काठमाडौं । वरिष्ठ कार्डियोलोजिस्ट डा स्मृति शाक्यले विश्वमा उपलब्ध अत्याधुनिक उपचार प्रविधि अब नेपालमै पनि सम्भव छ भन्ने सन्देश आम नागरिकसम्म पुर्याउनु आवश्यक रहेको बताएकी छन्। इजरायलबाट भर्खरै स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन सम्बन्धी फेलोसिप पूरा गरी नेपाल फर्किएकी उनले यस्तो बताएकी हुन्।
करिब ७ वर्षदेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा इन्टरभेन्सनल कार्डियोलोजिस्टका रूपमा कार्यरत उनले विश्वमा उपलब्ध अत्याधुनिक उपचार प्रविधिबाट मुटुरोगीहरुका लागि नेपालमै उपचार गर्न सक्ने दक्ष जनशक्ति भएको भन्दै त्यसका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण, प्रविधि र अन्य आवश्यक स्रोतसाधनको उचित व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गरेकी हुन्।
‘इजरायलबाट भर्खरै स्ट्रक्चरल हार्ट इन्टरभेन्सनल सम्बन्धी आधुनिक प्रविधिमा फेलोसिप पूरा गरी नेपाल फर्किएकी छु,’ उनले भने, ‘अहिले म मनमोहन सेन्टरमा कार्यरत भएकाले, यहाँ यस्तो अत्याधुनिक उपचार सेवा संचालन गर्न आवश्यक तयारी र व्यवस्थापनका लागि आफ्नो तर्फबाट पहल गर्नेछु।’
उनले स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन भनेको मुटुको ठूलो शल्यक्रिया नगरी मुटुका भल्भ वा संरचनागत समस्याको उपचार गर्ने आधुनिक विधि भएको भन्दै अब यस्तो उपचार आवश्यक पर्ने बिरामीहरू मनमोहन सेन्टरमा आएको अवस्थामा र यस उपचारको आवश्यकता तथा उपयुक्तता देखिएको अवस्थामा विश्वस्तरीय उपचार नेपालमै उपलब्ध गराउने प्रयासमा निरन्तर लाग्ने जानकारी दिइन्।
‘मेरो चाहना भनेको नेपाली बिरामीले अत्याधुनिक उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम होस् र विश्वमा उपलब्ध नयाँ प्रविधिको लाभ नेपालमै बसेर लिन सकून भन्ने हो। त्यसैले अब यस्तो उपचारका लागि भने विदेश जानु पर्ने बाध्यताको अवश्य पनि अन्त्य हुनेछ,’ उनले भनिन्, ‘कार्डियोलोजीको क्षेत्रमा पछिल्ला केही वर्षमा स्ट्रक्चरल कार्डियाक डिजिज तथा स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सनमा अत्याधुनिक प्रविधि र उपचार विधिको तीव्र विकास भइरहेको छ।’
विशेषगरी ट्रान्सक्याथेटर एओर्टिक भल्भ इम्प्लान्टेसन (टाभी) लगायतका उपचार प्रविधिले हृदयसम्बन्धी केही जटिल रोगको उपचारमा नयाँ सम्भावना सिर्जना गरेको उनले बताइन्। त्यसैले यी अत्याधुनिक प्रविधि र उपचार पद्धतिबारे थप विशेषज्ञ ज्ञान तथा व्यावहारिक सीप हासिल गर्ने उद्देश्यले विश्वस्तरमै प्रतिष्ठित र अत्याधुनिक चिकित्सा प्रविधिका लागि परिचित शेबा मेडिकल सेन्टरबाट टाभी–ट्रान्सक्याथेटर एज–टु–एज रिपेयर (टिइइआर) लगायतका अत्याधुनिक कार्डियाक इन्टरभेन्सन प्रविधिबारे थप गहिरो ज्ञान र व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्राप्त गरेको उनले बताइन्।
उमेर ढल्किँदै जाँदा वा अन्य स्वास्थ्य समस्याका कारण मुटुका भल्भहरू साघुरिने वा चुहिने जस्ता जटिलताहरू देखिन सक्ने र धेरैजसो अवस्थामा उमेरका कारण, अन्य जटिल रोगहरू भएकाले, वा बढी जोखिम हुने भएकाले बिरामीहरू मुटुको चीरफार गरेर शल्यक्रिया गर्न सक्ने अवस्थामा नहुँने हुँदा त्यस्ता बिरामीहरूका लागि स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन प्रविधि एकदमै प्रभावकारी र वरदान साबित हुने उल्लेख गरेकी छन्।
‘यस विधिमार्फत छाती नचिरिकन, तिघ्राको नसामार्फत सानो पाइप पठाएर मुटुको बिग्रिएको भल्भ मर्मत गर्न वा नयाँ भल्भ फेर्न सकिन्छ,’ उनले भनिन्, ‘छोटो शब्दमा भन्नुपर्दा- बिनाशल्यक्रिया मुटुको भल्भ तथा संरचनागत समस्याको सफल उपचार गर्ने विधि नै ‘स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन’ हो।’
उनले युद्धको चरम अवस्थामा पनि जोखिम मोलेर अध्ययनका लागि इजरायल पुगेको भन्दै फेलोसिप व्यक्तिगत करियर विकासका लागि मात्र नभई नेपालमा पनि विश्वस्तरका नयाँ प्रविधि र उपचार पद्धति भित्र्याउन, नेपाली बिरामीलाई अत्याधुनिक उपचारको पहुँच दिलाउन र नेपालको कार्डियोलोजी सेवाको स्तरलाई अझ माथि उठाउन लगाउने बताइन्।