BIZMANDU
www.bizmandu.com

कृष्णभीरमा बाटो बनेपछि घट्यो ग्यास लिने लाइन, बुलेट काठमाडौं ल्याइँदै, सबैले कति समयमा पाउँछन्?

२०८३ भदौ ३०

कृष्णभीरमा बाटो बनेपछि घट्यो ग्यास लिने लाइन, बुलेट काठमाडौं ल्याइँदै, सबैले कति समयमा पाउँछन्?
कृष्णभीरमा बाटो बनेपछि घट्यो ग्यास लिने लाइन, बुलेट काठमाडौं ल्याइँदै, सबैले कति समयमा पाउँछन्?


काठमाडौं। कृष्णभीरमा निर्माण भएको नयाँ ट्रयाकमा मंगलबार रातिदेखि ग्याससहितको बुलेट चल्न दिइने भएको छ। ग्यास बोटलिङ प्लान्टले त्यहाँ बुलेट लगिरहेका छन्।

Vigo
GBIME
Tata

‘हामीलाई ग्यास लोड भएको बुलेट ल्याउन भनेपछि त्यहाँ पुर्‍याउँदैछौं,’ सगरमाथा ग्यास कम्पनीका अध्यक्ष एवं ग्यास उद्योग संघका पूर्वअध्यक्ष सावरमल अग्रवालले बिजमाण्डूसँग भने, ‘त्यहाँबाट बुलेट पास भयो भने अभाव हट्न धेरै समय लाग्दैन।’

उनका अनुसार कम्पनीका चार वटा बुलेट कृष्णभीरबाट ल्याउने गरी पुर्‍याउन खोजिएको छ। ‘जुन हिसाबले अगस्टमा इन्डियन आयल कर्पोरेसनले ग्यास दिएको थियो, त्यही हिसाबले लोड हुने र कृष्णभीरबाट बुलेट पास हुने हो भने १५ दिनपछि मैले कहाँ ग्यास बेच्ने भन्ने अवस्था आउँछ,’ उनले भने, ‘कृष्णभीरको समस्या नआएको भए त्यही बेलामा समस्या समाधान भइसक्थ्यो।’

सगरमाथा कम्पनीले सगर ब्राण्डमा ग्यास बिक्री गर्छ। काठमाडौं उपत्यका लगायत वरपर सगर ग्यास मासिक १ लाख ४० हजार सिलिण्डर बिक्री हुन्छ। नेपाल ग्यासपछि सबैभन्दा बढी बिक्री हुने सगर हो।

कृष्णभीरको सडक भदौ १४ गते भत्किएपछि उद्योगीले नेपाल आयल निगमको समन्वयमा तराईका बोटलिङ प्लान्टमा ग्यास भरेर कान्ति र त्रिभुवन राजपथबाट काठमाडौंमा आपूर्ति गर्दै आएका छन्। केही दिनअघि चर्को अभाव रहेकामा ग्यासका लागि लाइन लाग्ने क्रम विस्तारै कम हुन थालेको छ।

नेपाल ग्यासका प्रबन्ध निर्देशक एवं संघका पूर्वअध्यक्ष गोकुल भण्डारी ग्यास अभाव कम गर्न कृष्णभीरबाट बुलेट ल्याउने र तराईका जिल्लामा भरेर काठमाडौंमा सिलिण्डर आपूर्ति दुबैलाई निरन्तरता दिने रणनीति आवश्यक रहेको बताउँछन्।

‘अभाव हटेको छैन। अब चाडपर्व र जाडो समेत सुरु हुने भएकाले हामीले दुबैतिरबाट आपूर्तिलाई निरन्तरता दिन आवश्यक छ,’ उनले भने, ‘एकपटक अभाव हटेपछि उपभोक्तामा पनि त्रास हट्छ। अनावश्यक स्टक राख्ने काम पनि बन्द हुन्छ।’

भण्डारीका अनुसार हेटौंडाको बाटोबाट ग्यास ल्याउँदा बढेको मूल्यलाई एडजस्ट गरेर बिक्री गर्न सकिन्छ। ‘तराई र काठमाडौंको पीडीओ मूल्यका आधारमा एडजस्ट गरेर निगमले तोकेकै मूल्य कायम गर्न सकिन्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा उपभोक्तामा रहेको त्रास हटाउन सकियो भने ग्यास अभाव हट्न समय लाग्दैन।’

