BIZMANDU
www.bizmandu.com

चिनीमा चर्को मूल्‍यवृद्धि, उद्योगबाट ८५ मा खरिद उपभोक्तालाई १५० रुपैयाँ


चिनीमा चर्को मूल्‍यवृद्धि, उद्योगबाट ८५ मा खरिद उपभोक्तालाई १५० रुपैयाँ
चिनीमा चर्को मूल्‍यवृद्धि, उद्योगबाट ८५ मा खरिद उपभोक्तालाई १५० रुपैयाँ


विराटनगर। २०८२ चैत ३० गतेदेखि असोज १४ गतेसम्म वा बिचमा अर्को सूचना जारी नभएसम्मका लागि भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतको प्रतिबन्धपछि नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले भनेका थिए, ‘आउने क्रसिङ सिजनसम्म चिनीको अभाव हुँदैन र खुद्रा मूल्य ११० नाघ्दैन। तर अग्रवालको वाचा विपरीत यति बेला काठमाडौंको खुद्रा बजारमा चिनीको मूल्य किलोको १४० देखि १५० रुपैयाँ भइसकेको छ। 

Vigo
GBIME
Tata

प्रतिबद्धता विपरीत अभाव र मूल्यवृद्धिबारे यसअघि आफू आयातको तथ्याङ्कमा झुक्किएको र चिनीको खाँचो नहुने बताएको प्रस्टीकरण अग्रवालले दिए। 

अध्यक्ष अग्रवालले भने, ‘मैले ७० हजार टन आयात भएको बताएको थिएँ। तर गत आर्थिक वर्षमा जम्मा ४५ हजार टन आयात भएको रहेछ। त्यति बेलै अरू २५ हजार टन आयात हुन पाएको भए अहिलेको अवस्था आउने थिएन’, अग्रवालले भने।

भन्सार विभागले पनि गत आर्थिक वर्षमा ४५ हजार ३२८ टन चिनीको आयात भएको तथ्याङ्क दिएको छ ।

अध्यक्ष अग्रवाल अहिले पनि काठमाडौंको खुद्रा बजारमा चिनीको मूल्य किलोको ११२ देखि ११५ रुपैयाँभन्दा माथि जानु नपर्ने बताउँछन्। खुद्रा मूल्य १४० र १५० कसरी पुग्यो भन्ने बुझ्न गाह्रो भएको उनले बताए। 

अग्रवालले तीन हप्ताअघि देशभरिका सबै उद्योगले स्टक रहेको चिनी सरकार नियन्त्रित साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी बिक्री गरिसकेको जानकारी दिए।

‘देशभरिका सबै उद्योगले दुवै कम्पनीलाई भ्याटबाहेक किलोको ८५ का दरले सबै चिनी विक्री गरिसकेका छन्। आजका दिनमा सबै उद्योग स्टक आउट भइसकेका छन् । त्यसैले मैले अब मूल्यको कुरा गरेर फाइदा छैन। अब बजार मूल्य मलाई थाहा हुँदैन’, उनको भनाइ छ।

उनले कारखाना मूल्य ८५ रुपैयाँमा भ्याट, ढुवानी, बीमा, डिलर कमिसन, ब्याज, जर्ती लगायतका सबै खर्च जोडेर पनि ११२ देखि ११५ भन्दा माथि जानु नहुने जिकिर गरे।

दुई सातापछि अवस्था सहज हुने दाबी

साल्ट ट्रेडिङले १ प्रतिशत भन्सार सुविधामा २५ हजार टन चिनी भारतबाट आयात गरिरहेको छ। यो चिनी दुई हप्ताभित्र नेपालका बजारमा पुगिसक्ने साल्ट ट्रेडिङले जनाएको छ। 

साल्ट ट्रेडिङका डेपुटी सिइओ एवम् प्रवक्ता कुमार राजभण्डारीले बिहीबारदेखि १ प्रतिशत सुविधाको चिनी नेपालमा भित्रन सुरु भइसकेको जानकारी दिए।

