काठमाडौं। अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभीएल)को च्याम्पियन बनेको छ। आज सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो।

आज सम्पन्न खेलको पहिलो सेट २५-१५, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१८ ले जित्दै अन्नपूर्ण एनपीएलको पहिलो संस्करणको च्याम्पियन बनेको हो।

यद्यपि खेल भने तनावपूर्ण रह्यो। खासगरी दोस्रो सेटमा कर्णालीका खेलाडीले अम्पायरले गलत निर्णय दिएको भन्दै विवादमा उत्रिएका थिए। रेफ्रीले उल्टै कार्ड दिएपछि कप्तानलगायतका खेलाडीले कोर्ट छाड्दै नखेल्ने अड्डी कसे।

दोस्रो सेटमा अन्नपूर्णले ५-२ ले लिड गरिरहँदा रेफ्रीको निर्णयमा असन्तुष्टी जनाउँदै कर्णालीका खेलाडीले मैदान छाडेका थिए। खेलाडीहरु निकैबेर कोर्टमा पस्न मानेनन्। यद्यपि पछि खेलमा फर्किए।
अर्कोतर्फ अन्नपूर्णलाई खेल जित्न भने मुस्किल परेन। दोस्रो र तेस्रो सेट पनि लगातार जित्दै अन्नपूर्ण च्याम्पियन बन्यो।

च्याम्पियन अन्नपूर्णले २० लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। केडिया ग्रुपको स्वामित्वमा रहेको यो लिगमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए। यीमध्ये अन्नपूर्ण लिग चरणको शीर्षस्थानमा रहँदै फाइनल आएको थियो भने कर्णालीले प्लेअफमा काठमाण्डौं रेड्सलाई हराएर फाइनल आएको थियो।

