BIZMANDU
www.bizmandu.com

स्वर्णिमको कार्ययोजनाले सेयर बजारमा हरियाली, नेप्सेले हाफ सेन्चुरी हान्दा दुई महिनायताकै उच्च कारोबार

२०८३ भदौ ३०

स्वर्णिमको कार्ययोजनाले सेयर बजारमा हरियाली, नेप्सेले हाफ सेन्चुरी हान्दा दुई महिनायताकै उच्च कारोबार
स्वर्णिमको कार्ययोजनाले सेयर बजारमा हरियाली, नेप्सेले हाफ सेन्चुरी हान्दा दुई महिनायताकै उच्च कारोबार


काठमाडौं। सेयर बजार सुधारका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याएको २१ बुँदे कार्ययोजनाको प्रभाव नेप्सेमा देखिएको छ।

Vigo
GBIME
Tata

अर्थमन्त्री वाग्लेले ल्याएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको सकारात्मक प्रभाव मंगलबार नेप्सेमा देखिएको हो।

नेप्से परिसूचक मंगलबार ४८.५७ अंक बढेर २६३३.६२ विन्दुमा पुगेको छ। कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्।

निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै २.८५ प्रतिशतले उकालो लागेको छ। यस्तै, जीवन बीमाको २.६० र लगानी उपसमूहको सूचक २.५२ प्रतिशतले बढेको छ।

बजारमा २६५ कम्पनीको मूल्य बढेको छ। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

सूचकसँगै सेयर किनबेचमा सुधार आएको छ। पछिल्लो समय सेयर कारोबार दैनिक ४ अर्ब रुपैयाँभन्दा कममा सीमित भएकामा मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा दुई महिनायताकै सर्वाधिक मूल्यको सेयर कारोबार भएको हो। यसअघि असार ३० गते ८ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै ३२ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, शिवम् सिमेन्टको ३१ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले ल्याएको कार्ययोजनाको प्रभाव बजारमा देखिएको बताए। ‘आजको कारोबार हेर्दा बजार सस्टेन हुने देखिन्छ। करको समस्या थियो, त्यो पनि समाधान भएको छ,’ उनले भने, ‘कम्पनीहरुमा पनि मुभमेन्ट देखिन थालेको छ।’

नेप्सेले हाफ सेन्चुरी हानेको दिन १२ कम्पनीको सेयर मूल्य घटेको छ।

नयाँ सरकार बनेयता सेयर बजार ३७६ अंकले घटेको अवस्थामा अर्थमन्त्री वाग्लेले सोमबार पुँजीगत लाभकर ५० प्रतिशत घटाउने गरी २१ बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए।

वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत १ वर्षभन्दा कम अवधि होल्ड गरेको सेयर कारोबारबाट नाफा आर्जन गर्दा लाग्ने करलाई ७.५ प्रतिशतबाट साढे दुई प्रतिशत विन्दुले बढाएर १० प्रतिशत पुर्‍याएका थिए।

साउनदेखि पुँजीगत लाभकरको यो दर कार्यान्वयनमा आएकामा अब ५ प्रतिशत बनाउने भनिएको छ। यस्तै १ वर्षभन्दा बढी अवधि होल्डपछिको सेयर कारोबारबापत आर्जन गरेको नाफामा अब ३.७५ प्रतिशत मात्रै कर तिर्नुपर्ने छ।

सेयर बजार पुनरुत्थान योजनामा लगानीकर्ताले नोक्सानी भएमा समायोजन गर्न सक्ने व्यवस्था गर्ने भनिएको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाका लागि लगानीको सीमा ४५ दिन कायम गर्ने घोषणा गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुलाई अहिले यस्तो सीमा ६ महिना छ। कार्ययोजनामा कम्पनीहरुलाई सेयरमा बाइब्याकको व्यवस्था गर्ने भनिएको छ।