BIZMANDU
www.bizmandu.com

बाढीग्रस्त तटीय क्षेत्रमा अब बस्ती नबसालिने, सुरक्षित स्थान खोज्न बालेनले मागे सहयोग

२०८३ भदौ २९

बाढीग्रस्त तटीय क्षेत्रमा अब बस्ती नबसालिने, सुरक्षित स्थान खोज्न बालेनले मागे सहयोग
बाढीग्रस्त तटीय क्षेत्रमा अब बस्ती नबसालिने, सुरक्षित स्थान खोज्न बालेनले मागे सहयोग


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापितहरुको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Vigo
GBIME
Tata

उनले बाढीका कारण संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न १५ वटा स्थानीय तहका प्रमुख र नुवाकोटमा दुई सांसदलाई सोमबार सिंहदरबार बोलाएर छलफल गरी सरकारले आफूसँग भएको र दातृ संस्थाले उपलब्ध गराएको स्रोतसाधन प्रयोग गरी पुनर्स्थापनाको काम अगाडि बढाउने बताए।

बालेनले बाढी प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनर्स्थापना गर्ने गरी सरकारले निरन्तर काम गरिरहेको बताएको उनको सचिवालयले जनाएको छ।

उनले स्थानीय जनप्रतिनिधिले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। उनले सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने भन्दै त्यस्तो जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे।

‘बस्ती बसाउँदा प्रभावित मानिसहरुको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ। पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ। खेतीयोग्य जमिन जोगाउँदै, वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ,’ उनले भने।

छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ, नुवाकोटबाट निर्वाचित सांसद रहेका सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमतीका मुख्यमन्त्री किरण थापामगर पनि सहभागी थिए।