BIZMANDU
www.bizmandu.com

सिंहदरबारभित्रै पक्राउ किस्पाङ अध्यक्ष तामाङका अन्य केस पनि भेटिए, तीन वर्षअघि नै अनुसन्धान

२०८३ भदौ ३०

सिंहदरबारभित्रै पक्राउ किस्पाङ अध्यक्ष तामाङका अन्य केस पनि भेटिए, तीन वर्षअघि नै अनुसन्धान
सिंहदरबारभित्रै पक्राउ किस्पाङ अध्यक्ष तामाङका अन्य केस पनि भेटिए, तीन वर्षअघि नै अनुसन्धान


काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङमाथि ठगीदेखि बैंकिङ कसुरसम्म १० वटा केसमा अनुसन्धान भएको भेटिएको छ।

Vigo
GBIME
Tata

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तामाङलाई सोमबार सिंहदरबारबाट पक्राउ गरेको थियो। तामाङको प्रहरी रेकर्ड अभिलेख चेक गर्दा विभिन्न प्रहरी कार्यालयहरूबाट बैंकिङ कसुर तथा ठगी सम्बन्धी मुद्दा रहेको समेत खुल्न आएको छ।

बैंकिङ कसुर ३ करोड ४ लाख रुपैयाँ बिगोसहित जिल्ला प्रहरी परिसर काठमाडौंले गत फागुन ५ मा सरकारी वकिल कार्यायलमा मिसिल पेस गरेको भेटिएको छ। त्यस्तै परिसरबाट नै १ करोड ३ लाख बिगो मागसहित गत मंसीर १७ गते सरकारी वकिल कार्यालयमा मिसिल बुझाएको देखिन्छ।

२०८० पुस ८ गते पनि ४८ लाख रुपैयाँ बिगोसहित बैंकिङ कसुरमा अनुसन्धान गरेर फाइल सरकारी वकिलमा बुझाएको थियो। त्यस्तै त्यसैको भोलिपल्ट पनि ९५ लाख रुपैयाँको बैंकिङ कसुरमा अनुसन्धानको मिसिल बुझाएको प्रहरीले जानकारी दिएको छ।

ठगी कसुरको मुद्दामा २ करोड  ५६ लाखको बिगो मागदाबीसहितको २०८१ भदौ ११ मा सरकारी वकिलमा फाइल पेस गरेको देखिएको छ। भक्तपुरमा पनि उनीविरुद्ध बैंकिङ कसुर आरोपमा मुद्दा रहेको देखिएको छ। ‘हामीले खोज्दा अरु पनि केस देखिए। आज अदालतमा सबै जानकारी दिने छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले भने।

प्रहरी वृत्त जनसेवा, दरबारमार्ग, लैनचौर र महाराजगञ्ज पनि उनीमाथिको बैकिङ कसुरका जाहेरीमाथि अनुसन्धान भएको देखिएको छ।

भोटेकोशी बाढी प्रभावितलाई पुनर्स्थापना गर्ने सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरुसँग सोमबार छलफल गरेका थिए। उक्त छलफलमा सहभागी भएर निस्किने क्रममा किस्पाङ गाउँपालिका अध्यक्ष तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सिंहदरबारबाटै पक्राउ गरेको थियो।