BIZMANDU
www.bizmandu.com

घरजग्गा मेलामा सार्वजनिक-निजी साझेदारीमा एकीकृत आवास विकास गर्ने विषयमा मन्थन गरिने

२०८३ भदौ २९

घरजग्गा मेलामा सार्वजनिक-निजी साझेदारीमा एकीकृत आवास विकास गर्ने विषयमा मन्थन गरिने
घरजग्गा मेलामा सार्वजनिक-निजी साझेदारीमा एकीकृत आवास विकास गर्ने विषयमा मन्थन गरिने


काठमाडौं। असोज १ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने घरजग्गा मेलामा प्यानल छलफल गराइने भएको छ।

Vigo
GBIME
Tata

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्‍बाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधार पुनर्निर्माण गर्नेदेखि जोखिमयुक्त क्षेत्रका बस्तीलाई स्थानान्तरण गर्नेसम्मका विषयमा विज्ञ, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिको उपस्थितिमा प्यानल छलफल गराइने भएको हो।

एक्स्पो संयोजक रोशन भोयध्योका अनुसार सुरुवाती तीन दिनमा निर्माण, भू-उपयोग, विपद् उत्थानशीलता, पुनर्वास र सार्वजनिक-निजी साझेदारीमा आधारित एकीकृत आवास विकासलाई केन्द्रमा राखेर छलफल गरिनेछ।

प्रदर्शनीको पहिलो दिन असोज १ गते दिउँसो २ बजे ‘घर तथा भवन निर्माणमा वास्तुशास्त्रको महत्त्व’ विषयमा विशेष सेमिनार आयोजना हुनेछ। सेमिनारमा वास्तुविज्ञ डा. माधव मङ्गल जोशीले मुख्य प्रस्तुति दिनेछन्।

आधुनिक आवास विकासमा भवनको संरचनात्मक सुरक्षा, स्थान छनोट, वातावरण, प्रकाश तथा हावाको व्यवस्थापनसँग वास्तुशास्त्रको सम्बन्धबारे यस सत्रमा गहन चर्चा गरिनेछ।

दोस्रो दिन असोज २ गते विपद् र पुनर्वाससँग प्रत्यक्ष सम्बन्धित दुई महत्त्वपूर्ण प्राविधिक प्रस्तुति रहनेछन्। ‘उच्च जोखिम क्षेत्रमा विपद् उत्थानशील पूर्वाधार र दिगो निर्माण’ विषयमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव आर्किटेक्ट पद्मकुमार मैनालीले प्रस्तुति दिनेछन्, जसमा विपद्को जोखिम मूल्याङ्कन, संरचनागत सुरक्षा र दिगोपनको विषय समेटिनेछ।

सोही सत्रमा भूमि व्यवस्था मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टले ‘भू-उपयोग वर्गीकरण, सुरक्षित भूमि एवं बस्ती विकास र बाढी पीडितहरूका लागि स्थानान्तरण योजना’का विषयमा प्रस्तुति राख्नेछन्। भट्टको प्रस्तुतिले बाढी प्रभावित परिवारको तत्काल राहतपछिको दीर्घकालीन पुनर्वास, सुरक्षित भूभागको पहिचान तथा नयाँ स्थानमा आवाससँगै सडक, खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य र जीविकोपार्जनका पूर्वाधार कसरी पुर्‍याउने भन्ने विषयलाई उजागर गर्ने आयोजकको भनाइ छ।

यो सत्रको अध्यक्षता नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले गर्नेछन् भने महासंघका वरिष्ठ कानुनी सल्लाहकार डा. गोकुल प्रसाद बुर्लाकोटीले सहजीकरण गर्नेछन् ।

तेस्रो दिन असोज ३ गते विपद्पछिको पुनर्निर्माणमा निजी क्षेत्रको सहभागिता र नीतिगत व्यवस्थामाथि प्यानल छलफल हुनेछ। विपद्पछि ठूलो सङ्ख्यामा संरचना निर्माण गर्दा सरकारी स्रोत मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रको पुँजी, प्रविधि र व्यवस्थापन क्षमता परिचालन गर्नेबारे छलफल केन्द्रित हुनेछ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरको अध्यक्षता र ख्वप इन्जिनियरिङ कलेजकी आर्किटेक्ट प्रमिला शिल्पकारको मोडरेसनमा हुने यो छलफलमा काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त प्रकाश अर्याल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, सोनाका अध्यक्ष आर्किटेक्ट ईश्वरलाल श्रेष्ठ, नेपाल जियोटेक्निकल सोसाइटीका निवर्तमान अध्यक्ष डा. मन्दिप सुवेदी र काठमाडौं इन्स्टिच्युटका बीरेश शाह प्यानलिस्टका रूपमा रहनेछन्।

प्यानलमा निजी क्षेत्रलाई सहभागी गराउँदा लागत, गुणस्तर, लाभग्राही छनोट, भूमि उपलब्धता र दीर्घकालीन व्यवस्थापनलाई पारदर्शी बनाउने विषयमा समेत मन्थन हुनेछ। प्रदर्शनीको अन्तिम दिन असोज ४ गते प्रदर्शकहरूबीच व्यावसायिक अन्तरक्रिया गर्ने तालिका छ।