काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको विपद् सामना गर्नका आर्थिकरुपमा सरकारले जनस्तरबाट अभूतपूर्व साथ पाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डिजिटलरुपमा र चेकमार्फत रकम भएको संख्याका आधारमा लाखौं व्यक्ति र संस्थाले सरकारलाई सहयोग गरेको देखिएको छ। कोषमा डिजिटलरुपमा मात्र ११ लाख ९० हजार पटक सहयोग रकम जम्मा भएको छ।
सरकारले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि सहयोगको आह्वान गरेको १९ दिनमा कोषमा साढे १२ अर्ब रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ। सरकारले आह्वान गरेकै भोलिपल्ट भदौ ११ गते १ अर्ब १६ करोड र १२ गते १ अर्ब २६ करोड सहयोग जुटेको अर्थ मन्त्रालयले जनाएको छ।
देशभित्र र बाहिर रहेका नेपालीले खुलेर सहयोग गरेका छन्। स्कुले बालबालिकासम्मले खाजाको पैसा जोगाएर सरकारलाई दिएका छन्। निजी क्षेत्रले सरकारले नसोचेको परिमाणमा सहयोग गरेको छ। सरकारले अमेरिकी प्रविधि कम्पनी एनभिडियाको समेत साथ पाएको छ।
जबकि एक वर्षअघि जेनजी आन्दोलनमा मुलुकको मुख्य प्रशासनिक थलो सिंहदरबारदेखि सर्वोच्च अदालत र राष्ट्रपति कार्यालय जल्दा समेत चुनावी सरकारलाई धेरैले पत्याएका थिएनन्।
त्यतिखेर तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल र पूर्वाधारमन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर डायस्पोरामा रहेका नेपालीलाई समेत सहयोगको आग्रह गरेकामा सरकारी कोषमा केही करोड मात्र जम्मा भएको थियो। तर, बाढीले निम्त्याएको विपद्मा अहिले घरघरबाट सहयोग जुटिरहेको छ।
डिजिटल बैंकिङले ल्याएको बहार
पछिल्ला वर्षमा नेपालमा बैंकिङ तथा डिजिटल वित्तीय पहुँच विस्तार ह्वात्तै बढेको छ। ठूलो संख्याका नागरिकमा बैंक खाता, मोबाइल बैंकिङ र डिजिटल भुक्तानीको पहुँच पुगेको छ।
यसपटक सहयोगको महत्वपूर्ण आधार डिजिटल भुक्तानी प्रणाली देखिएको छ। केही वर्षअघिसम्म विपद्का बेला सहयोग गर्न बैंकमा पुगेर रकम जम्मा गर्नुपर्ने, चेक काट्नुपर्ने वा संकलन केन्द्र खोज्नुपर्ने अवस्था थियो। अहिले मोबाइल बैंकिङ, कनेक्ट आइपीएस, क्यूआर कोडलगायत डिजिटल माध्यमले सहजै रकम पठाउन सकिने अवस्था छ। विदेशबाट समेत सजिलै सरकारी कोषमा रकम जम्मा गर्न पाइने व्यवस्था छ।
अर्थ मन्त्रालयका अनुसार राहत कोषमा नेपाल क्लियरिङ हाउस (एनसीएचएल)मार्फत् ५ अर्ब ५२ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ। जसका लागि २ लाख ६३ हजार २६७ पटक कारोबार भएको छ।
त्यस्तै ९ लाख २५ हजार ४०७ पटक कारोबार गरेर २ अर्ब ५० करोड ७२ लाख रुपैयाँ फोनपेमार्फत जम्मा भएको छ। ४८५ वटा चेकबाट २ अर्ब ७३ करोड ७६ लाख जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यसरी चेक दिनेहरू संघसंस्था र व्यवसायिक प्रतिष्ठान हुन्। व्यक्तिगत रुपमा ठूलो रकम सहयोग गर्ने केही व्यक्तिले पनि चेकमार्फत कोषमा रकम जम्मा गरेका छन्।
चेकमार्फत जम्मा भएको रकममा संस्थामात्र होइन धेरै मानिस समेत जोडिएका छन्। सरकारी कार्यालयदेखि विभिन्न संस्थानले आफ्ना कर्मचारीको तलबबाट कट्टा गरेर सहयोग रकम चेकमार्फत जम्मा गरेका छन्।
विभिन्न देशका सरकार, दूतावास, विदेशी कम्पनी तथा दातृ निकायले २ करोड २८ लाख ५६ हजार अमेरिकी डलर अर्थात् ३ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ सहयोग गरेका छन्।

