काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनापछि सेयर बजारमा उत्साहजनक सुधारको संकेत देखिएको छ।
नेप्से परिसूचक मंगलबार कारोबार खुलेको केही बेरमै ९४ अंक बढेर २६७९ विन्दुमा पुगेको छ। मन्त्री वाग्लेले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत पुँजीगत लाभकर घटाएका छन्।
१ वर्षभन्दा कम अवधिको होल्डिङ सेयर कारोबार वापत हुने नाफामा ५ प्रतिशतले पुँजीगत लाभकर घटाइएको छ। वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत १ वर्षभन्दा कम अवधि सेयर होल्ड वापतको सेयर कारोबारबाट नाफा आर्जन गर्दा लाग्ने करलाई ७.५ प्रतिशतबाट साढे दुई प्रतिशत विन्दुले बढाएर १० प्रतिशत पुर्याएका थिए।
साउनदेखि पुँजीगत लाभकरको यो दर कार्यान्वयनमा आए पनि दुई महिनामै घटाएर त्यसअघिकोभन्दा साढे दुई प्रतिशत विन्दुले घटाइएको छ।
१ वर्षभन्दा बढी अवधि सेयर होल्डपछिको सेयर कारोबारवापत आर्जन गरेको नाफामा अब ३.५ प्रतिशत मात्रै कर तिर्नुपर्ने बनाइएको छ। यसलाई ४ प्रतिशत विन्दुले घटाएको छ।
सेयर बजार पुनरुत्थान योजनाबाट वाग्लेले लगानीकर्ताले नोक्सानी भएमा समायोजन गर्न सक्ने व्यवस्था गरेको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाका लागि लगानीको सीमा ४५ दिन कायम गर्ने घोषणा गरिएको छ।
कम्पनीहरुलाई सेयरमा बाइब्याकको व्यवस्था गर्ने घोषणा गरिएको छ।