काठमाडौं। नेपाली कांग्रेस अन्तत: विभाजनको बाटोमा गएको छ।
पूर्वसभापति शेरबहादुर देउवाले असोज तेस्रो साता संस्थापन पक्षले गर्न लागेको १५औं महाधिवेशनमा सहभागी नहुन नेता तथा कार्यकर्तालाई सार्वजनिकरुपमा अपिल गरेका छन्।
उनले मंगलबार ७ बुँदे अपिल जारी गर्दै असोज १६ देखि १९ गतेसम्मका लागि तय १५औं महाधिवेशनमा सहभागी नहुन र आफ्नो समूहले मंसिरमा गर्न लागेको महाधिवेशनमा सहभागी हुन आग्रह गरेका हुन्।
उनले गत पुस मसान्तमा भएको विशेष महाधिवेशनलाई अवैधानिक भन्दै सभापति गगन थापामाथि पार्टीलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन्।
‘कथित विषेश महाधिवेशन पक्षधरहरूले विगतको परम्पराबाट पाठ सिक्न नसकेको मात्र होइन, बरू पार्टीभित्र सहमति हुन सक्ने प्रयाप्त सम्भावना हुँदा हुँदै सहमतिको अवसरलाई लत्याएर बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना कथित महाधिवेशनमा अघि बढ्नु नेपाली कांग्रेसलाई कमजोर बनाउने गतिविधि हो भन्ने मेरो स्पष्ट बुझाइ छ,’ उनले भनेका छन्, ‘त्यसैले यस अपिलमार्फत अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तामा हार्दिक अनुरोध गर्दछु।’
देउवाले आफूलाई अब पदको लालसा नरहेको तर १४औं महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औं महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो नैतिक दायित्व र कर्तव्य भएको उल्लेख गरेका छन्।
‘कथित विषेश महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरी अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मुकदर्शक भएर बस्न सक्ने छैन,’ उनले भनेका छन्, ‘तसर्थ नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्दै एकताबद्ध रूपमा आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको विश्वास दिलाउन चाहन्छु।’
