धादिङ। नेपाल विद्युत् प्राधिकरणले रसुवा बाढीका कारण डुबानमा परी क्षतिग्रस्त भएको धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा ल्याएको छ।
भदौ १० गतेको बाढीले जहरेखेतस्थित सबस्टेसन करिब ६ देखि १० फिटसम्म डुबानमा पारेको थियो। जसकारण उपकरण तथा अन्य संरचनामा क्षति पुगेर विद्युत् आपूर्ति अवरुद्ध थियो।

क्षतिग्रस्त संरचनाको शीघ्र मर्मत तथा सेवा पुनःस्थापनाका लागि प्राधिकरणले आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तत्काल परिचालन गरेको थियो। भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको हो।
सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी फिडरबाट गजुरी बजारसम्म, आदमघाट फिडरबाट २२ किलोसम्म र पीडा फिडरबाट किरान्चोक–मिलनटार–किरान्चोक सामुदायिक क्षेत्रसमेत विद्युत सेवा पुनःस्थापना गरिएको छ।

सबस्टेसन पुनः सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको प्राधिकरणले जनाएको छ।