काठमाडौं। कृष्णभीरको नयाँ ट्र्याकमा असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा आउने भएका छन्। अवरुद्ध भएको १७ दिनपछि नयाँ ट्र्याकबाट सवारीसाधन सञ्चालन ल्याउने गरी सडक विभागले धमाधम काम अघि बढाएको छ।
अवरुद्ध लगत्तै वैकल्पिक ट्र्याक खोल्ने क्रम सुरु भएकोमा आइतबार नयाँ ट्र्याकको परीक्षण भइसकेको छ। परीक्षणपश्चात् थप आवश्यक कार्यका लागि सवारी आवागमन बन्द गरिएको छ।
आइतबार परीक्षणका क्रममा काठमाडौंबाट चितवनतर्फ एउटा ग्यास बुलेटसहित करिब २० वटा र चितवनबाट काठमाडौंतर्फ एउटा भारीसहित केही हलुका सवारीसाधन पास भएको विभागले जनाएको छ। विभागका अनुसार परीक्षण सफल भएसँगै बाँकी रहेको सडक स्तरोन्नति तथा सुरक्षाका कार्य जारी रहेकाले सडक भने बन्द नै गरिएको छ।

विभागले असोज १ गतेबाट सबै प्रकारका सवारी साधनका लागि सडक पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।
विभागका प्रवक्ता शुभराज न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सडक मिति २०८३/०६/०१ गतेदेखि पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेकोले कृष्णभीर खण्डबाट सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’
अवरुद्ध सडकमा ग्रेडिङ गर्ने र ग्राभेल बिछ्याउने काम नसकिंदै नयाँ ट्र्याकमा आइतबार परीक्षणका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो।
त्रिशूली नदीमा आएको बाढीले कटान गरेका कारण कृष्णभीरको सडक भदौ १४ गते भासिएपछि काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्ग नै बन्द भएको थियो। त्यसपछि सडक विभागले पहिरो खसेको ठाउँ माथिबाट नयाँ ट्र्याक खोलेको थियो।
नयाँ ट्र्याकमा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम तीव्र गतिमा निरन्तर अगाडि बढिरहेको नागढुंगा मुग्लिन सडक योजनाका इन्जिनियर धिरज ढकालले जानकारी दिए। उनका अनुसार सब-सर्फेस नाली निर्माणको कार्य पनि अगाडि बढाइएको छ।

विभागले नयाँ ट्र्याक सञ्चालन गर्नका लागि काम थालेको आइतबार १० दिन भएको छ।
काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्ग बन्द भएपछि ठूला सामान ढुवानी लगायतका सवारीसाधनलाई वैकल्पिक रुट प्रयोगको आग्रह गरिएको छ। उपत्यकामा एलपी ग्यास बुलेट ल्याउन सम्भव नभएपछि उद्योगहरूले उपत्यकाबाहिर नै रिफिलिङ गरिरहेका छन्। जसकारण ग्यास आपूर्तिमा समस्या भइरहेको छ।
भदौ १० र १४ गते त्रिशूली नदीमा आएको बाढीको कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्णरूपमा अवरुद्ध भएको थियो।