काठमाडौं। संघीय संसद्लाई ‘डिजिटल संसद्’का रूपमा विकास गरिने भएको छ। संसदीय गतिविधिलाई प्रविधिमैत्री बनाउन मोबाइल एप्लिकेसन तथा टुल्सहरुको प्रयोगलाई बढाइने भएको हो।
संघीय संसद्को वेबसाइटमार्फत हाल सूचना तथा विवरणहरूलाई सार्वजनिक गर्ने गरिएकोमा त्यसलाई अझ प्रभावकारी बनाउन लागिएको संसद् सचिवालयले बताएको छ।
सभाका बैठक तथा समितिहरूलाई प्रविधिमैत्री बनाउन सांसदका केही व्यक्तिगत विवरण तथा हरेक दिनको उपस्थिति लगायतको जानकारी सर्वसाधारणले डिजिटल रूपमा हेर्न पाउनेछन्। बुधबार त्यसको परीक्षण गरिंदैछ।
‘संसद्ले गरेका काम आम नागरिकसम्म पुर्याउने र संसद्को काम कारबाहीलाई पनि प्रविधिमा आधारित बनाउने भन्ने हो। भोलि परीक्षणको रूपमा केही एप्लिकेसन अथवा टुल्सहरू आउँछन्। त्यसपछि क्रमशः त्यसमा विकास गर्दै अगाडि लैजाने भन्ने सचिवालयको रणनीति छ,’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने।
मंगलबारको कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि डिजिटल पार्लियामेन्टबारे छलफल भएको थियो। तर, डिजिटल पार्लियामेन्ट अन्तर्गत विभिन्न देशहरूमा हाल अभ्यासमा रहेको भर्चुअल संसद् बैठक भने सञ्चालन हुने छैन। नेपालमा तत्काल भर्चुअल बैठक राख्न सम्भव नभएको सचिवालयले बताएको छ।
सभा र समितिको बैठक सञ्चालनको दौरान आन्तरिक सञ्चार गर्नका लागि पनि नयाँ एप्लिकेसनको प्रयोग गर्ने तयारी छ। सभामा आकस्मिक, शून्य र विशेष समयमा बोल्नका लागि नाम टिपाउने, आफ्नो बोल्ने पालो कुन बेला आउँछ भनेर हेर्न मिल्न व्यवस्था गर्न लागिएको हो।
‘त्यहीँबाट नै शून्य समय, आकस्मिक समय आदिमा आफ्नो बोल्ने/नबोल्ने इन्ट्री गर्नेलगायतका विविध पक्षहरूमा काम हुन्छ,’ उनले भने।
डिजिटल पार्लियामेन्टको अभ्यास गर्न थालिएको भए पनि अझै संसद् तत्काल पेपरलेस भने हुने छैन। तर, सचिवालयले बिस्तारै कागजको प्रयोगलाई घटाउँदै लैजाने बताएको छ। विधेयक सम्बन्धी सूचना तथा अध्ययनलाई पनि डिजिटल पार्लियामेन्टले सहयोग गर्न सचिवालयले बताएको छ।