BIZMANDU
www.bizmandu.com

साम अल्टम्यान भन्छन्- एआई सुरक्षाप्रतिको चिन्ता जायज हो, तर कम्पनीहरूमाथि विश्वास गर्नुपर्छ

२०८३ भदौ ३१

साम अल्टम्यान भन्छन्- एआई सुरक्षाप्रतिको चिन्ता जायज हो, तर कम्पनीहरूमाथि विश्वास गर्नुपर्छ
साम अल्टम्यान भन्छन्- एआई सुरक्षाप्रतिको चिन्ता जायज हो, तर कम्पनीहरूमाथि विश्वास गर्नुपर्छ


एआई विकाससँगै जोखिमबारे सार्वजनिक चिन्ता बढिरहेका बेला ओपनएआईका प्रमुख साम अल्टम्यानले आफ्नो कम्पनीसहित एआई उद्योगले सुरक्षित रूपमा काम गर्ने विश्वास गर्न आग्रह गरेका छन्।

Vigo
GBIME
Tata

उनले एआईका क्षमताहरू तीव्र रूपमा बढेकाले मानिसहरू यसको सम्भावित जोखिमबारे डराउनु स्वाभाविक भएको बताएका छन्।

अल्टम्यानले मंगलबार सान फ्रान्सिस्कोमा आयोजित सेल्सफोर्सको वार्षिक सम्मेलनमा यस्तो धारणा राखेका हुन्। उनका अनुसार एआईबाट समस्या निम्तिन सक्ने सम्भावना कल्पना गर्न अहिले पहिलेभन्दा कम समय लाग्ने अवस्था आएको छ।

उनको भनाइ एन्थ्रोपिकका एक पूर्वअनुसन्धानकर्ताले एआई अनियन्त्रित रूपमा अघि बढे मानव जातिका लागि गम्भीर जोखिम हुन सक्ने दाबी गरेपछि आएको हो। उक्त दाबीपछि केही एआई विज्ञ र उद्योगीले समर्थन जनाए भने एआई विकासको गति घटाउनुपर्ने र नियमन आवश्यक रहेको आवाज पनि उठेको छ।

एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई विकासको गति केही सुस्त बनाउनुपर्ने धारणा राखेका छन्। उनले सरकारलाई उद्योग नियमन गर्न आग्रह गर्दै एआई सुरक्षाका लागि थप मापदण्ड र जाँच आवश्यक रहेको बताएका छन्।

अल्टम्यानले भने एआई कम्पनीहरूले आफैंले प्रभावकारी रूपमा सुरक्षा व्यवस्थापन गर्न सक्ने बताएका छन्। उनले एआईका क्षमता बढाउनुभन्दा सुरक्षा र ‘अलाइनमेन्ट’लाई अगाडि राख्ने तथा त्यसो गर्न नसकिए विकास रोक्ने वा गति घटाउने बताएका छन्।

मेटाका प्रमुख मार्क जकरबर्गले पनि एआई कम्पनीहरूसँग सुरक्षित प्रविधि विकास गर्ने क्षमता र प्रोत्साहन दुवै रहेको बताएका छन्। उनका अनुसार एआई प्रणालीबाट क्षति भए कम्पनीहरूले कानुनी तथा व्यावसायिक जिम्मेवारी बेहोर्नुपर्ने भएकाले सुरक्षामा ध्यान दिनुपर्ने दबाब रहन्छ।

एनभिडियाका प्रमुख जेन्सेन ह्वाङले पनि एआईका नयाँ संस्करण सार्वजनिक गर्ने निर्णय उद्योगकै जिम्मेवारी हुनुपर्ने बताएका छन्। उनले नयाँ कानुन वा बाह्य नियमन आवश्यक नरहेको धारणा राख्दै एआईको गति र सुरक्षाबीच अनिवार्य रूपमा विरोधाभास नरहेको बताए।

तर, उद्योगभित्रै एआई कम्पनीलाई पूर्ण रूपमा स्वनियमनमा छाड्ने प्रस्तावप्रति प्रश्न उठेको छ। एन्थ्रोपिकका सहसंस्थापक ज्याक क्लार्कले एआईलाई पूर्ण रूपमा अनियन्त्रित उद्योग बनाउनु ठूलो जोखिमसँग जुवा खेल्नुसरह हुने बताएका छन्।

यसबीच, ओपनएआई र एन्थ्रोपिकले एआई सुरक्षाका लागि उद्योगव्यापी सहमति बनाउने प्रयास थालेका छन्। एन्थ्रोपिकका अमोडेईले उद्योगका अन्य कम्पनीसँग सुरक्षित मापदण्ड र एआई प्रणालीको जाँचसम्बन्धी विषयमा संवाद भइरहेको बताएका छन्।

ओपनएआईका कार्यकारी क्रिस लेहानेले पनि विभिन्न एआई प्रयोगशालासँग मिलेर अग्रणी एआईका लागि स्वैच्छिक सुरक्षा मापदण्ड बनाउन काम भइरहेको बताएका छन्। यस प्रयासमा एन्थ्रोपिक र गुगल डीपमाइन्ड लगायतका कम्पनी सहभागी रहेको उनले बताएका छन्।