काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ आफ्नो अभिव्यक्तिलाई लिएर प्रश्न उठेपछि संसद्मा प्रष्टीकरण दिएका छन्।
उनले प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले ‘ओल्ड ब्यागेज’ भन्ने अभिव्यक्ति नेपालको इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजहरूको संरक्षणप्रति लक्षित नभएको स्पष्ट पारे।
खनालले गत जेठ अन्तिम साता भारत भ्रमणका क्रममा द्विपक्षीय वार्ताका क्रममा ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ अभिव्यक्ति दिएपछि यसबारे कांग्रेस सांसद सीता थपलियाले जवाफ मागेकी थिइन्।
मन्त्री खनालले आफ्नो अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट मुक्त हुनु रहेको प्रष्ट पारे।
उनले भारतको औपचारिक भ्रमणका क्रममा आफूले व्यक्त गरेको ‘ओल्ड ब्यागेज’ सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आवश्यक रहेको बताए।
‘ब्यागेज शब्दले स्वाभाविक रूपमा नकारात्मक बोझ वा विगतका अवरोधलाई जनाउँछ। मेरो भनाइको सन्दर्भ र तात्पर्य विगतमा देखिने गरेको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट मुक्त हुनु हो,’ उनले भने, ‘तर यो अभिव्यक्तिको राज्य र सरकार निरन्तर उत्तराधिकारवाला संस्था हो भन्ने स्थापित राजनीतिक मान्यता एवं राज्यको विरासतविपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुन जान्छ। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न सरकार दृढ छ भन्ने स्पष्ट सन्देश दिन खोजेको व्यहोरा अनुरोध गर्न चाहन्छु।’