वासिङ्टन। अमेरिकी उपभोक्ता मुद्रास्फीति अगस्टमा वार्षिक ३.४ प्रतिशतमा कायम रहेपछि आगामी साता हुने बैठकमा फेडरल रिजर्भले ब्याजदर बढाउने सम्भावना बलियो बनेको छ। लगातार उच्च मूल्यवृद्धिले अमेरिकी परिवारको खर्च धान्ने क्षमतामाथि दबाब बढाइरहेका बेला मुद्रास्फीति फेडको दीर्घकालीन २ प्रतिशत लक्ष्यभन्दा अझै निकै माथि छ।
शुक्रबार सार्वजनिक सरकारी तथ्यांकअनुसार मासिक उपभोक्ता मूल्यवृद्धिको करिब एकतिहाइ हिस्सा इन्धनको मूल्यवृद्धिले धानेको छ। एएए मोटर क्लबका अनुसार फेब्रुअरीमा इरान युद्ध सुरु भएयता अमेरिकामा पेट्रोलको मूल्य ४४ प्रतिशतले बढेको छ। डिजेलको मूल्यसमेत शुक्रबार प्रतिग्यालन ६ डलर पुगेको छ। यसले यातायात, कृषि र निर्माण लागत थप महँगो बनाएको छ।
खाना र इन्धनजस्ता अस्थिर वस्तुको मूल्य हटाएर हेर्दा पनि ‘कोर’ मुद्रास्फीति अगस्टमा वार्षिक २.४ प्रतिशतले बढेको छ। अक्सफोर्ड इकोनोमिक्सका बर्नार्ड यारोसले अगस्टको सीपीआई प्रतिवेदनले फेडलाई ब्याजदर वृद्धितर्फ धकेले पनि निर्णय अझै निश्चित नभएको बताएका छन्।
‘नेशनवाइड’का प्रमुख अर्थशास्त्री क्याथी बोस्ट्यान्सिकले तेल, पेट्रोल र डिजेलको मूल्यमा देखिएको पुनःवृद्धिले उच्च ऊर्जा लागत अन्य वस्तु तथा सेवामा फैलिने जोखिम बढाएको बताएकी छन्। उनले फेडले आगामी बैठकमा २५ आधार अंकले ब्याजदर बढाएर ३.७५ देखि ४ प्रतिशतको दायरामा पुर्याउने अपेक्षा गरेकी छन्।
अमेरिकामा मुद्रास्फीति सन् २०२२ मा ९.१ प्रतिशतसम्म पुगेको थियो। त्यसपछि क्रमशः घटे पनि फेडको २ प्रतिशत लक्ष्यमा पुग्न सकेको छैन। फेब्रुअरीमा २.४ प्रतिशतसम्म झरेको मुद्रास्फीति पछिल्लो समय इरान युद्ध र राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको बढ्दो भन्सार नीतिका कारण फेरि चर्किएको हो।

फेडको सम्भावित ब्याजदर वृद्धिले राष्ट्रपति ट्रम्पसँगको तनाव थप बढाउने देखिन्छ। ट्रम्पले अर्थतन्त्रलाई गति दिन ब्याजदर घटाउन निरन्तर दबाब दिँदै आएका छन्। फेडको स्वतन्त्रतामाथि समेत उनको हस्तक्षेप बढेको भन्दै आलोचना भइरहेको छ।
उच्च जीवनयापन लागतले ट्रम्प प्रशासनमाथि राजनीतिक दबाबसमेत बढाएको छ। नोभेम्बरको मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले कंग्रेसका दुवै सदनमा नियन्त्रण लिन प्रयास गरिरहेका छन्। ट्रम्पले भने रिपब्लिकनले दुवै सदन जिते प्रत्येक अमेरिकी वयस्कलाई ५ हजार डलर ‘लाभांश’ दिने चुनावी घोषणा गरेका छन्। डेमोक्र्याटहरूले त्यसलाई मत प्रभावित पार्ने प्रयास भन्दै आलोचना गरेका छन्। (एएफपी/रासस)