिशत छ। नीतिगत दर ४.२५ प्रतिशत कायम छ।

बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट सापटी लिंदा ५.७५ प्रतिशत ब्याज तिर्नुपर्छ भने आफूसँग बढी भएको पैसा राष्ट्र बैंकमा राख्दा २.७५ प्रतिशत ब्याज पाउँछन्। बैंकले निक्षेपको ब्याजदर २.७५ प्रतिशतभन्दा तल झारे आफूसँग भएको अधिक तरलता राष्ट्र बैंकमा पार्क गर्न पाउँदैनन्।

त्यही कारण फ्लोर रेट कायम गर्दा बैंकहरुले लागत थप घटाउन सक्दैनन्।

हाल बैंकिङ प्रणालीमा झन्डै १६ खर्ब तरलता छ। बैंकहरुको कूल फण्डमा सबैभन्दा ठूलो हिस्सा बचतको छ। असार मसान्तसम्म बैंकिङ प्रणालीमा कुल ८२ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेकामा बचतको हिस्सा ४७, मुद्दतीको ३५.३, अन्यको ९.५ र चल्तीको हिस्सा ८.१ प्रतिशत छ।