BIZMANDU
www.bizmandu.com

गैरबैंकिङ सम्पत्ति ५७ अर्ब पुगे पनि वृद्धिदर लगातार घट्दै, जोखिम कम भएको हो?

२०८३ भदौ २८

गैरबैंकिङ सम्पत्ति ५७ अर्ब पुगे पनि वृद्धिदर लगातार घट्दै, जोखिम कम भएको हो?
गैरबैंकिङ सम्पत्ति ५७ अर्ब पुगे पनि वृद्धिदर लगातार घट्दै, जोखिम कम भएको हो?


काठमाडौं। बैंक तथा वित्तीय संस्थामा गैरबैंकिङ सम्पत्ति (एनबीए)को आकार बढे पनि वृद्धिदर भने निरन्तर घट्न थालेको छ। गैरबैंकिङ सम्पत्तिको वृद्धिदर तीन वर्षयता निरन्तर घटेको हो।

Vigo
GBIME
Tata

गत आर्थिक वर्ष २०८२/८३ मा गैरबैंकिङ सम्पत्ति १२.८४ प्रतिशतले बढेर ५७ अर्ब ४ करोड ४० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो सम्पत्ति ४२.३६ प्रतिशतले बढेको थियो। अझ आर्थिक वर्ष २०८०/८१ मा गैरबैंकिङ सम्पत्ति ९० प्रतिशतसम्मले वृद्धि भएको तथ्यांक छ।

गैरबैंकिङ सम्पत्ति आर्थिक वर्ष २०७९/८० मा ७७.६४ प्रतिशत र २०७८/७९ मा ३६.७६ प्रतिशतले बढेको थियो।

गैरबैंकिङ सम्पत्तिको वृद्धिदर घट्दै गए पनि यसको आकार भने बढिरहेको छ। पाँच वर्षअघि बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ७ अर्ब ६९ करोड रुपैयाँ रहेकामा त्यसयताको अवधिमा ७.४२ गुणाले बढेको छ।

बैंक तथा वित्तीय संस्थाले नउठेको कर्जाको धितो लिलामी गर्न खोज्दा बिक्री नभएपछि त्यसलाई आफैं सकार्छन्। यसरी बैंकले आफ्नो नाममा ल्याएको सम्पत्ति गैरबैंकिङ हो। गैरबैंकिङ सम्पत्ति बिक्रीसँगै नयाँ थपिने क्रम नरोकिएको बैंकहरु बताउँछन्।

स्रोत : नेपाल राष्ट्र बैंक

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय गैरबैंकिङ सम्पत्ति झिनो मात्रामा बिक्री भइरहे पनि नयाँ थपिने क्रम कम नभएको बताउँछन्।

‘झिनोरुपमा मात्रै यस्तो सम्पत्ति बिक्री भइरहेको छ। ऋण नउठेको ६ महिनापछि असुलीमा केन्द्रित हुन्छौं,’ उनले भने, ‘एक वर्षपछि एनबीएमा ल्याउने प्रक्रिया सुरु हुन्छ। त्यसैले भाका मागेका ऋणीलाई भुक्तानीका लागि समय मागेमा समय दिइरहेको छौं।’

पाण्डेयका अनुसार बैंकहरूले गैरबैंकिङ सम्पत्ति बिक्री गर्न नसक्दा त्यसमा पुुँजी र नाफाको व्यवस्थापन गर्नुपर्ने अवस्था आउँछ। ‘एनबीए सकारेर मात्र भएन, त्यसलाई बेच्नु पनि पर्छ। अहिले नगन्य रूपमा बिक्री भएको छ,’ उनले भने।

एभरेष्ट बैंकका सीइओ सुदेश खालिङले एनबीएको बिक्री दर बढे पनि नयाँ थपिने क्रम नरोकिएको बताए। ‘एनबीए बिक्री दर केही बढेको छ। साथै नयाँ एनबीए थपिने क्रम पनि जारी छ। त्यसैले आकार बढेको हो,’ उनले भने।

गैरबैंकिङ सम्पत्तिको वृद्धिदरलाई बैंकिङ क्षेत्रको कर्जा गुणस्तर र ऋणीको भुक्तानी क्षमतासँग जोडेर हेर्ने गरिन्छ।

आर्थिक वर्ष २०८२/८३ अर्थात गत असार मसान्तसम्म बैंकिङ क्षेत्रको औसत खराब कर्जा ५.६६ प्रतिशत छ। पाँच वर्षअघि खराब कर्जाको जम्मा १.४८ प्रतिशतमा सीमित थियो।

औसत खराब कर्जा ४.१८ प्रतिशत विन्दुले बढ्दा गैरबैंकिङ सम्पत्ति ७.४२ गुणाले बढेको हो। ऋणीले साँवा ब्याज तिर्न नसकेपछि कर्जा बिग्रिंदै जान्छ। कर्जा बिग्रिंदै जाँदा त्यसको सम्भावित जोखिमका लागि बैंकहरुले कर्जा नोक्सानी बढाउने गर्छन्।

कुनै कर्जा भाका नाघेको १ वर्षपछि त्यो कर्जाका लागि राखेको धितो बैंकहरुले लिलामीमा लैजान्छन्। लिलामी गर्न खोजेको सम्पत्ति बिक्री नभएपछि बैंकले आफैं सकार्छन्।

एकातिर ऋण असुली बिग्रिंदै जानु र अर्कातर्फ धितो पनि बिक्री नहुँदा बैंकहरुमा एनबीए थुप्रिंदै गइरहेको हो। पूर्वबैंकर निश्चलराज पाण्डेयले घरजग्गा किनबेच नबढेका कारण गैरबैंकिङ सम्पत्ति थुप्रिंदै गएको बताए

‘गैरबैंकिङ सम्पत्ति बढ्नु भनेको प्रोपर्टी बजार चलायमान छैन भन्ने हो। घरजग्गा किनबेच बढेको भए बैंकहरुलाई लिलाम गर्न गाह्रो हुँदैनथ्यो,’ उनले भने। गैरबैंकिङ सम्पत्ति कूल कर्जाको १ प्रतिशत हाराहारी पुगेको छ। अहिले कूल कर्जा साढे ५९ खर्ब छ।

पूर्वबैंकर पाण्डेयले गैरबैंकिङ सम्पत्ति कूल कर्जाको १ प्रतिशत हाराहारी हुनुलाई स्वाभाविकरुपमा लिएका छन्।

‘ऋणीले समयमै साँवा ब्याज तिर्न नसकेर खराब ऋण बढिरहेको छ। घरजग्गा बजार शिथिल अवस्थामा छ। यस्तो अवस्थामा हाम्रो जस्तो देशमा कूल कर्जाको १ प्रतिशत एनबीए स्वाभाविक नै हो,’ उनले भने, ‘एनबीए बुक गर्दा फेयर मार्केट भ्यालुका आधारमा मूल्यांकन हुने भएकाले बिक्री गर्दा केही कम मूल्य आए पनि बैंकलाई ठूलो असर पर्दैन।’

बैंक तथा वित्तीय संस्थाले गैरबैंकिङ सम्पत्ति सकार्दा त्यसबापत १०० प्रतिशत प्रोभिजनिङ गर्नुका साथै केही पैसा रेगुलेटरी रिजर्भमा छुट्याउनु पर्छ। जसले पुँजीकोष लगायत लगानी क्षमता प्रभावित हुन्छ।