प्रवक्ता राजभण्डारीका अनुसार बिहीबार वीरगञ्ज सुक्खा बन्दरगाहमा एक ¥याक चिनी आइपुगेको छ। एक ¥याकमा २५ सय टन चिनी हुन्छ। दसैँअगाडि सम्ममा निर्धारित २५ हजार टन चिनी आयात गरिसक्ने साल्ट ट्रेडिङको लक्ष्य छ।

साल्ट ट्रेडिङले हालसम्म काठमाडौँमा किलोको १०५ र विराटनगरमा १०२ रुपैयाँले चिनी विक्री गरिरहेको छ। तर भारतीय चिनी भित्रिसकेपछि यसको मूल्य कति हुन्छ अहिले नै भन्न नसकिने प्रवक्ता राजभण्डारीले बताए।

साल्ट ट्रेडिङका एक अधिकारीका अनुसार कम्पनीले भारतको एनसेलबाट सीएन्डएफ (लागत र ढुवानी) गरी किलोको भारु ५७ (नेरु ९१ रुपैयाँ २० पैसा) मा २५ हजार टन चिनी खरिदको सम्झौता गरेको छ। यो चिनी भन्सार नाकामा आएर जाँचपास गर्दा नाकामै किलोको १०५ रुपैयाँ परिसकेको हुन्छ। देशका विभिन्न सहर पुर्‍याउँदा ढुवानी खर्च पनि जोडिन्छ । त्यसैले साल्ट ट्रेडिङले भारतबाट आयात गरेको चिनी अहिलेकै मूल्य १०५ मा विक्री गर्ने अवस्था नहुन सक्छ।

भारतमा के छ अवस्था?

भारत सरकारले चिनीको भण्डार रित्तिँदै गएपछि गत चैत ३० मा निर्यातमा रोक लगाएको थियो। यसपछि भारतीय बजारमा चलिरहेको किलोको भारु ४० रुपैयाँबाट मूल्यवृद्धि भएर ६४ सम्म पुगेको थियो।

यसैबिच गत महिना भारतले त्यहाँका उद्योगलाई शून्य प्रतिशत भन्सार महसुलमा १० लाख टन अर्ध–प्रशोधित चिनी (र सुगर) आयात गर्न अनुमति दियो। जसअनुसार त्यहाँका उद्योगले ब्राजिल र दुबईबाट ८ लाख टन र सुगर आयात गरिसकेका छन्। यसपछि भारतमा चिनीमा भएको मूल्यवृद्धि घटेर किलोको भारु ५७ हुँदै ४८ रुपैयाँ पुगेको छ ।

व्यवसायीले उपयोग गरेनन् कोटा

भारतले निर्यात बन्द गरेका बेला पनि नेपाललाई डेढ लाख टन चिनी आयात गर्न पाउने सुविधा दिएको छ। यस्तो कोटाको चिनी भारत सरकार अन्तर्गतको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसेल) बाट ल्याउनुपर्छ। 

नेपालका व्यवसायीले यहाँको सरकारसित अनुमति लिएर एनसेलसित चिनी खरिद गरी आयात गर्न सक्छन्। तर, एनसेलले त्यहाँको बजार मूल्यभन्दा कम्तीमा किलोको २ रुपैयाँ बढीमा निर्यात गर्छ। त्यस्तै व्यवसायीले आयात गर्दा साल्ट ट्रेडिङले जस्तो १ प्रतिशत महसुल सुविधा पनि पाउँदैनन्। पूर्ण महसुल १५ प्रतिशतमै आयात गर्नुपर्छ। त्यसैले निजी क्षेत्रका व्यवसायीले कोटाको चिनी आयात गर्ने मनस्थिति बनाएका छैनन्। 

चिनीका एक आयातकर्ता जीवन रिजालले महसुलको फरकका कारण साल्ट ट्रेडिङको रेटसित प्रतिस्पर्धा गर्न नसकिने हुँदा आफूले आयात नगर्ने जानकारी दिए।