काठमाडौं। ग्यासको चर्को अभाव भएपछि नेपाल आयल निगमले एक महिनाअघि भारतीय आयल कर्पोरेसन (आइओसी) लाई कोटा बढाइदिन आग्रह गर्यो। त्यो आग्रहलाई सहजै स्वीकार गर्दै आइओसीले अगस्ट महिनामा ६० हजार टन ग्यास आयात पनि भयो।
तर, त्यही बेलामा भोटेकोशी बाढीले पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरको सडक भत्किएपछि काठमाडौं उपत्यकामा ग्यास आयात कान्ति र त्रिभुवन राजपथबाट गर्नुपर्ने भयो भयो। तराईमा रहेका जिल्लाहरूमा ग्यास भरेर साना १० र १२ चक्के गाडीमा सिलिन्डर ल्याएर काठमाडौंमा आपूर्ति भइरहेको छ। उपभोक्ताले अहिले पनि ग्यास पाउन सकेका छैनन्।
आइओसीले समन्वय गरेकै कारण गत महिना ६० हजार टन ग्यास आयात भएको थियो। यसले निरन्तरता पाउनेमा निगमका अधिकारीहरू पनि ढुक्क थिए। किनभने आइओसीले कोटाभन्दा बढी ग्यास दिएका थिए भने भारतीय ढुवानी व्यवसायीले पनि नेपाल विपत्तिमा परेको भन्दै आयातमा सहयोग गरिरहेका थिए।
यसका बाबजुद काठमाडौंमा ग्यास आपूर्ति समन्वय गर्न निगम र उद्योगीलाई हम्मेहम्मे परिरहेको छ। यो अभाव हटाउन आइओसीको सहयोग निरन्तर रहने अपेक्षामा निगम र उद्योगी थिए। तर, एकाएक आइओसीले विगत चार दिनदेखि सबैभन्दा नजिक रहेको बरौनीबाट ग्यास दिन कम गर्दै पारादीपबाट ल्याउन भनेको छ।
काठमाडौं-बरौनीको झन्डै चार सय किलोमिटरबाट ग्यास कम गरेर १४ सय किलोमिटर टाढा रहेको पारादीपबाट ल्याउन भनेपछि निगमका कर्मचारी समेत आश्चर्यमा परेका छन्। निगमले पारादीपबाट ग्यास ल्याइरहेको छ। आइओसीको त्यो रिफाइनरीबाट ग्यास काठमाडौंसम्म ल्याउन पाँच दिनभन्दा बढी लाग्छ भने बरौनीबाट दुई दिनमा आइपुग्छ। टाढाको दूरीबाट ग्यास ल्याउन ढुवानीका सवारीसाधन पनि धेरै चाहिन्छ। आपूर्ति कम भएर अभाव भोगिरहेका बेला ढुवानीको सवारीसाधन व्यवस्थापन गर्न नसके झन् समस्या हुन्छ। त्यसो त पारादीपबाट अगस्ट महिनामा २८ हजार टन ग्यास आएको छ।
बरौनीबाट भदौं २५ गतेदेखि ग्यास दिन कम गर्न थालेको हो। निगमका अनुसार बरौनीबाट २५ गते १६, २६ गते ११, २७ गते ६ र २८ गते ६ बुलेट मात्रै ग्यास दिएको छ। अरू सामान्य समयमा बरौनीबाट दैनिक ४० बुलेट ग्यास आउने गरेको थियो।
आइओसीले ग्यास हाहाकार भएकै बेला बरौनी रोकेपछि निगमले पत्राचार समेत गरिसकेको छ। निगमको पत्राचारपछि आइओसीले बिहारमा बाढी आएकोले समस्या भएको जवाफ दिएको छ। तर, यो जवाफबाट निगमका अधिकारी सन्तुष्ट छैनन्। ‘हामीलाई ग्यास हाहाकार भएर व्यवस्थापन गर्न कठिन भइरहेका बेलामा आइओसीले यसरी झन् समस्या सिर्जना गर्न खोजेको छ,’ निगमका एक उच्च कर्मचारीले भने।
उच्च स्रोतका अनुसार आइओसीले नेपालको विपत्तिदेखि काठमाडौंमा ग्यासको हाहाकार भएको बारेमा जानकार छ। हाहाकारकै बीचमा बरौनी रोक्नुमा राजनीतिक कारण रहेको स्रोतले बतायो।
‘आइओसी भारत सरकारको स्वामित्वको कम्पनी हो। अहिलेको कठिन परिस्थितमा आइओसीले आफ्नै हिसाबले रोकेको होइन,’ स्रोतले भन्यो, ‘अहिलेको सरकारप्रतिको केही असन्तुष्टि हो कि भन्ने पनि देखिन्छ।’
विगतमा केपी शर्मा ओलीको सरकारका पालामा भारत सरकारले अघोषित नाकाबन्दी लगाउँदै पेट्रोलियम पदार्थ आपूर्ति रोकेको थियो। स्रोतका अनुसार ग्यास अवरोधका बारेमा सरकारले समेत जानकारी पाइसकेको छ।
‘ग्यास अवरोधको विषय सामान्य होइन भन्ने जानकारी भइसकेको छ,’ सरकारकै एक उच्च स्रोतले भन्यो।
निगमका अनुसार अगस्ट महिनामा बरौनीबाट १७ हजार ५६७, पारादीपबाट २८ हजार २३०, मथुराबाट १४ हजार ३२१ टन ग्यास आएको थियो।