भण्डारीले अगस्ट महिनामा आएको ग्यासका आधारमा पनि उपभोक्ताले धेरै सिलिण्डर राखेर चर्को अभाव ब्यहोर्नुपरेको हो। ‘अगस्टमा ६० हजार टन ग्यास आएको छ। हाम्रो माग ५० हजार टन मात्रै हो,’ उनले भने, ‘एक महिनालाई ग्यास पुग्ने थाहा हुँदाहुँदै पनि धेरै उपभोक्ताले स्टकमा भएको सिलिण्डर बाहिर ल्याउँदा अभाव चर्किएको हो।’

भण्डारीका अनुसार कृष्णभीर खुल्ने भन्नेबित्तिकै उपभोक्ताको चाप घट्न थालेको छ।

संघका अध्यक्ष दिवान चन्द भारतबाट अवरोध नभएमा आपूर्ति व्यवस्थापन गर्न बढीमा एक महिना मात्रै लाग्ने बताउँछन्। ‘बरौनी, मथुरा र पारादीपको रिफाइनरीबाट पहिलाजस्तै सहजै ग्यास आउने हो भने कृष्णभीरको सडक खुलेपछि समस्या समाधान गर्न कुनै समस्या हुँदैन,’ उनले भने, ‘अहिले नै अभाव कम हुँदै गइरहेको देखिरहेका छौं।’

सीता ग्यासका संचालक सीताराम तिमिल्सिना ग्यास खोज्नेहरुको संख्या विस्तारै कम हुन थालेको बताउँछन्। ‘दुई दिन अघिसम्म हामीले दुई वटा डिपोबाट उपभोक्तालाई सिधै ग्यास बेच्थ्यौं। त्यहाँ ६०० जनाको लाइन हुन्थ्यो। अहिले घटेर तीन सयको हाराहारीमा छ,’ उनले भने, ‘कृष्णभीरको बाटो खुल्ने भनेपछि उपभोक्ता ढुक्क भएका हुन सक्छन्। बाटो बन्द भएपछि प्यानिक सेल भएको हो।’

काठमाडौंमा सीता ग्यास मासिक ६० हजार सिलिण्डर बिक्री हुन्छ।

काठमाडौंमा सुगम र एभरेष्ट गरेर मासिक १ लाख ६० हजार सिलिण्डर बिक्री गर्ने एसजी ग्रुपका महेश्वर घिमिरे अहिलेकै जसरी ग्यास आएमा १५ दिनभित्र अभाव हट्ने जिकिर गर्छन्।

‘अरु कुनै अवरोध नभएमा असोज १५ गतेसम्म अभाव हट्छ भन्ने देखिन्छ। अहिले पनि भक्तपुरमा धेरै समस्या देखिन्छ। हामीले बुधबार त्यहाँ बढी पठाएर समस्या समाधान गर्न खोज्दैछौं,’ उनले भने, ‘हामीले कीर्तिपुरमा पनि त्यही रणनीति प्रयोग गरेर अभाव हटाएका थियौं।’

सबैभन्दा कम अभाव सुनिएको ओम ग्यासले पनि केही दिनभित्रै अभाव हट्ने जिकिर गरेको छ। ‘हामीले डिलरलाई आवश्यक मात्रामा ग्यास दिएका थियौं। नयाँ डिलर र नयाँ सिलिण्डर बेच्दै बेचेनौं। हामीले आफ्नो प्रणाली पनि राम्रो बनाएका थियौं,’ ओम ग्यासका अध्यक्ष एवं ग्यास उद्योग संघका संस्थापक अध्यक्ष हरि पाठकले भने, ‘हाम्रा डिलरदेखि उपभोक्तासम्मको सहयोगले होला धेरै समस्या भएन।’

यो कम्पनीले सामाखुशी, टोखा, महाराजगंज, चाबहिल, जोरपाटी लगायत क्षेत्रमा मासिक ५० हजार सिलिण्डर ग्यास बिक्री गर्दै आएको छ।