काठमाडौं। एसीसी महिला एसिया कपको च्याम्पियन भारतले ट्रफी लिन अस्वीकार गरेको छ।
फाइनलपछि भारतले एसियन क्रिकेट काउन्सिल (एसीसी) अध्यक्ष मोहसिन नक्वीबाट ट्रफी लिन अस्वीकार गरेपछि पुरस्कार वितरण समारोह विवादमा परेको हो। नक्वी पाकिस्तानका गृहमन्त्रीसमेत हुन्।
दुबईमा आइतबार भएको फाइनलमा भारतले श्रीलंकालाई ७२ रनले पराजित गर्दै महिला एसिया कपको उपाधि जितेको थियो। भारतले सन् २०२४ को विजेता श्रीलंकाबाट उपाधि खोस्दै प्रतियोगितामा कीर्तिमानी आठौँ पटक उपाधि जितेको हो।
तर, खेल सकिएको ४५ मिनेटभन्दा बढी समयसम्म पुरस्कार वितरण समारोह सुरु भएन। त्यसपछि खेलाडीहरू आ-आफ्नो ड्रेसिङ रुमबाहिर प्रतीक्षा गरिरहेका थिए।
मञ्च तयार भएपछि नक्वी अन्य पदाधिकारीसँग पुरस्कार वितरणका लागि उपस्थित भए। सुरुमा खेल पदाधिकारीलाई पदक प्रदान गरिएको थियो। त्यसपछि श्रीलंकाका खेलाडीहरू मञ्चमा पुगे।
श्रीलंकाकी कप्तान चामारी अथापथुले उपविजेताको पुरस्कार नक्वीबाट ग्रहण गरिन् र त्यसपछि आफ्नो टोलीको प्रदर्शनबारे धारणा राखिन्।
तर, प्लेयर अफ द म्याच र प्लेयर अफ द टुर्नामेन्ट लगायत व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिएनन्। भारतीय टोली पदक तथा ट्रफी लिन पनि मञ्चमा गएन।
प्रतियोगिताको आधिकारिक सामाजिक सञ्जालबाट समेत भारतको ट्रफी सेलिब्रेसनका तस्बिर सार्वजनिक भएनन्। भारतीय महिला क्रिकेट टोलीको सामाजिक सञ्जालमा भने खेलाडी र प्रशिक्षकसहितको सामूहिक तस्बिर पोस्ट गरिएको थियो। तस्बिर खाली रंगशालामा खिचिएको देखिन्थ्यो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा भारतीय टोली र सहयोगी कर्मचारीहरू पुरस्कार वितरण समारोह सुरु हुनुअघि ड्रेसिङ रुमबाहिर गोलाकार भएर उभिएको देखिन्छ। तर, समारोह सुरु भएपछि उनीहरू मञ्चनजिक देखिएनन्।
भारतले समारोहमा सहभागी नहुनुको औपचारिक कारण तत्काल सार्वजनिक गरेको थिएन। तर, भारतीय टोलीका मुख्य प्रशिक्षक अमोल मजुमदारले यसको निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले गरेको स्पष्ट पारे।
पत्रकार सम्मेलनमा भारतीय टोली पुरस्कार वितरणमा सहभागी नभएको कारण सोध्दा मजुमदारले बीसीसीआईको निर्णय भएको बताए।
‘त्यो निर्णय बीसीसीआईले गरेको हो र हामी त्यस निर्णयमा अडिग छौँ,’ उनले भने।
उनले प्रतियोगिता सकिएको र भारत च्याम्पियन बनिसकेको बताए।
‘हामी च्याम्पियन हौँ र हाम्रा लागि त्यही पर्याप्त छ,’ उनले भने।
एसीसी र बीसीसीआईले भने यस विषयमा प्रतिक्रिया दिएका छैनन्।
भारतको यो कदम गत वर्षको पुरुष एसिया कपको फाइनलको घटनासँग मिल्दोजुल्दो छ। सन् २०२५ मा पनि दुबईमै पाकिस्तानलाई हराएर भारतले पुरुष एसिया कपको उपाधि जित्दा नक्वीबाट ट्रफी लिन अस्वीकार गरेको थियो। त्यतिबेला नक्वी एसीसी अध्यक्षसँगै पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष पनि थिए।
त्यस घटनापछि बीसीसीआईका अध्यक्ष देवजीत सैकियाले भारतले पाकिस्तानका प्रमुख राजनीतिक नेतामध्ये एक रहेका एसीसी अध्यक्षबाट ट्रफी नलिने निर्णय गरेको बताएका थिए।
भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ। सन् २०२५ अप्रिल २२ मा भारतीय प्रशासित कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ पुरुषको मृत्यु भएपछि सम्बन्ध थप बिग्रिएको थियो।
भारतले उक्त समूह पाकिस्तानमा आधारित लस्कर-ए-तैयबासँग सम्बन्धित रहेको आरोप लगाएको थियो। पाकिस्तानले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।
त्यसपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध थप कमजोर भयो। भारत सिन्धु जल सम्झौताबाट पनि पछि हट्यो।
मे ७, २०२५ मा भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा क्षेप्यास्त्र आक्रमण गर्दै ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको थियो। त्यसको तीन दिनपछि पाकिस्तानले पनि ‘अपरेसन बुन्यान मार्सुस’ सञ्चालन गर्दै भारतका सैन्य संरचनामा आक्रमण गरेको थियो।
त्यसै दिन दुवै देश युद्धविरामका लागि सहमत भएका थिए।
मे २०२५ को सैन्य तनावपछि भारत र पाकिस्तानका पुरुष, महिला तथा जुनियर टोलीबीच भएका क्रिकेट खेलमा समेत राजनीतिक तनावको प्रभाव देखिँदै आएको छ।
सन् २०२५ को पुरुष एसिया कपमा भारतीय टोलीले टसका क्रममा तथा खेलपछि पाकिस्तानी खेलाडीसँग हुने परम्परागत हात मिलाउने कार्य गरेन।
महिला क्रिकेटमा पनि यही अवस्था दोहोरिएको छ। सन् २०२५ को महिला विश्वकपमा भारत र पाकिस्तानबीचको खेलमा दुवै टोलीले हात मिलाएनन्। यसैगरी यस वर्ष इंग्ल्यान्डमा भएको महिला टी-२० विश्वकप तथा जारी महिला एसिया कपको समूह चरणमा समेत उनीहरूले हात मिलाएनन्।
यसअघि पुरुष एसिया कपको फाइनलमा ट्रफी लिन भारतले अस्वीकार गरेपछि राजनीतिक विश्लेषकहरूले पनि त्यस्तो घटना दुई देशबीचको तनावपूर्ण सम्बन्धका कारण ‘अपरिहार्यजस्तै’ भएको बताएका थिए।