सहयोग रकम ठूलो हुनुमा निजी क्षेत्रको भूमिका उत्तिकै महत्वपूर्ण रह्यो। बैंक तथा वित्तीय संस्था र व्यवसायिक प्रतिष्ठानले करोडौँ रुपैयाँ सहयोग गरेका छन्। ‘यसरी कुनै संस्था वा व्यवसायले सहयोग गरेपछि त्यसको चेन इफेक्ट अरु व्यवसाय र आमनागरिकसम्म देखिएको पाइयो,’ कँडेलले भने।
२०७२ को भूकम्पका बेला प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे ४ महिनाको अवधिमा देश विदेशबाट करिब ७ अर्ब रुपैयाँ सहयोग जम्मा भएको थियो।
सानो भूगोलमा ठूलो मानवीय क्षति मुख्य कारण
अहिले स्वतस्फूर्तरुपमा सहयोग गर्नुका पछाडि नेपाली समाजको आर्थिक तथा सामाजिक सम्बन्धको ठूलो भूमिका रहेको जानकारहरू बताउँछन्।
उनीहरुका अनुसार विपद्को भौगोलिक सीमितता, ठूलो मानवीय क्षति, सामाजिक सञ्जालको प्रभाव, डिजिटल भुक्तानीको सहजता, नेपालीहरूको भावनात्मक सम्बन्ध, सहयोग रकम सरकारले दुरुपयोग गर्दैन भन्ने विश्वास लगायत कारण प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठूलो रकम जम्मा भएको हो।
‘निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र नागरिकमा बढेको सामूहिक सहयोगको संस्कार लगायत कारण जोडिएका छन्। पछिल्लो समय समाजमा कसैलाई अप्ठ्यारो पर्दा उपचारदेखि अन्य क्रियाकलापमा पनि सामूहिक भाव देखिन थालेको छ। व्यक्तिको बढ्दो आम्दानी र बलियो हुँदै गएको क्रय शक्तिको भूमिका यसमा झन् ठूलो छ,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले भने।
सहयोगको मात्रा बढ्नुको अर्को महत्वपूर्ण कारण बाढीले सानो भूगोलमा ठूलो क्षति पुर्याउनु हो। भोटेकोशी-त्रिशूली बाढीले नदी आसपासका बजार बगाउँदा करिब १४०० को ज्यान गएको छ भने ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन छन्।
मानवशास्त्री डा. डम्बर चेम्जोङले बाढीले भएको ठूलो मानवीय र भौतिक क्षतिका कारण आर्थिक सहयोग गर्न व्यक तिदेखि संस्थाहरु प्रेरित भएको बताए।
‘नेपालीहरू जन्मजात सामूहिक भावका छन्। बाढीले घर बगाएको दृश्य, परिवार विस्थापित भएको, उद्धारको प्रतीक्षा गरिरहेका नागरिक, खान बस्न कठिनाइ भएका बालबालिका तथा वृद्धवृद्धाको अवस्थाले धेरैमा सहयोग गर्ने मनोविज्ञान विकसित गरेकोजस्तो लाग्छ,’ चेम्जोङले भने।
उनका अनुसार प्रभावित क्षेत्र सानो हुँदा सहयोग रकम वास्तविक पीडितसम्म पुग्ने विश्वास पनि सरकारी कोषमा धेरै रकम जम्मा हुनुको कारण हो।

प्रभावित क्षेत्रका नागरिक स्वयंले मोबाइलबाट खिचेका भिडियो, फोटो र उनीहरूका अनुभव सामाजिक सञ्जालमा तत्काल सार्वजनिक भए। विशेषगरी फेसबुक, टिकटक, युट्युबजस्ता सञ्जालले प्रभावित क्षेत्रका दृश्य तीव्र गतिमा फैलायो।
वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका लागि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको मातृभूमिप्रतिको सम्बन्धले यसमा भूमिका खेलेको मानवशास्त्री चेम्जोङको बुझाइ छ। ‘सामाजिक सञ्जालमा देखिएको पीडाले अरुलाई भावनात्मक रूपमा जोड्छ र सक्दो सहयोग गर्न तयार हुन्छ,’ उनले भने।
सहयोग रकम सामाजिक सञ्जालमा राखेर प्रदर्शन गर्ने चलनले पनि अन्यलाई समेत प्रोत्साहन गरेको चेम्जोङको भनाइ छ।
‘भर्खरै गरिबीबाट उठेको र मध्यमवर्ग बन्न थालेको वर्गले बढी प्रचार खोज्छ। उनीहरूले आफूसँग भएको हरेक भौतिक चिजको प्रदर्शन गर्छन्। यो मनोविज्ञानले राहत कोषमा दिएको रकम पनि प्रदर्शन गर्यो। जसको कारण अर्कोले पनि सहयोग पठाएर योगदान दियो,’ उनले भने, ‘यसलाई सामाजिक अनुकरणको प्रभावका रूपमा पनि बुझ्न सकिन्छ। अर्थात् अरूले गरेको सकारात्मक काम देखेपछि आफू पनि त्यसमा सहभागी हुने प्रवृत्ति।’